काठमाडौं असोज ११, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गरेका छन्। सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको बताए ।
उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी सबै पारदर्शी ढङ्गबाट गर्छौं ।’
उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरे। उनले थपे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु । के ठानेको छ । यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं, के सोचेका छौं ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं ।’
ओलीको दाबी– देशलाई सही बाटोमा फर्काउने एमालेले मात्रै हो
सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता कार्यकर्तालाई हरेस नखान आग्रह गरे ।
उनले भने, ‘देश बनाउने एमालेले नै हो। त्यसैले तपाईँहरूले हरेस नखानुहोस्। सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस्। राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु ।’ उनले देश निर्माणमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
बाक्लो प्रहरी घेरामा केपी ओली, उच्च सुरक्षासहित घर पु¥याइयो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उच्च सुरक्षाका साथ कार्यक्रम स्थलबाट घर लगियो ।
भक्तपुरको गुन्डुमा आयोजित युवा संघको कार्यक्रममा ओली सहभागी थिए।
कार्यक्रममा बाक्लो प्रहरी परिचालन गरिएको थियो ।
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बाक्लो प्रहरी घेरामा राखेर उच्च सुरक्षासहित कार्यक्रम स्थलदेखि घरसम्म लगिएको छ । गुन्डुमा आयोजित राष्ट्रिय युवा सङ्घको खुल्ला भेटघाट कार्यक्रमबाट उच्च सुरक्षासहित ओलीलाई घरसम्म लगिएको हो ।
उक्त कार्यक्रममा बाक्लो रूपमा प्रहरी परिचालन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: