काठमाडौं साउन १३, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गिरीबन्धु जग्गा प्रकरण नीतिगत भ्रष्टाचारको स्पष्ट नमुना भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै सांसद गौतमले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले भूमिसम्बन्धी ऐनमा अहिलेसम्म १६ पटक संशोधन भइसकेको उल्लेख गर्दै विधेयकमा चरणबद्ध संशोधन पनि नीतिगत भ्रष्टाचारको निरन्तरता भएको बताइन् ।
उनले केही घरजग्गा व्यवसायीहरूले कानुनको इन्द्रजाल प्रयोग गरी हदबन्दीभन्दा बढी जमिन लिन सफल भएको पनि बताइन् । उनले भूमिहीनहरूलाई सरकारले भूमि दिनुपर्ने अपरिहार्य आवश्यकता भए पनि सरकारले लक्ष्यबिना हचुवाको भरमा कानुन संशोधन गरिरहेको आरोप लगाइन् ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई औजार बनाएर चुनावमा भोट उठाउने काम राजनीतिक दलहरूले बन्द गर्नुपर्ने सांसद गौतमको भनाइ छ ।
उनले भूमिहीनको समस्या समाधानको लागि विधेयक बनाइएको भए तथ्याङ्क लिएर आउन सरकारलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्: