सामान्य बिरामीलाई आकस्मिक सेवामा उपचार गरे बीमा दाबी भुक्तानी नहुने

२०८३ जेष्ठ १९

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक स्वास्थ्य सेवाको नाममा उपचार गरी बीमा दाबी पेश गरे त्यस्तो दाबी स्वीकृत नहुने जनाएको छ। बोर्डले निजी स्वास्थ्य संस्थाहरूलाई परिपत्र जारी गर्दै यस्तो स्पष्टिकरण दिएको हो।

यसअघि जेठ १२ गतेदेखि निजी अस्पतालमार्फत प्रदान गरिने आकस्मिक सेवा बाहेकका स्वास्थ्य बीमा सेवाहरू स्थगित गरिएको थियो। त्यसपछि केही स्थानमा सामान्य बिरामीसमेत आकस्मिक सेवामार्फत उपचार गराई बीमा दाबी पेश गर्न थालेको जानकारी प्राप्त भएपछि बोर्डले थप निर्देशन जारी गरेको जनाएको छ।

बोर्डका अनुसार तत्काल उपचार आवश्यक पर्ने अवस्थाका बिरामीलाई भने आकस्मिक स्वास्थ्य सेवा अन्तर्गत उपचार गर्न सकिनेछ। उपचारका क्रममा बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्ने, शल्यक्रिया गर्नुपर्ने वा अन्य आवश्यक उपचार गर्नुपर्ने अवस्था आएमा चिकित्सकीय मूल्याङ्कनका आधारमा सेवा दिन सकिने व्यवस्था यथावत् रहेको उल्लेख गरिएको छ।

यद्यपि आकस्मिक अवस्था नभएका बिरामीलाई उक्त सेवाअन्तर्गत उपचार गरी स्वास्थ्य बीमा दाबी पेश गरिएमा त्यस्तो दाबीको भुक्तानी नहुने बोर्डले जनाएको छ। साथै, नियमविपरीत कार्य गरेको पाइएमा सम्बन्धित स्वास्थ्य संस्था वा व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्: