यसपटक विपत्तिको ‘इपिसेन्टर’ बन्यो इलाम

२०८२ आश्विन १९

काठमाडौं असोज १९, देशको सुदूरपूर्वी जिल्ला इलाम यसपटक विपत्तिको ‘इपिसेन्टर’ बनेको छ ।
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार यसपटक इलाममा रौतहटपछि दोस्रो धेरै पानी परेको छ ।
विभागले वेबसाइटमा राखेको सूचनाअनुसार रौतहटको महेशपुरमा असोज १८ गते बिहान ८ बजेदेखि असोज १९ गते बिहान ८ बजेसम्म २४ घन्टाको अवधिमा ३३८.६ मिलिमिटर वर्षा भएको छ ।
इलामको हिमाली केन्द्रमा सोही अवधिमा ३३४.२ मिलिमिटर वर्षा मापन भएको छ ।
वर्षातको तुलनामा बढी मानवीय क्षति पनि इलाममै भएको छ । अर्थात् इलाम यसपटक विपत्तिको ‘इपिसेन्टर’ बन्यो ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार इलाममा आइतबार मध्याह्न साढे १२ बजेसम्म २८ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परेर उनीहरूको मृत्यु भएको हो ।
पहिरोमा परेर इलामको सूर्योदय नगरपालिका १ मा ५ जनाको मृत्यु भएको छ । त्यहाँ २ जना घाइते छन् । उनीहरूको उद्धार गरिएको छ ।
इलाम नगरपालिका ६ मा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
देउमाई नगरपालिकामा २ जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिकामा १ जना, माङसेबुङमा ३, माइजोगमाई गाउँपालिकामा ८, सन्दकपुर गाउँपालिकामा ३ जना गरी २८ जनाको मृत्यु भएको छ ।
घाइतेको यकिन विवरण अहिलेसम्म प्राप्त भएको छैन ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय वासिन्दा खटिएका छन् ।
पहिरो गएको स्थल विकट ठाउँ भएकोले नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार शुरू गरेको छ ।
मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
सूर्योदय नगरपालिका–१ बस्ने ६०/६५ वर्षकी मनमाया क्षेत्री, ११ वर्षीया रश्मिका क्षेत्री, ४० वर्षीया महिला र १५ वर्षकी बालिका छन्। दुई जनाको नाम खुल्न बाँकी छ।
यस्तै, इलाम नगरपालिका–६ बस्ने २३ वर्षीय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन, २३ वर्षीय विराज पाख्रिन, ३२ वर्षीय अनु तामाङ छन् ।
अन्य दुई जना पाहुना गएका ३२ वर्षीय प्रनिशिका मगर र ४ वर्षीय आरूष दनुवार छन् । उनीहरूको ठेगाना खुलेको छैन ।
सशस्त्र प्रहरी बल डिएसपी थापाका अनुसार सूर्योदय नगरपालिका–१ मा पाँच जनाको मृत्यु भएको हो ।
त्यस्तै, इलाम नगरपालिका–६ मा ६ जनाको मृत्यु भएको छ ।
देउमाई नगरपालिकामा दुई जना, फाकफोकफुङ गाउँपालिकामा एक जना, माङ्सेबुङका तीन जना र माइजोकमाइ गाउँपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले बताए ।
सन्दकपुर गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो ।
माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे यकिन विवरण आउन केही समय लाग्ने बताएकी छिन् । अहिले आफूहरू उद्धारमै खटिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: