
१० फिल्मलाई ‘पीजी’ सर्टिफिकेट
गत जेठमा सेन्सर बोर्डबाट १९ फिल्मले प्रदर्शन अनुमति लिए, जसमा विदेशी फिल्मको संख्या बढी छ ।
नेपाली फिल्मको निर्माणमा आकर्षण बढेको छ, तर प्रदर्शन अनुमति लिनेमा विदेशी फिल्म नै अगाडि छन् ।
जेठमा सेन्सर भएका फिल्महरूमा ‘यु’, ‘पीजी’ र ‘ए’ वर्गका सर्टिफिकेट प्रदान गरिएको छ ।
काठमाडौं असार ५, नेपाली फिल्मले घरेलु बक्स अफिसमा पछिल्लो समय उत्साहजनक व्यवसाय गर्दै आएका छन् । गत वर्ष रिलिज फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ एक्लैले स्वदेशमा मात्र ४६ करोडभन्दा बढी व्यवसाय गरेको थियो । यद्यपि नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदवा कायमै देखिन्छ ।
नेपाली फिल्मको निर्माण र व्यवसाय सकारात्मक बन्दै गए पनि प्रदर्शन अनुमति लिने फिल्मको संख्यामा भने विदेशी फिल्म नै अगाडि देखिएका छन् ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को तथ्याङ्क अनुसार गत जेठ महिनामा कुल १९ वटा फिल्मले प्रदर्शनका लागि जाँच पास गराएका छन् । जसमा विदेशी फिल्मसँग १० छ भने स्वदेशी फिल्म (एक लिम्वु भाषाको सहित) ९ वटा छन् । जेठ महिनामा सेन्सर भएका फिल्ममध्ये ५२ प्रतिशतभन्दा बढी विदेशी छन् ।
फिल्म निर्माणको तथ्याङ्क हेर्दा भने नेपाली फिल्मप्रति आकर्षण बढेको देखिन्छ । चलचित्र विकास बोर्डका अनुसार गत जेठ महिनामा मात्र ३६ वटा नयाँ फिल्मले निर्माण इजाजत लिएका छन् । जुन बैशाख महिनाको तुलनामा दोब्बर हो । वैशाखमा जम्मा १८ फिल्मले निर्माण इजाजत लिएका थिए ।
कुन–कुन फिल्म भए सेन्सर ?
जेठ महिनामा प्रदर्शन अनुमति लिने १० विदेशी फिल्ममा ५ हिन्दी र ५ अङ्ग्र्रेजी छन् । यस्तै, ९ स्वदेशी फिल्ममध्ये ८ नेपाली भाषाका र एक लिम्वु भाषाको फिल्म रहेको जाँच समितिले जनाएको छ ।
प्रदर्शन अनुमति लिएका ५ हिन्दी फिल्ममा ‘बल्लेरिना’, ‘हाउसफूल ५’, ‘ठग लाइफ’, ‘कराते किङ लिजेण्ड्स’, ‘भुलचुक माफ’ छन् । यस्तै, ५ अङ्ग्रेजी फिल्ममा ‘हाउ टु ट्रेन योर ड्रागन’, ‘बल्लेरिना’, ‘कराँते किङः लिजेण्ड्स’, ‘लिलो र स्क्याच’ र ‘मिसन इम्पोसिवलः द फाइनल रेक्नोइङ’ छन् ।
त्यस्तै, स्वदेशी ९ मध्ये ८ नेपाली भाषाका छन् । जसमा ‘नाम ओती’, ‘लालिमा’, ‘जन्ते बाख्रो’, ‘गौरी शंकर’, ‘महाभोज’, ‘स्वीकार’, ‘लुजर्स’ र ‘नरसिंहाःअवतार’ रहेका छन् । लिम्वुभाषाको ‘सेमी फुङ’ फिल्मले पनि जेठमा प्रदर्शन अनुमति लिएको छ ।
‘एडल्ट’ कति ?
नेपालमा कुनै पनि नयाँ फिल्म रिलिज गर्नुपूर्व.चलचित्र जाँच समितिबाट अनिवार्य रूपमा जाँच पास गराउनुपर्छ । समितिले फिल्मको कथावस्तु र दृश्यका आधारमा तीन प्रकारको वर्गीकरण सर्टिफिकेट प्रदान गर्ने गर्दछ । जसअनुसार ‘यु’ (युनिभर्सल) वर्गमा परेका फिल्म सबै उमेर समूहले हेर्न मिल्छ । ‘पीजी’ (प्यारेन्टल गाइडेन्स) तोकिएका फिल्म १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने हुन्छ भने ‘ए’ (एडल्ट) वर्गको फिल्म १८ वर्षभन्दा माथिका दर्शकका लागिमात्र उपयुक्त हुन्छ ।
जेठमा सेन्सर पास भएका १९ फिल्ममध्ये सबैभन्दा धेरै १० वटा फिल्मले ‘पीजी’ सर्टिफिकेट पाएका छन् । त्यस्तै ७ फिल्मले ‘यु’ र २ फिल्मले ‘ए’ सर्टिफिकेट पाएका छन् ।
‘पीजी’ पाउने १० मध्ये नेपाली दुई फिल्म ‘लालिमा’ र ‘नरसिंह अवतार’ छन् । यही वर्गको सर्टिफिकेट पाएका ‘हाउ टु ट्रेन योर ड्रयागन’, ‘कराते किङ लिजेण्ड्स’, ‘लिलो र स्क्याच’ र ‘मिसन इम्पोसिवलः द फाइनल रेक्नोइङ’ अङ्ग्रेजी फिल्म हुन् । हिन्दीमा ‘हाउसफुल ५’, ‘मिसन इम्पोसिवलः द फाइनल रेक्नोइङ’, ‘ठग लाइफ’, ‘भुलचुक माफ’ र ‘करांते किङ लिजेन्ड्स’ले पीजी सर्टिफिकेट पाएका छन् ।
‘यु’ (युनिभर्सल) पाउने नेपाली फिल्ममा ‘नाम ओती’, ‘जन्ते बाख्रो’, ‘गौरी शंकर’, ‘स्वीकार’, ‘लुजर्स’ र सेमी फुङ (लिम्वु), ‘महाभोज’ छन् ।
यस्तै ‘ए’ वर्गको सर्टिफिकेट पाउने फिल्ममा ‘ब्यालेरिना’ (अङ्ग्रेजी तथा हिन्दी डब) छ ।
प्रतिक्रिया दिनुहोस्: