
काठमाडौं भाद्र १७, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ ।
अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताए ।
उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।
अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने बताए । उनले विधेयकको लक्ष्य अनुसार अघि बढ्न विश्व बैंकबाट सहयोगको अपेक्षा गरे ।
विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने बताए ।
उनले विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।
उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताए ।
उनले वैकल्पिक विकास वित्त परिचानन सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्र पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताए । उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिए ।
हुम्लाको लिमी ः पुल नहुँदा गुड्दैन गाडी, स्थानीयले बोक्नुपर्छ भारी
१७ भदौ, हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–६ को तुम्लिङ्गमा नदीको बहाव बढेपछि लिमीका जनतालाई आउजाउमा समस्या भएको छ ।
नदीमा मोटेरेबल पक्की पुल नहुँदा यहाँका नागरिकहरुले वर्षेनी सास्ती भोग्दै आएका छन् ।
यहाँ नागरिकलाई मात्रै नभई नेपाली भूमि लिमी लाप्चादेखि चीनको मानसरोवर कैलाश दर्शन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई समेत समस्या हुने गरेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
नदीमा मोटर गुडने पक्की पुल नहुँदा बोलेरो जिपलाई नदी तर्न समस्या हुने गरेको वडाध्यक्ष तामाङले अनलाइनखबरसँग बताए ।
‘साना बोलेरो जिप नदी बढेपछि आउजाउ बन्द हुन्छ हामी लिमेली जनताहरुले सदरमुकाम सिमकोट र हिल्सा नाकाबाट ल्याएका दैनिक उपभोग्य सामग्री समेत भारी बोकेर झोलुङ्गे पुलबाट ओसार्ने गरेको वडाध्यक्ष तामाङको भनाइ छ ।
लिमेली जनताको दुःख पीडा सरकारले अहिलेसम्म पनि सम्बोधन गर्न नसकेको उनले बताए ।
लिमेली जनतालाई राज्यले हेर्ने नजर नै फरक भएकोले वर्षेनी नदीबाटै जोखिम मोलेर बोलेरो जिप वारपार गर्नुपर्ने बाध्यता रहेको नाम्खा गाउँपालिका–६ का स्थानीय छिरिङ सुन्डुप तामाङले बताए ।
नदी बढेपछि दुई वटा बोलेरो जिप फेरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता भएको उनले बताए । ‘सामान पनि आधा घण्टा भारी बोकेर नदी वारपार गर्नुपर्छ,’ तामाङले भने, ‘लिमेली जनता गाडी गुड्न सक्ने पुल नहुँदा वर्षेनी सास्ती भोग्न बाध्य छन् ।’
प्रतिक्रिया दिनुहोस्: