काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान नभएको भन्दै देशभरका स्वास्थ्य बीमा दर्ता सहयोगीहरूले अनिश्चितकालीन पेन डाउन आन्दोलन सुरु गरेका छन्। सरकार र स्वास्थ्य बीमा बोर्डले आफ्ना माग बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले सेवा नै प्रभावित हुने चेतावनी दिएका हुन्।
दर्ता सहयोगीहरूले जारी गरेको विज्ञप्तिअनुसार स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सेवाग्राही र कार्यक्रममा खटिएका कर्मचारी दुवै समस्यामा परेका छन्। गाउँ–गाउँ र घर–घर पुगेर नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने काम गर्दै आए पनि आफ्नो भूमिकालाई राज्यले औपचारिक रूपमा स्वीकार नगरेको उनीहरूको गुनासो छ।
उनीहरूका अनुसार आर्थिक व्यवस्थापन कमजोर हुँदा बीमितले समयमै गुणस्तरीय सेवा पाउन सकेका छैनन्। स्वास्थ्य संस्थामा आवश्यक सेवा र औषधिको अभाव, दाबी भुक्तानीमा ढिलाइ तथा कार्यान्वयनमा देखिएको असंगतिले कार्यक्रम कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।
दर्ता सहयोगीहरूले नीतिगत अन्योल, सेवाग्राहीको गुनासो व्यवस्थापन कमजोर हुनु र आफूहरूमाथि विभेदपूर्ण व्यवहार भएको आरोप पनि लगाएका छन्। सीमित स्रोत, न्यून प्रोत्साहन र असुरक्षित वातावरणमा काम गर्नुपरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
आन्दोलनरत दर्ता सहयोगीहरूले कानुनी तथा संस्थागत पहिचान सुनिश्चित गर्नुपर्ने, उचित पारिश्रमिक र सुविधा दिनुपर्ने तथा संकलित योगदान रकमको कम्तीमा २० प्रतिशत प्रोत्साहन रकम व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन्।
त्यस्तै सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा प्रभावकारी रूपमा लागू गर्नुपर्ने, ओपीडीमा रहेको २५ हजार रुपैयाँसम्मको मापदण्ड हटाउनुपर्ने र निजी अस्पतालमा इमर्जेन्सी बाहेक अन्य उपचार रोक्ने निर्णय खारेज गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन्।
माग पूरा नभएसम्म देशभर सामूहिक रूपमा पेन डाउन आन्दोलन जारी रहने चेतावनी दिँदै दर्ता सहयोगीहरूले समस्या समाधानका लागि तत्काल वार्तामा आउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: