
काठमाडौं, जेठ २०, मातृ पार्टी नेकपा (एमाले) ले ३२ वर्षे उमेरहद लगाउन परिपत्र गरेसँगै अनेरास्ववियुमा आकांक्षीको लर्को लागेको छ ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन काठमाडौंको कीर्तिपुरमा जेठ २५ गतेबाट सुरू हुँदैछ ।
एमालेको ‘नर्सरी’ मानिएको अनेरास्ववियुको महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। जेठ २८ गतेसम्म अधिवेशन चल्नेछ ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि पाँच जना आकांक्षी देखिएका छन्। त्यसो त ३२ वर्षमुनिका र नियमित विद्यार्थीमात्रै अखिलको कमिटीमा बस्न पाउने प्रावधान लागू हुने भएपछि केन्द्रीय सदस्यहरूले समेत अध्यक्षको आकांक्षा देखाउन थालेका छन् । त्यसो हुँदा प्रतिस्पर्धीको संख्या अझ बढ्न सक्ने आकलन गरिएको छ ।
१७ सदस्यीय पदाधिकारीमा उमेरहद लागू हुँदा १२ जना बाहिरिनेछन् । पाँच जना सचिव मात्रै ३२ वर्ष मुनिका छन् ।
अहिले तिनैमध्येबाट अध्यक्ष बनाउने चर्चा चलिरहेको छ । यद्यपि सचिवभन्दा मुनिकाले पनि प्रतिस्पर्धा गर्न पाउनेछन् । सोहीअनुसार विधानको मस्यौदा तयार पारेर लाने तयारी भइरहेको छ ।
अनेरास्ववियुको अध्यक्ष समिक बडालले पार्टीले निर्देशन दिइसकेको अवस्थामा ३२ वर्षे उमेरहद लागू हुने बताए । त्यहीअनुसार विधानको मस्यौदा बनाएर अधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने उनले जानकारी दिए ।
‘पार्टीबाट निर्देशन र परिपत्रसमेत आइसकेकाले सोहीअनुसार विधान मस्यौदा तयार पारेर अधिवेशनमा लैजान्छौं,’ उनले भने ।
उनकाअनुसार अधिवेशनमा आयोजकसमेत गरेर करिब १५ सय प्रतिनिधि हुनेछन् । प्रतिनिधि व्यवस्था उपसमितिको बैठक मंगलबार बस्दैछ। यसले प्रतिनिधिको संख्या यकिन गर्नेछ ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि म्याग्दीका प्रकाश पौडेल, डोटीका दीपक धामी, रामेछापका डा. सुजन कडरिया, सुनसरीकी आरती भट्टराई र सर्लाहीकी अञ्जना शिवाकोटीको नाम चर्चामा छ ।
नेतृत्वले मुख नखोलिसकेकाले कसकसका बीचमा प्रतिस्पर्धा हुन्छ भनेर अहिले नै निक्र्यौल गर्न गाह्रो भएको एक प्रतिनिधिले जानकारी दिए ।
अहिलेसम्मको परिस्थिति हेर्दा प्रवक्तासमेत रहेका सचिव प्रकाश पौडेल र धामीबीच प्रतिस्पर्धाको बलियो सम्भावना छ ।
३२ वर्षे उमेरहद नलाग्दा महासचिव नरेश रोकाया अध्यक्षका बलिया आकांक्षी थिए । महाधिवेशनको हलले फैसला गर्नुअघि नै पार्टीले उमेरहदको प्रबन्ध राख्न निर्देशन दिइसकेकाले उनी बाहिरिने निश्चितै छ ।
त्यस्तै चार उपाध्यक्ष नारायण घर्ती, गोविन्द गिरी, धर्म गिरी, मर्यादा विष्ट पनि उमेर हदका कारण बाहिरिँदैछन् ।
मौजुदा कमिटीका अध्यक्ष, उपाध्यक्षहरूले ककसलाई समर्थन गर्छन् भनेर नखुलिसकेकाले प्रतिस्पर्धीको आकलन गर्न गाह्रो भएको एक पदाधिकारीले बताए ।
सचिव प्रकाश पौडेलले आफूले तहगत कमिटी पार गर्दै आएको अध्यक्षको स्वाभाविक दाबेदार रहेको बताए ।
‘संगठनले दिएको सबै जिम्मेवारी पूरा गरेको छु। स्कुल कमिटीदेखि जिल्ला कमिटी सदस्य, अध्यक्ष हुँदै गण्डकी प्रदेश अध्यक्ष बनेको थिएँ । त्यस्तै संगठनको केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै सचिव बनेको छु । यहाँसम्मको कामको मूल्यांकन गरेर प्रतिनिधिहरूले अध्यक्षको जिम्मेवारी दिनुहुनेछ भन्ने ठानेको छु,’ उनले भने ।
उनले केही दिनमा संगठनको २४ महिने कार्यकालको योजनासहित आफ्ना कार्यक्रमहरू सार्वजनिक गर्ने र त्यसलाई प्रतिनिधिहरूको बीचबाट अनुमोदन गराउने तयारी रहेको उनले बताए ।
सचिव अञ्जना शिवाकोटीले पनि अनेरास्ववियुको चौथो महिला अध्यक्ष बनेर इतिहास रच्ने अभियानमा आफू रहेको बताइन्।अनेरास्ववियुमा यसअघि रामकुमारी झाँक्री, नविना लामा र सुनीता बराल अध्यक्ष भइसकेका छन् ।
मधेस प्रदेश इन्चार्जसमेत रहेकी उनी तेक्वान्डोको अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् । अनेरास्ववियुलाई सबै तह र तप्का विद्यार्थीहरूको अगुवा संगठन बनाउनुपर्ने उनको बुझाइ छ ।
‘तहगत कमिटी पार गर्दै खारिएर आएको छु। प्रतिनिधिहरूले अध्यक्षकै रूपमा हेर्न चाहेको बताइरहनुभएको छ, त्यसैले उत्साहित पनि छु,’ उनले भनिन् ।
अर्का सचिव डा. सुजन कडरियाले विद्यार्थी आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बाटो दिन नै आफूले उम्मेदवारी दिन लागेको बताए ।
निजी र सार्वजनिक क्षेत्रले दुईथरी जनशक्ति उत्पादन गरिरहेको, वर्तमान शिक्षा प्रणालीमा निजी र सार्वजनिक क्षेत्रले पठाउने पाठ्यक्रममै भिन्नता रहेकाले यसैलाई एजेन्डा बनाएर मैदानमा प्रस्तुत हुने उनले बताए। उनी काठमाडौं विश्वविद्यालयबाट अनेरास्ववियुमा जोडिएका हुन् ।
‘मैले शैक्षिक मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नेछु । नियमित विद्यार्थीले नै अनेरास्ववियुको नेतृत्व गर्ने निर्णय हुँदा मेरो दाबी बलियो र स्वभाविक पनि रहन्छ,’ उनले भने ।
एमालेको परिवर्तित नीतिअनुसार जनसंगठनको केन्द्रीय कमिटीमा दुई तहको मात्रै संरचना रहनेछन्। पदाधिकारीको संख्या ९ मात्रै रहनेछ। सचिवालय र केन्द्रीय कमिटी मात्रै हुनेछ भने केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: