क्याम्बोडिया–थाईल्याण्ड द्वन्द्वको कारण बनेको सदीयौं पूरानो शिव मन्दिर

२०८२ श्रावण १२

काठमाडौं साउन ११, थाईल्याण्ड–क्याम्बोडिया सीमामा जारी पछिल्लो सैन्य झडपमा ३० जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
बिहीवार बिहानदेखि अचानक चर्किएको द्वन्द्वमा दुबै देशका सैनिकहरूले शक्तिशाली अस्त्र प्रयोग गरिरहेका छन् ।
दुई देशबीच विद्यमान शताब्दी पूरानो सीमा विवादसँगै पछिल्लो झडपको केन्द्रमा एउटा प्राचीन शिव मन्दिर पनि छ । थाइल्याण्ड र क्याम्बोडिया दुबै उल्लेख्य हिन्दु जनसंख्या रहेका देशहरू हुन् ।
इतिहासमा फ्रान्सले क्याम्बोडियामा आफ्नो कब्जा जमाएपछि सीमा निर्धारण गर्दाखेरि देखि नै दुई देशबीच सीमा विवाद उत्पन्न भएको थियो ।
सन् २००८ मा क्याम्बोडियाले उक्त विवादित क्षेत्रमा अवस्थित ११ औं शताब्दीको मन्दिरलाई यूनेस्कोको विश्व सम्पदा स्थलको सूचीमा दर्ता गर्ने प्रयास गरेपछि सीमा क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।
क्याम्बोडियाको उक्त कदमको थाइल्याण्डले कडा विरोध ग¥यो । त्यसपछि दुई देशबीच कैयौं झडपहरू भए, जसमा सैनिकहरूसँगै सर्वसाधारणले पनि ज्यान गुमाए ।
गएको मे महिनामा भएको एउटा भिडन्तमा क्याम्बोडियाका एक सैनिकको मृत्यु भएपछि बढेको दुई पक्षबीचको तनावले एक दशकभन्दा लामो समयपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध सबैभन्दा तल्लो विन्दुमा पुगेको छ ।
पछिल्ला दुई महिनायता दुबै देशले एक अर्कामाथि सीमा वारपारमा प्रतिबन्ध लगाएका छन् । क्याम्बोडियाले थाइल्याण्डबाट फलफूल र तरकारी आयातमा प्रतिबन्ध लगाएको छ । उसले थाइल्याण्डबाट आयात गर्दै आएको विजुली र इन्टरनेट पनि खरिद गर्न छोडेको छ ।
पछिल्ला केही सातायता दुबै देशले सीमा क्षेत्रमा सेनाको उपस्थिति बढाएका छन् ।

मन्दिरको इतिहासबारे यूनेस्कोको अभिलेख
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन यूनेस्कोका अनुसार क्याम्बोडियाको मैदानमा रहेको उच्च पठारको किनारमा अवस्थित प्रेह विहेयर मन्दिर भगवान् शिवमा समर्पित मन्दिर हो । यो मन्दिरमा कैयौं धार्मिक संरचनाहरू छन् ।
यसको निर्माण मुख्य गरी ११ औं शताब्दीमा भएको थियो । यसको जटिल इतिहास नवौं शताब्दीसम्म जोडिएको यूनेस्कोले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । त्यसबेला यहाँ एउटा तपस्याका लागि आश्रम स्थापना गरिएको थियो ।
दुर्गम स्थानमा अवस्थित यो ठाउँको राम्रोसँग संरक्षण गरिएको यूनेस्कोले जनाएको छ ।
यो शिव मन्दिर उत्कृष्ट वास्तुकलाको नमूना पनि हो । मन्दिरको निर्माण कुँदिएका ढुङ्गाहरूबाट गरिएको र त्यहाँको प्राकृतिक वातावरणलाई दक्खल नपु¥याएको चर्चा यूनेस्कोले गरेको छ ।

थाई आक्रमणमा मन्दिरमा क्षति पुगेको क्याम्बोडियाको आरोप
क्याम्बोडियाले उक्त मन्दिरबाट करिब ३०० मिटर नजिकै बिहीवार थाई एफ–१६ लडाकु विमानबाट तीन वटा बम खसालिएको दाबी गरेको छ । जसबाट मन्दिर र वरपरका संरक्षित क्षेत्रहरूमा गम्भीर क्षति पुगेको र १९५४ को हेग महासन्धिको उल्लंघन भएको आरोप क्याम्बोडियाको छ ।
थाइल्याण्डले भने शिव मन्दिरको वरपरको क्षेत्र र संरचनामा क्षति पुगेको आरोपलाई अस्वीकार गरेको छ । एक विज्ञप्तिमा थाइल्याण्डले मन्दिर नजिकै कुनै पनि हमला नभएको र आफ्नो प्रहारको निशाना मन्दिरबाट करिब दुई किलोमिटर टाढा रहेको दाबी गरेको छ ।
थाई विज्ञप्तिमा झडप स्थलबाट मन्दिरका संरचनाहरूसम्म गोला वा छर्राहरू पुग्ने वा उल्लेखनीय क्षति हुने सम्भावना कम भएको दाबी गरिएको छ ।

मन्दिरको विवाद अन्तर्राष्ट्रिय अदालतसम्म
अन्तर्राष्ट्रिय अदालतले १९६२ मा सो मन्दिर विवादबारे दीर्घप्रतीक्षित फैसला सुनाएको थियो ।
क्याम्बोडियाले अन्तर्राष्ट्रिय अदालतमा थाइल्याण्डले मन्दिरको भग्नावशेषले घेरिएको आफ्नो भू–भागको एक भाग कब्जा गरेको उजुरी गरेको थियो । यो ठाउँ क्याम्बोडियाली नागरिकहरूको धर्म र आस्थाको केन्द्र रहेको बताइन्छ ।
क्याम्बोडियाले अन्तर्राष्ट्रिय अदालतलाई यस मन्दिरको अधिकारको बारेमा फैसला गर्न र थाइल्याण्डले १९५४ देखि त्यहाँ तैनाथ गरेका आफ्ना सेना हटाउन आदेश दिन माग गरेको थियो ।
थाइल्याण्डले अदालतको क्षेत्राधिकारमा उक्त विषय नपर्ने दाबी गरे पनि अदालतले १९६१ मा थाइल्याण्डको दाबी अस्वीकार ग¥यो ।
अन्ततः सन् १९६२ को जुन १५ मा अन्तिम फैसला सुनाउँदै अदालतले फ्रान्स र थाईल्याण्डबीच १९०४मा भएको सन्धिमा विवादित क्षेत्रलाई वाटरशेड लाइन अनुसार सीमाङ्कन गरिएको र संयुक्त सीमाङ्कन आयोगद्वारा तयार पारिएको नक्सामा मन्दिरलाई क्याम्बोडियाको भू–भाग भित्र देखाइएको उल्लेख गरेको थियो ।
थाइल्याण्डले उक्त नक्सा आफ्नो देशले कहिल्यै स्वीकार नगरेको र स्वीकार गर्नु बाध्यकारी नभएको तर्क गर्यो ।
यद्यपि, अदालतले थाइल्याण्डले उक्त नक्सा स्वीकार गरेको र मन्दिर क्याम्बोडियाली क्षेत्र भित्र अवस्थित रहेको निष्कर्ष निकालेको थियो ।
अदालतले थाइल्याण्डलाई त्यहाँ तैनाथ सबै सैनिक वा प्रहरी बल हटाउन आदेश दिँदै १९५४ पछि मन्दिरबाट हटाइएका सबै वस्तुहरू क्याम्बोडियालाई फिर्ता दिन भनेको थियो ।

दुई छिमेकीको द्वन्द्वले विश्व चिन्तित
संयुक्त राज्य अमेरिकाले “शत्रुता तत्काल अन्त्य गर्न, नागरिकहरूको सुरक्षा गर्न र शान्तिपूर्ण रूपमा द्वन्द्व समाधान गर्न’’ दुबै देशलाई आह्वान गरेको छ ।
“थाइल्याण्ड–क्याम्बोडिया सीमामा हिंसा बढेकोमा हामी निकै चिन्तित छौं र सर्वसाधारणको हताहत भएका विवरणबाट दुःखी छौं,’’ विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले नियमित मिडिया ब्रीफिङमा भनेका छन् ।
क्याम्बोडिया र थाइल्याण्ड दुबै देशसँग राजनीतिक र रणनीतिक सम्बन्ध रहेको चीनले द्वन्द्वका कारण आफूलाई “गहिरो चिन्ता’’ भएको उल्लेख गरेको छ । चीनले वार्ता र परामर्श मार्फत् दुबै पक्षले समस्या समाधान गर्ने आशा पनि व्यक्त गरेको छ । अस्ट्रेलिया, युरोपेली सघ र फ्रान्सले दुबै देशलाई शान्ति कायम गर्न अपिल गरेका छन् ।
साभार : बीबीसी नेपाली सेवा
फोटो : गेटी इमेज

प्रतिक्रिया दिनुहोस्: