काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अस्पतालमा उपचाररत बीमित नागरिकको सेवा बीचमै रोक्न नहुने भन्दै जेठ १६ गतेअघि अस्पतालमा भर्ना भएका बिरामीलाई पुरानै सुविधा प्रणालीअनुसार नै उपचार सेवा दिन निर्देशन दिएको छ।
बोर्डका अनुसार सरकारी, निजी र सामुदायिक सबै स्वास्थ्य संस्थामा यो व्यवस्था लागू हुनेछ। यसअघि नै भर्ना भएर उपचार गराइरहेका बिरामीलाई बीचमै डिस्चार्ज नगरी उपचारलाई निरन्तरता दिन अस्पतालहरूलाई आग्रह गरिएको छ।
यसअनुसार जेठ १६ गतेअघि भर्ना भएका बीमितले पहिले पाइरहेको सेवा र सुविधा यथावत् पाउनेछन्। तर जेठ १६ गतेपछि नयाँ भर्ना हुने वा नयाँ सेवा लिन आउने बीमितलाई भने संशोधित व्यवस्था अनुसार सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ।
यसअघि स्वास्थ्य बीमा बोर्डले जेठ १२ गते अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुने आकस्मिक सेवाबाहेक अन्य स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो। त्यसपछि अस्पताल र सेवाग्राहीबीच अन्योल बढेपछि बोर्डले नयाँ सूचना जारी गर्दै पुराना बिरामीको सेवा नरोकिने स्पष्ट पारेको हो।
बोर्डका अनुसार विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत दिइने सेवा, त्यसको शुल्कदर र दायरा भने पहिलेकै व्यवस्था अनुसार कायम रहनेछ। बोर्डले सबै स्वास्थ्य संस्थालाई सूचना कार्यान्वयन गर्न तथा सेवाग्राहीलाई अनावश्यक समस्या नपार्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्: