
रीना खत्री÷दीपक विष्ट
काठमाडौं असार १९ शेयर बजारमा सूचीकृत भएका अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७९÷०८० को मुनाफाबाट आफ्ना लगानीकर्ता (शेयरधनी)हरूलाई प्रतिफल दिन असफल भएका छन् । सूचिकृत कम्पनीहरुमा सञ्चालकहरूले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई भन्दा बढि सूचिकृत कम्पनीहरुका लगानीकर्ताहरूले यस वर्ष प्रतिफल पाउन सकेनन् ।
धितोपत्र बजारमा ११ वटा उपसूचकमा कारोबार भैरहेका र गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरेका २२५ वटा कम्पनीहरुमध्ये ८४ वटाले मात्र आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सफल भएका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरुले लगानीकर्ताहरूलाई निराश बनाएका छन् ।
नेप्सेमा सूचीकृत भएका कम्पनीहरुमध्ये औसतमा ३७ प्रतिशत कम्पनीहरुले मात्रै लाभांश वितरण गर्न सफल भएको प्रतिस्प्रर्धा साप्ताहिकले संकलन गरेको एकीकृत तथ्याङ्कले देखाएको छ ।
हाइड्रोपावर उपसूचकमा सबैभन्दा बढी कम्पनीहरुले कारोबार गर्दै आएका छन् । यस उपसूचकमा कुल ९१ वटा कम्पनीहरुले शेयर कारोबार गर्दै आएतापनि गत आर्थिक वर्षको मुनाफाबाट १६ वटा कम्पनीहरुले मात्र लगानीकर्ताहरूलाई लाभांश वितरण गरेका छन् ।
साथै, बैंकिङ्ग उपसूचकमा १९ वटा वाणिज्य बैंकहरुले शेयर कारोबार गर्दै आएका छन् । विकास बैंकको इन्डेक्समा १६ वटा बैंक, फाइनान्स इन्डेक्समा १५ वटा कम्पनी, होटल एण्ड टुरिज्म इन्डेक्समा ६ वटा कम्पनी, इन्भेष्टमेन्ट इन्डेक्समा ७ वटा कम्पनी, लाइफ इन्स्योरेन्स इन्डेक्समा १२ वटा कम्पनी, नन लाइफ इन्स्योरेन्स इन्डेक्समा पनि १२ वटा कम्पनी र उत्पादन तथा प्रोसेसिङ इन्डेक्समा ८ वटा कम्पनीहरुले कारोबार गर्दै आएका छन् ।
बैंकिङ्ग उपसूचक ः
यस उपसूचकमा कारोबार भएका १९ वटा वाणिज्य बैंकहरुमध्ये धितोपत्र बजारमा कारोबार नभएको राष्ट्रिय वाणिज्यसहित १२ वटाले मात्रै आर्थिक वर्ष २०७९÷०८० को मुनाफाबाट लगानीकर्ताहरूलाई लाभांश वितरण गरेका छन् । जसमा एनआइसी एशिया बैंक अब्बल देखिएको छ । बैंकले गत आवको मुनाफाबाट २९ प्रतिशत वोनस र १.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
साथै, माछापुच्छे बैंकले १३.३० प्रतिशत वोनस शेयर र ० दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गरेको छ । एभरेष्ट बैंकले १० प्रतिशत वोनश र १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सरकारी स्वामित्व रहेको कृषि विकास बैंकसहित ८ वटाले लगानीकर्ताहरूलाई निराश बनाएका छन् ।
डेभलपमेन्ट बैंक इन्डेक्सः
डेभलपमेन्ट बैंक इन्डेक्समा १६ वटा विकास बैंकहरुले शेयर कारोबार गर्दै आएका छन् । जसमा ८ वटा बैंकहरुले मात्र आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । यस आर्थिक वर्षमा विकास बैंकहरुमध्ये साईन रेसुङ्गा विकास बैंकले १०.५० प्रतिशत वोनस शेयर र ०.५५ प्रतिशतले लाभांश वितरण गरेको छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत वोनस र ०.५५ नगद लाभांश वितरण गरेको छ । विकास बैंकहरुमध्ये ८ वटा बैंकले आफ्ना लागनीकर्ताहरूलाई निराश बनेका छन् ।
फाइनान्स इन्डेक्सः
यस इन्डेक्समा कारोबार भएका १५ वटा फाइनान्स कम्पनीहरुमध्ये जम्मा तीन वटाले मात्र नगद लाभांश वितरण गरेका छन् । कुनै पनि कम्पनीहरुले वोनस शेयर पनि वितरण गर्न सकेका छैनन् । तर, पछिल्लो समय शेयर बजारमा चाँही यिनै दयानिय अवस्था भएका फाइनान्सहरुको शेयरमूल्य बढेको बढ्यै छ ।
कम्पनीहरुमध्ये आइसीएफसी फाइनान्सले ६.५ प्रतिशत, मन्जुश्री फाइनान्सले ५.२६ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ५ प्रतिशतले लाभांश वितरण गरेको छ । यस आवमा १२ वटा फाइनान्सका लगानीकर्ताहरुले भने लाभांश नै नपाएर निराश बनेका छन् ।
होटल एण्ड टुरिज्म इन्डेक्सः
यस उप–सूचकमा कारोबार गर्दै आएका ६ वटा कम्पनीहरुमध्ये तीन वटाले मात्र आफ्ना लगानीकर्ताहरूलाई लाभांश वितरण गरेको छ । जसमा सोल्टी होटेलले चाहीँ पाँच प्रतिशत वोनस र २६ प्रतिशत नगद लाभांश वितरण गर्दै शेयरधनीहरूलाई मख्ख बनाएको छ ।
साथै, तारागाउँ रिजेन्सी होटेलले चार प्रतिशत वोनस शेयर र ११ प्रतिशत नगद लाभांश र ओरियन्टल होटलले पाँच दशमलव २६ प्रतिशतका दरले लाभांश वितरण गरेको छ ।
हाइड्रोपावर इन्डेक्सः
सरकारको प्राथमिकतामा रहेको हाइड्रोपावर कम्पनीहरुले आफ्ना लगानीकर्ताहरूलाई निराश बनाएको छ । नेप्सेमा सूचीकृत भई कारोबार गरिरहेका ९१ वटा कम्पनीहरुमध्ये १६ वटा कम्पनीले मात्र आफ्ना लगानीकर्ताहरूलाई सन्तोषजनक लाभांश वितरण गरेका छन् ।
हाइड्रोपावर कम्पनीहरुमध्ये माउण्टेन इनर्जीले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । कम्पनीले यस अवधिमा १५ प्रतिशत वोनस शेयर र ० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । अधिकांश हाइड्रोपावर कम्पनीहरुले आफ्ना लगानीकर्ताहरूलाई निराश बनाएका छन् ।
इन्भेष्टमेन्ट इन्डेक्सः
यस इन्डेक्समा कारोबार भएको ७ कम्पनीहरुमध्ये इमर्जिङ्ग पाँचवटा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरूलाई लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को मुनाफाबाट हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्टले पाँच दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको छ । साथै, नागरिक लगानीकोषले १४ प्रतिशत वोनस शेयर वितरण गर्ने भएको छ ।
लाइफ इन्स्योरेन्स इन्डेक्सः
समग्र कम्पनीको तुलनामा जीवन बीमा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरूलाई क्षमता अनुसारको प्रतिफल वितरण गरेका छन् । यस इन्डेक्समा कारोबार भैरहेका १२ वटा कम्पनीहरुमध्ये हालसम्म वार्षिक साधारणसभा भएका ७ वटा कम्पनीले लाभांश वितरण गरेका छन् ।
साथै, आइएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई २५ प्रतिशतका दरले वोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यी कम्पनीहरु बाहेक ४ जीवन बीमा कम्पनीहरु वार्षिक साधारणसभाको अन्तिम तयारीमा रहेका छन् ।
उत्पादन तथा प्रशोधनः
यस उप–सूचकमा आठवटा कम्पनीहरुले शेयर कारोबार गर्दै आएका छन् । जसमा युनिलिभर नेपाल लिमिटेडले १५८० प्रतिशतका दरले सर्वाधिक लाभांश वितरण गरेको छ । साथै, बोतलर्स नेपाल (तराई)ले ६० प्रतिशत र हिमालयन डिस्टिलरीले १५ प्रतिशतका दरले लाभांश वितरण गरेका छन् ।
माइक्रोफाइनान्स इन्डेक्सः
हाल सञ्चालन रहेका ५३ लघुवित्त कम्पनीहरुमध्ये १६ वटा मात्रै आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७९÷०८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरूलाई लाभांश वितरण गरेका हुन् ।
चालु आर्थिक २०७९÷०८० मा १६ वटा लघुवित्त कम्पनीहरुले मात्र लाभांश वितरण गरेका छन् । जसमा युनिक नेपाल लघुवित्तले सबैभन्दा बढी वोनस शेयर वितरण गर्न सफल भएको छ । कम्पनीले १ प्रतिशत नगद र १९ प्रतिशत वोनस गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ ।
साथै, जिवन विकास लघुवित्तले ० दशमलव ७४ प्रतिशत नगद र १४ प्रतिशत वोनस शेयर वितरण गर्दै दोस्रो स्थानमा रहेको छ । सपोर्ट माइक्रो फाइनान्सले १३ प्रतिशत वोनस शेयर, स्वावलम्बन लघुवित्तले १२.३६ प्रतिशत, आन्तनिर्भर लघुवित्तले १० प्रतिशत, डिप्रोक्स लघुवित्तले पनि १० प्रतिशतका दरले लगानीकर्ताहरूलाई वोनस शेयर वितरण गरेको छ ।
नन लाइफ इन्डेक्सः
निर्जीवन बीमा कम्पनीहरुमध्ये गत आर्थिक वर्षको मुनाफाबाट ६ वटा कम्पनीले मात्र आफ्ना लगानीकर्ताहरूलाई लाभांश वितरण गरेका छन् । जसमा नेपाल इन्स्योरेन्सले १० प्रतिशत वोनस शेयर र हिमालयन एभरेष्टले ८.६३ प्रतिशत वोनस शेयर वितरण गरेका छन् ।
सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोड इन्स्योरेन्सले भने वार्षिक साधारणसभा गर्ने अन्तिम तयारीमा रहेका छन् ।
अन्य उप–सूचकः
विभिन्न सूचकमा कारोबार भएका कम्पनीहरु बाहेक अन्य सम्पूर्ण कम्पनीहरु यस सूचकमा कारोबार गर्ने गरेका छन् । यस उपसूचकमा कारोबार भएका ६ वटा कम्पनीहरुमध्ये तीनवटाले आफ्ना लगानीकर्ताहरूलाई लाभांश वितरण गरेका छन् ।
नेपाल दुरसञ्चार कम्पनीले लगानीकर्ताहरूलाई ४० प्रतिशत नगद लाभांश र नेपाल रिइन्स्योरेन्सले४.७५ प्रतिशतका दरले वोनस शेयर वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: