जेनजी पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शन : प्रदर्शनलाई मेयर बालेन शाह र दर्गा प्रसाईको समर्थन

२०८२ भाद्र २२

काठमाडौं भाद्र २२, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुन लागेको ’जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाएका छन् ।
उनले आफ्नो फेसबुकमार्फत यो ¥याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने सुझाव दिएका हुन् ।
शाहले आफू उमेर हदवन्दीका कारण ¥यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘भोलीको ¥याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु ।’
मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै ‘कस्तो देश देख्न चाहनुहुन्छ ?’ भनी प्रश्न पनि गरेका छन् । उनले यो ¥यालीमा कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्न चेतावनी दिँदै युवाहरूको कुरा बुझ्न जरुरी रहेको र आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् ।

जेनजी पुस्ताको आन्दोलनमा दुर्गा प्रसाईं पनि सहभागी हुने
भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् ।
जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका बेला प्रसाईंले पनि उक्त अभियानमा साथ रहने घोषणा गरेका हुन् ।
आइतबार फेसबुक पेजमा लेख्दै प्रसाईंले भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: