भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई टाउको उठाउन दिनुहुँदैन

२०८२ आश्विन ९

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई
काठमाडौं असोज ९, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भ्रष्टीकृत दललाई फेरि टाउको उठाउन नदिनुपर्ने बताए ।
उनले नयाँ र वैकल्पिक शक्तिले देशको नेतृत्व लिनुपर्ने र युवाप्रति प्रतिबद्ध हुनुपर्ने धारणा राखे ।
भट्टराईले जेन–जी आन्दोलनमा सुरक्षा संयन्त्रको त्रुटी भएको आरोप लगाउँदै पुराना शक्तिलाई बचाए इतिहासले हिसाब गर्ने चेतावनी दिए ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दललाई फेरि टाउको उठ्न नदिनुपर्ने बताएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अब नयाँ र वैकल्पिक शक्तिले देशको नेतृत्व लिनुपर्ने धारणा राखे। उनले जेन–जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले युवाप्रति प्रतिबद्ध हुनुपर्ने र पुराना दलतर्फ ढल्किए इतिहासले लेखाजोखा गर्ने चेतावनी दिए।
भट्टराईले जेन–जी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भीर त्रुटी भएको आरोप लगाए। उनका अनुसार सुरक्षाकर्मीहरूले युवामाथि बल प्रयोग गरे, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जलेर नष्ट हुँदा पनि सरकारले पालेर राखेको सुरक्षा निकाय तमासे जस्तै बसे।
उनले भने, सरकारको प्रतिबद्धता विद्रोही शक्तिसँग हुनुपर्छ, उनीहरूको सल्लाहमा काम गर्नुपर्छ। कुनै बहानामा पुराना शक्तिहरूलाई बचाउने काम भयो भने इतिहासले हिसाब गर्नेछ। पूर्ण रूपमा भ्रष्टीकृत दललाई फेरि अवसर दिनु हुँदैन, अब नयाँ शक्ति र वैकल्पिक नेतृत्व आवश्यक छ ।
उनले मुलुकलाई शासकीय सुधारमार्फत दिगो विकासको बाटोमा लैजान युवाले संस्थागत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्: