समृद्धिका लागि साहित्य, कला र संस्कृति अपरिहार्य  : राष्ट्रपति पौडेल

२०८२ भाद्र १८

काठमाडौं भाद्र १८, राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधार विकाससँगै साहित्य, कला, सङ्गीत र संस्कृति क्षेत्रको उत्थान पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक साझा थलो भएको स्मरण गराएका हुन् ।
राष्ट्रपति पौडेलले सगरमाथा र हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधीन नभएको स्वाधीन राष्ट्र नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको विशेष भूमिका रहने उल्लेख गरे । उनले नेपाली जनताको लामो सङ्घर्ष र त्यागबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व प्रज्ञा प्रतिष्ठानकै रहेको भन्दै संस्थाले आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति ठहर गर्दै उहाँले भाषा र साहित्यलाई देशको ढुकढुकी, पहिचान र आत्मा भएको व्याख्या गरे । उनले भने, “साहित्य र समाज एक अर्काका पूरक हुन् । यो ज्ञान, संस्कार, संस्कृति र जीवन हो । त्यसैले हरेक मानिसको जीवनमा भाषा, साहित्य, संस्कृति र दर्शन अपरिहार्य छन् ।”
भाषा, संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकास हाम्रो साझा दायित्व भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सरकारसमेत यसलाई प्राथमिकतामा राखेर प्राज्ञिक कर्ममा क्रियाशील प्रतिभाको कदर र सम्मान गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले राष्ट्रिय कविता महोत्सव–२०८२ का उत्कृष्ट दस कविहरूलाई सम्मानपत्र र पुरस्कार वितरण गरेका थिए । उनले सबै विजेताहरूलाई बधाई दिँदै उनीहरूको सृजनात्मक यात्राको निरन्तर प्रगतिका लागि शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्: