काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेसँगै यसको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकबाट नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।
अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल प्रसाद भट्ट, मुकुन्द कुमार क्षेत्री तथा सेबोनकै पूर्व कार्यकारी निर्देशक विनयदेव आचार्यमध्ये एक जनालाई नियुक्त गर्ने चर्चा छ । तर, नियुक्ति प्रक्रिया सुरु भएदेखि नै ‘सेटिङ’ र स्वार्थ बाझिने विषयलाई लिएर आर्थिक क्षेत्रमा आलोचना भइरहेको छ ।
विशेषगरी सानिमा बैंकका पूर्व सिईओ भुवन दाहालमाथि मुकुन्द कुमार क्षेत्रीलाई अघि बढाउन भूमिका खेलेको आरोप लागिरहेको छ । दाहाल अध्यक्ष छनौट समितिमा विज्ञ सदस्यका रुपमा रहेका कारण पनि प्रक्रियामाथि थप प्रश्न उठेको हो । आलोचकहरूले नियामक निकायका पूर्व उच्च अधिकारीहरू आवेदन दिएको अवस्थामा दाहालले नैतिकताका आधारमा समितिबाट अलग हुनुपर्ने बताएका छन् ।
यसैबीच, अध्यक्ष छनौट प्रक्रिया पनि अपारदर्शी भएको आरोप लागेको छ । कुल ४७ जनाले आवेदन दिएको भए पनि सबै आवेदकहरूको नाम सार्वजनिक नगरिएको भन्दै आलोचना भइरहेको छ । अन्तिम चरणसम्म प्रक्रिया गोप्य राखिएकाले सुरुदेखि नै निश्चित व्यक्तिलाई अध्यक्ष बनाउन खोजिएको आशंका गरिएको छ ।
अर्थ सचिव घनश्याम उपाध्यायमाथि पनि विगतमा विवादास्पद नियुक्ति प्रक्रियामा जोडिएको आरोप लाग्दै आएको छ । यस्तो पृष्ठभूमिका व्यक्तिहरू छनौट प्रक्रियामा संलग्न हुँदा सेबोन अध्यक्ष नियुक्तिको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी भइरहेको छ ।
शेयर बजार र लगानीकर्ता समूहमा समेत यस विषयले चर्चा पाएको छ । सुशासन र पारदर्शिताको पक्षमा आवाज उठाउँदै आएका राजनीतिक दल तथा नेतृत्व नै अहिले मौन देखिएको भन्दै आलोचना भइरहेको छ । आर्थिक क्षेत्रका जानकारहरूका अनुसार सेबोन जस्तो संवेदनशील नियामक निकायको नेतृत्व चयन प्रक्रिया पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनुपर्ने भए पनि अहिलेको प्रक्रिया त्यसअनुसार नदेखिएको गुनासो बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्: