राष्ट्रपतिसँगको भेटवार्ताबारे डा.महेश मास्के

२०८२ आश्विन २

हामी अहिलेको असाधारण राजनीतिक परिस्थितिबारे राष्ट्रपतिसँग कुराकानी गर्न गएका थियौं । त्यसक्रममा हामीले केही लिखित सुझाव पनि दिएका छौं । यो बेला राष्ट्रपति धेरै दबावमा हुनुहुन्छ । जेनजी आन्दोलन, राजनीतिक दलहरु, देशी–विदेशी शक्तिहरु सबैतिरबाट उहाँलाई प्रेसर छ ।
यो स्थितिमा उहाँले जे जति गर्नुभएको छ राम्रै गर्नुभएको छ । नयाँ सरकार बनाउने र संविधान जोगाउन भरमग्दुर प्रयास गर्नुभयो भन्ने लागेको छ । संविधानमा ग्रहण लागेको बेला केही कम्प्रमाइज त हुने नै भयो, तर त्यो स्टेजमा त्यति गर्नु पनि राम्रो कुरा हो भन्ने लागेको छ ।
तर अझै पनि सतर्क हुन जरुरी छ । संविधान जोगाउन उहाँको भूमिका निरन्तर रहन जरुरी छ । त्यसका लागि जेनजीले अघि सारेका भ्रष्टाचार नियन्त्रण र सुशासन कायमजस्ता जायज मागहरुमा हाम्रो पूर्ण समर्थन छ । तर मुलुकलाई अराजकतातर्फ जानबाट रोक्न राष्ट्रपतिको भूमिका अझै चाहिन्छ, रहन्छ ।
त्यो भूमिका भनेको राजनीतिक दलहरु, जेनजी र नागरिक समाजको बिचमा अन्तरक्रियात्मक र समन्वयात्मक भूमिका राष्ट्रपतिले खेलिरहनुपर्छ भन्ने हो । चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न पनि त्यो भूमिका निर्वाह गर्दै यी शक्तिहरु मिलेर अघि बढ्न आवश्यक छ ।
जेनजी आन्दोलनका क्रममा धेरै ठुलो घुसपैठ भयो भनेर उनीहरुकै प्रतिनिधिहरुले पनि भनिरहेको अवस्था छ । त्यस्ता तत्वहरुले जुन खालको विध्वंश गरे, जसले देश धेरै नै पछाडि परेको छ । यसलाई रिभाइभ गर्न सक्नुपर्छ । त्यसका लागि नागरिक समाज आफ्नो भूमिका निर्वाह गर्न तयार नै छ । किनभने यसअघिका आन्दोलनहरुमा पनि सहयोग गरेको हो । यो बेलामा पनि हुन्छ । यस्तो अवस्थामा राष्ट्रपति संविधानको संरक्षक समेत भएकाले अब संविधान तोडमोड गर्ने किसिमको काम हुन दिनुभएन भनेर हामीले सुझाव दिएका छौं ।
हाम्रो कुरामा उहाँले राम्रो रेस्पोन्स गर्नुभयो । कस्तो परिस्थितिमा यो भयो, कतिसम्म गर्न सकियो भन्ने कुरा बताउनुभयो । जुन हामी सबैलाई थाहा छँदैछ । उहाँले भोलि संविधान दिवसमा प्रधानमन्त्री पनि आउँदै हुनुहुन्छ, म पनि जान्छु भनेर राम्रो कुरा गर्नुभयो । यो संविधान जोगाउन हामी सबै मिलेर जानुपर्छ, हामी प्रतिवद्ध छौं भनेर हामीले भन्दा उहाँले पनि आफू प्रतिवद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले पनि संविधानप्रति नै बफादारीको सपथ लिनुभएको हो । यो हिसाबले पनि हामी संविधान जोगाउन सबै दृढ संकल्पित छौं भन्ने आशय उहाँको पायौं ।
संविधान पनि जोगाऔं र निर्वाचन पनि गरौं भन्नेमै उहाँको विशेष जोड देखिन्थ्यो । ‘त्यसका लागि स्टेकहोल्डरहरु, जेनजी आन्दोलनकारी, दल र नागरिक समाज सबै लोकतान्त्रिक विधिबाट चुनावमार्फत फेरि अघि बढाउनतिर लागौं । चुनावले नै शक्ति दिनसक्छ । प्रतिनिधिसभा चुनावले नै ‘रिटर्न’ गर्नसक्छ । त्यो ठाउँमा पुर्‍याउन मेरो भूमिकामा कुनै कमी हुने छैन, तपाईंहरुले पनि सहयोग गर्नुपर्छ’ भन्नुभयो ।
हामीसँगको कुराकानीमा राष्ट्रपतिले यो बिचमा मलाई धेरै प्रेसर भयो । धेरै खालका कुराहरु भए, त्यतातिर अहिले म किन गइराखौं, तपाईंहरुले बुझ्नु नै भएको छ । यति बुझ्नुस्, अत्यन्तै अप्ठेरो अवस्था थियो र कुनै बेलामा संविधानलाई जोगाउन म आफैं सडकमा उत्रिनुपर्छ भनेपनि म उत्रिन तयार छु, स्थिति साम्य हुँदै गयो भन्नुभयो ।
त्यसकारण हामी सबैले पोजेटिभ वातावरण बनाउनतर्फ भूमिका खेल्न सक्नुपर्छ । यो सबैको आवश्यकता हो । सकारात्मक वातावरण बनाउन हामी अन्य सरोकारवालाहरुसँग जेनजी र दलहरुसँग पनि क्रमशः कुराकानी गर्दै जानेछौं । चुनावलाई नै अर्जुनदृष्टि लगाएर जानुपर्छ भनेर हामी पनि वातावरण बनाउने प्रयास गर्छौं ।

प्रतिक्रिया दिनुहोस्: