
काठमाडौं भाद्र ९, भदौ, काठमाडौं । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई सोमबार इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ ।
गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् ।
समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस(एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।
हमासले सञ्चालन गरिरहेको नागरिक सुरक्षा समितिका अनुसार सुरुवाती आक्रमणमामा कयौं मानिस मारिएका थिए । त्यसपछि उद्धारका लागि पुगेको टोलीमाथि पुनः इजरायली सेनाले आक्रमण गर्दा थप मानिसको मृत्यु भयो ।
इजरायली सेना र प्रधानमन्त्री कार्यालयले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा गाजाको दक्षिणी क्षेत्रको मुख्य नासेर अस्पतालमा धुँवा उडिरहेको देखिन्छ । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरापर्सन हुसाम अल–मसरीको मृत्यु पुष्टि गरेको छ ।
मृत्यु हुने अन्य पत्रकारमा अल जजीरामा कार्यरत मोहम्मद सलामेह, एपीमा कार्यरत मरियम अबू दका र अमेरिकी टेलिभिजन एनबीसीमा कार्यरत फोटोग्राफर मुआथ अबू ताहा रहेका छन् ।
दुई हप्ताअघि मात्रै पनि गाजा सिटीको अल–शिफा अस्पताल नजिकै इजरायली सेनाले गरेको आक्रमणमा परेर ६ जना पत्रकारको मृत्यु भएको थियो । जसमा ४ जना अल जजीरामा कार्यरत पत्रकार थिए ।
संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन भनेको छ ।
यसअघिको घटनामा इजरायली सेनाले अल जजिराका रिपोर्टर अनस अल–शरीफमाथि गाजामा सक्रिय विद्रोही समूह हमाससँग जोडिएको आरोप लगाएर निसाना बनाएको थियो ।
पत्रकारहरूको संरक्षण र हितमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था सीपीजेले आफूले लगाएका आरोपमा इजरायलले प्रमाण पेश गर्न नसकेको प्रतिक्रिया दिएको छ ।
‘म मरेपनि गाजालाई नबिर्सिनुहोस्’
सीपीजेका अनुसार इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएदेखि अहिलेसम्म गाजामा १९२ पत्रकारहरू मारिएका छन् । तीमध्ये १८४ जना प्यालेस्टाइनी छन् । उनीहरु सबै इजरायली कारबाहीमा मारिएका हुन् ।
२०८२ साउन २७ गते १९ः१९
पत्रकार अनास अल–शरीफलाई श्रध्दाञ्जली अर्पण गर्दै पत्रकारहरू। तस्वीर ः एएफपी
२७ साउन २०८२ । गत जनवरीमा गाजामा युद्धविराम लागू भएपछि अनास अल–शरीफले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा आफ्नो सुरक्षा पोशाक बिस्तारै फुकाले । उत्साहित भीडले उनको जयजयकार गरिरहेको थियो । त्यो दिन यस्तो आशा छाएको थियो कि, युद्धविराम गाजाका २० लाख मानिसहरूको दुःख अन्त्यको सुरुवात हो ।
तर करिब सात महिनापछि, इजरायलले गाजा सहरमा गराएको आक्रमणमा अल जजिराका पत्रकार अनास अल–शरीफ र उनका चार सहयोगीहरू मारिए ।
गाजाका सबैभन्दा चिनिने प्यालेस्टाइनी पत्रकारहरूमध्ये एक थिए– शरिफ । युद्धका क्रममा इजरायलद्वारा मारिएका दर्जनौंमध्येका एक शरीफको मृत्युको यतिबेर अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ ।
इजरायलको जवाफदेहिताको माग तीव्र रुपमा उठेको छ । संसारभरका प्रेस र मानव अधिकारवादीहरुले घटनाको भत्र्सना गरेका छन् । निडर पत्रकारको हत्याले युद्ध रिपोर्टिङ गर्ने अन्य पत्रकार र मिडियाकर्मीहरु पनि शरिफको नियती आफूहरुले पनि भोग्नु पर्ने हो कि भन्ने चिन्तामा डुबेका छन् ।
२८ वर्षीय अल–शरीफ युद्ध अघि कमै चिनिएका थिए । तर इजरायलले अन्तर्राष्ट्रिय मिडियालाई गाजामा प्रवेश गर्न रोक लगाएपछि उनी लाखौं दर्शकका लागि गाजाको मुहार देखाउने माध्यम बने । युद्ध सुरु भएदेखि नै उनले दिनहुँ संघर्ष र मानवीय अवस्थाबारे प्रत्यक्ष रिपोर्ट गर्दै आएका थिए ।
उनका रिपोर्टहरूले संघर्षका महत्त्वपूर्ण क्षणहरूलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए । उनले प्रसारण गरेका युद्धविरामका समाचार, इजरायली बन्धकहरूको रिहाई र भोकमरीका कथाहरुले संसारलाई झस्काएको थियो ।
अल जजिराले उनलाई सन् २०२३ को डिसेम्बरमा भर्ना गरेको थियो । आफ्नो जन्मस्थान जबालियामा इजरायली आक्रमणको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी भाइरल भएका थिए ।
त्यतिबेला उनी एक व्यावसायिक क्यामराम्यान थिए । उनी सुरुमा स्क्रिनमा देखिन हिच्किचाएका थिए । तर सहकर्मीहरूको आग्रहमा उनले रिपोर्ट प्रस्तुत गर्न थाले । जसलाई उनी ‘अवर्णनीय अनुभव’ भन्थे ।
‘अन्तर्राष्ट्रिय त के, म कहिल्यै कुनै स्थानीय च्यानलमा समेत देखिएको थिइनँ’, उनले सन् २०२४ को फेब्रुअरीमा ‘सोतौर’ मिडियालाई भनेका थिए, ‘सबैभन्दा खुसी हुने व्यक्ति मेरा पिता हुनुहुन्थ्यो ।’ अल–शरीफले अल जजिरामा रिपोर्ट गर्न सुरु गरेपछि केही समयमै उनका पिताको इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो
दुई सन्तानका पिता, अल–शरीफ आफ्नो जागिर सुरु गरेदेखि लगभग हरेक दिन च्यानलमा देखा पर्थे ।
‘हामी पत्रकारहरू अस्पतालमा, सडकमा, गाडीमा, एम्बुलेन्समा, शिविरहरूमा, गोदामहरूमा, विस्थापितहरूसँग सुत्थ्यौं । म ३० देखि ४० स्थानहरूमा सुतें,’ उनले भनेका थिए ।
जनवरीमा उनले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा आफ्नो सुरक्षा पोसाक उतार्दा, भीडले उनलाई काँधमा बोकेको थियो ।
‘म यो हेलमेट फुकाल्दैछु जसले मलाई थकित बनाएको छ, र यो कवच जो मेरो शरीरको अङ्ग झैँ बनेको छ,’ उनले प्रत्यक्ष प्रसारणमा भनेका थिए । त्यसपछि उनले गाजामा इजरायली आक्रमणमा मारिएका र घाइते भएका सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनका रिपोर्टहरूले इजरायली सेनाको ध्यान तानेको थियो । इजरायली सैन्य गुप्तचरले उनलाई अल जजिरामा रिपोर्ट गर्न रोक्न चेतावनी दिएको उनले बताउने गरेका थिए ।
‘अन्त्यमा, इजरायली सेनाले मेरो व्हाट्सएप नम्बरमा भ्वाइस सन्देश पठायो । एक गुप्तचर अफिसरले भने, ‘तपाईं अहिले रहेको स्थान छोड्नुहोस्, दक्षिणतिर जानुहोस्, र अल जजिराको लागि रिपोर्टिङ रोक्नुहोस्’… म अस्पतालबाट प्रत्यक्ष रिपोर्ट गरिरहेको थिएँ । केही मिनेटपछि, म बसेको कोठा नै आक्रमणको निशानामा प¥यो, उनले भनेका थिए ।
किन अहिले मारिए शरीफ ?
इजरायलले १० महिनाअघि नै अल–शरीफमाथि हमाससँग सम्बन्ध रहेको आरोप लगाएको थियो । उसलाई अहिले लक्षित गर्ने निर्णय किन लिइयो भन्ने स्पष्ट छैन ।
इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले उनको लक्षित हत्या पुष्टि गर्ने वक्तव्यमा अल–शरीफमाथि गाजामा रहेको एक हमास सेलको नेतृत्व गरेर इजरायली नागरिकहरू र आइडीएफ फोर्समाथि रकेट आक्रमण गराएको आरोप लगायो ।
गाजाका सबैभन्दा चिनिने प्यालेस्टाइनी पत्रकारहरूमध्ये एक थिए– शरिफ । युद्धका क्रममा इजरायलद्वारा मारिएका दर्जनौंमध्येका एक शरीफको मृत्युको यतिबेर अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ ।
सन् २०२४ को अक्टोबरमा, इजरायली सेनाले केही दस्तावेज सार्वजनिक गर्दै अल–शरीफको हमाससँगको सम्बन्ध प्रमाणित भएको दाबी ग¥यो । अन्य पाँच अल जजिराका पत्रकारहरूलाई पनि हमासको सदस्य भएको आरोप लगायो ।
सेनाका प्रवक्ताले एक्समा सार्वजनिक भिडियोमा भनेका थिए– अल–शरीफले सन् २०१३ मा हमास बटालियनमा प्रवेश गरेका थिए र २०१७ मा प्रशिक्षणको क्रममा घाइते भएका थिए । जुन दाबी अल–शरीफ र संयुक्त राष्ट्र संघका स्वतन्त्र अभिव्यक्ति स्वतन्त्रता प्रतिनिधि आइरिन खानले अस्वीकार गरेका थिए ।
‘म पुनः पुष्टि गर्छु, म, अनास अल–शरीफ, कुनै राजनीतिक समूहसँग आबद्ध छैन । मेरो एक मात्र उद्देश्य सत्यलाई त्यसकै रूपमा, बिना पूर्वाग्रह प्रस्तुत गर्नु हो,’ उनले गत महिना लेखेका थिए, ‘ गाजामा एक घातक अवस्था छ, सत्य बोल्नु नै खतरा बन्न पुगेको छ ।’
अल–शरीफको मृत्युपछि, आइडीएफका अरबिक प्रवक्ताले याहा सिन्वारसँगै भएका उनका फोटोहरू सार्वजनिक गरे । सिन्वारलाई ७ अक्टोबर २०२३ को इजरायलमाथिको हमलाको योजनाकार मानिन्छ । इजरायलले सिन्वारलाई अक्टोबर २०२४ मा मारिएको घोषणा गरिसकेको छ।
अल–शरीफ गत आइतबारका दिन अल–शिफा अस्पतालको प्रवेशद्वार नजिक पत्रकारहरूको टेन्टमा थिए । त्यहाँ उनी इजरायली हमलामा मारिएको अस्पतालका निर्देशक डा. मोहम्मद अबु सलमियाले सीएनएनलाई जानकारी दिएका छन् ।
सलमियाका अनुसार त्यो टेन्टमा ‘प्रेस’ को चिन्ह थियो । सो आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको थियो ।
अल जजिराका अनुसार संवाददाता मोहम्मद करैकेह, फोटो पत्रकारहरू इब्राहिम अल–ताहेर र मोअमेन अलीवा, साथै कर्मचारी मोहम्मद नौफल पनि उक्त आक्रमणमा मारिएका थिए ।
पत्रकारहरूमाथि आरोप
अल–शरीफको हत्यापछि अधिकार समूहहरू, स्वतन्त्रता र मानव अधिकारका पक्षधर अधिकारीहरूले कडा आलोचना गरेका छन् । कमिटी टू प्रोटेक्ट जर्नालिस्ट (सीपीजी)ले भनेको छ– ‘हामी स्तब्ध छौं । इजरायलले पत्रकारहरूलाई आतंकवादी भएको आरोप लगाउने दीर्घकालीन, प्रमाणहीन अभ्यास गर्दै आएको छ ।’
सीपीजेका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म १९२ पत्रकारहरू मारिएका छन् । तीमध्ये १८४ जना प्यालेस्टाइनी हुन्, जसलाई इजरायली युद्ध सुरु भएदेखि इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय पत्रकारलाई स्वतन्त्र रूपमा गाजामा प्रवेश गर्न दिइएको छैन ।
अल–शरीफको शवलाई गाजा सिटीको शिफा अस्पतालको परिसरबाहिर सोमबार ठूलो संख्याको उपस्थितिमा दाहासंस्कार गरिएको थियो ।
अल–शरीफ र उनका सहकर्मीहरू मारिनु केही घण्टा अगाडि मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विदेशी पत्रकारहरूलाई गाजामा प्रवेश गर्न दिने घोषणा गरेका थिए । तर उनीहरूलाई इजरायली सेनाको स्वीकृति र संलग्नतासहित मात्र अनुमति दिने भनेका थिए ।
जिन्दगीमा आफ्नै मृत्युको आभास पाएका अल–शरीफले आफ्नो बारेमा पहिल्यै लेखेका थिए । उनको मृत्युपछि उनका सहकर्मीहरुले सार्वजनिक गरेको पत्रमा छ– ‘मैले सबै पीडा महसुस गरें, अनेकौं पटक दुःख र क्षति भोगें, तर सत्य बोल्न कहिल्यै पछि हटिनँ । यदि म मर्छु भने, म आफ्ना सिद्धान्तहरूमा अडिग रहँदै मर्छु । गाजालाई नबिर्सिनुहोस् । र मलाई तपाईंहरूले प्रार्थनामा सम्झनुहोस् ।’
(सीएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका रिपोर्टमा आधारित)
प्रतिक्रिया दिनुहोस्: