
काठमाडौं साउन १२, दसौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई मंगलबार मलेसियाको सरावक जाने भएको छ ।
जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगष्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगष्ट १ तारिखमा हुनेछ ।
पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् । कामना र रेणुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट मलेसिया जाने छिन् ।
व्यवस्थापकमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । नेपालले सुरुको संस्करणदेखि नियमित रुपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ । यो अवधिमा नेपालले १ रजत र ५ गरी ६ पदक जितेको छ । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन् । प्रतियोगितामा ४५ राष्ट्रका १ सय ५० खेलाडीको सहभागिता रहने प्रशिक्षक लामाले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपाली पारा तेक्वान्दो ‘ब्रान्ड’ का रुपमा स्थापित भइसकेको धारणा राख्दै अन्तर्राष्ट्रिय मन्चमा पारा तेक्वान्दोले हासिल गरेको उपलब्धिलाई यो टोलीले पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।
निर्देशक विष्टले पारा तेक्वान्दोमा एसिया बलियो क्षेत्र भएकाले यो प्रतियोगितामा पदक जित्न सके ओलम्पिकमा पदक जित्ने सम्भावना प्रबल हुने बताए ।
प्रशिक्षक लामाले वरीयता सुधारका लागि प्रतियोगिता महत्वपूर्ण भएकोले यो प्रतियोगिताबाट वरीयता सुधार गर्न सके ओलम्पिकमा सहभागिता सहज हुने बताए ।
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने
काठमाडौं, साउन ११, नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चार दिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ ।
विश्व फ्रिस्ट्याल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमीनार गर्न लागेको हो । उक्त कार्यक्रम आगामी साउन १७ देखि २० गतेसम्म काठमाडौंको जडिबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने आयोजक एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिइन् । फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलको रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अपेक्षा राख्दै सेमिनार आयोजना गरिएको आयोजक एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले जानकारी दिए ।
यस सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत रहेकी बिन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताइन् । मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उनको विश्वास छ । एसोसिएसनको मिहिनेत र टिम स्पिरिटले गर्दा यस खेल विकास भइरहेको र अझ उचाइमा पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको विन्दाले बताइन् ।
एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठ, कोषाध्यक्ष सुमन नेपाल, प्रमुख प्रशिक्षक रमेश नेपाली, उपाध्यक्ष राजकुमार ठकुरी र वरिष्ठ सल्लाहकार आकाश धितालको नेतृत्वमा बृहत मात्रामा तयारी पूरा गरिएको महासचिव बिन्दाले जानकारी दिइन् । यो सेमिनार उपलब्धिमूलक र प्रभाकारी हुने अपेक्षा रहेको एसोसिएसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: