काठमाडौं, जेठ २२, नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ’ए’ ले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको छ ।
नेपाल ’ए’ का सदभाव र राहुल विश्वकर्माले ३६ होलको समाप्तीमा २४-अन्डर २ सय ६४ को स्कोरमा स्वर्ण जितेको हो । गोकर्ण गल्फ क्लबमा आज सदभावले १२-अन्डर ६० को अविश्वसनिय स्कोरमा नयाँ कोर्स रेकर्ड बनाए। राहुलले आज ४-अन्डर ६८ स्कोर गरे । नेपाल ’ए’ ले आज १६-अन्डर १ सय २८ को स्कोर गर्दा भुटानलाई २४ स्ट्रोकको फराकिलो अन्तरले हरायो ।
निम दोर्जी तामाङ र डेचेन लेन्डुपको भुटानी टिम काउन्ट ब्याकमा दोस्रो भयो। भुटान र बङ्गलादेश इभन-पार २८८ मा बराबरी भएपछि काउन्ट ब्याकमा नतिजा निकालिएको हो । सफिकुल इश्लाम र मोहम्मद सहाब उद्दीन सम्मिलित बङ्गलादेशको टिमले कास्य पदक हात पा¥यो ।
च्याम्पियनसिपको दोस्रो दिन व्यक्तिगत स्पर्धामा नेपालका सदभाव आचार्य शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । ३६ होलको समाप्तीमा समग्रमा १८-अन्डर १ सय २६ को स्कोरमा सदभावले भारतका सुमित कोटवाललाई ८ स्ट्रोकले पछि पारेका छन् ।
सदभावले १२-अन्डर ६० को सानदार स्कोरमा प्रोफेसनल गल्फर शुक्र बहादुर राईको नाममा रहेको ११-अन्डर ६१ को रेकर्ड तोडेका हुन् । शुक्रले सन् २०२३ को सूर्य नेपाल सेन्ट्रल ओपनमा सो रेकर्ड बनाएका थिए ।
कोर्स रेकर्ड बनाउने क्रममा सदभावले १२ बर्डी प्रहार गरे । फ्रन्ट र ब्याक नाइन दुवैमा ६–अन्डर ३० को स्कोर निकाले । सदभावले पहिलो होलमा बर्डी प्रहार गर्दै दोस्रो दिनको सुरूआत गरे । यसपछि तेस्रो देखि छैटौं होलमा लगातार ४ र नवौं होलमा पनि अर्को बर्डीको सफलता प्राप्त गरे ।
यसपछि ११औं देखि १५औं होलमा लगातार ५ बर्डी प्रहार गर्दा शुक्रको रेकर्ड बराबरी गरेका थिए । १६औं र १७औं होलमा पार जोगाए । १८औं होलको बर्डीले कोर्स रेकर्ड बनाउन सफल भएका हुन्। यो स्कोर उनको करियरको उत्कृष्ट प्रदर्शन हो । उनले गत बर्ष सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा ८-अन्डर ६४ को स्कोर निकालेका थिए ।
दोस्रो स्थानमा उक्लिएका सुमितले समग्रमा १०-अन्डर १ सय ३४ स्कोर गरे । उनले आज ८-अन्डर ६४ को स्कोर दर्ज गरे। पहिलो, दोस्रो, चौथों, छैटौं, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ६-अन्डर ३० मा सकाए । ब्याक नाइनमा पनि सुमितले ११औं, १२औं, १५औं र १८औं होलमा एक-एक सट बचाए। तर ४-पारको १४औं होलमा डबल बोगी खेप्न पुगे। ब्याक नाइन २–अन्डर ३४ मा पुरा गरे ।
नेपालका राहुल विश्वकर्मा समग्रमा ६-अन्डर १ सय ३८ सहित तेस्रो स्थानमा छन्। उनले आज ४-अन्डर ६८ को स्कोर कार्ड बनाए। फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन ३-अन्डर ३३ मा सकाए। तेस्रो, सातौं, १२औं, १४औं र १५औं होलमा बर्डी प्रहार गर्दा चौथों होलमा एक सट खेर फाले ।
समग्रमा ४-अन्डर १ सय ४० को स्कोरमा श्रीलंकाका रेशन अलगामा र बङ्गलादेशका मोहम्मद सहाब उद्दीन संयुक्तरुपमा चौथों स्थानमा छन् । आज रेशनले ४-अन्डर ६८ र सहाबले २-अन्डर ७० को स्कोर बनाए ।
समग्रमा २-ओभर १ सय ४६ को स्कोरमा भुटानका निम दोर्जी तामाङ र नेपालका टासी छिरिङ संयुक्तरुपमा सातौं स्थानमा रहे । दुवैले आज इभन-पार ७२ स्कोर गरे । यस्तै समग्रमा ४-ओभर १ सय ४८ सहित बङ्गलादेशका सफिकुल इस्लाम (७३) र नेपालका वाङ्गचेन ढोन्डुप (८०) सहित संयुक्तरुपमा नबौं स्थानमा छन् ।
महिलातर्फ भारतकी अनन्थी विवेक समग्रमा ३-अन्डर १ सय ४१ सहित भारतकै दिया क्रिस कुमारलाई १४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा कायमै रहेकी छिन् । आज अनन्थीले २–अन्डर ७० को स्कोरमा खेल सकाइन् ।
आज १-अन्डर ७१ को स्कोरमा दिया समग्रमा ११–ओभर १ सय ५५ सहित दोस्रो स्थानमा रहेकी छिन्। नेपालकी तारा कार्की चित्रकारले समग्रमा १९–ओभर १ सय ६३ सहित तेस्रो स्थानमा रहेकी छिन् । आज उनले ११–ओभर ८३ मा खेल पुरा गरिन् ।
च्याम्पियनसिपको यु–१६ ब्वाइजतर्फ भारतका भिभान उभायकर समग्रमा १–ओभर १ सय ४५ सहित ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । आज उनले १–अन्डर ७१ खेले ।
भारतका प्रिम्स बैंन्सला समग्रमा ५–ओभर १ सय ४९ सहित दोस्रो स्थानमा छन् । उनले आज २–ओभर ७४ को स्कोर निकाले । भारतकै अदभय बगला समग्रमा ८–ओभर १ सय ५२ सहित तेस्रो स्थानमा रहे। उनले आज ४–ओभर ७६ को स्कोर निकाले ।
समग्रमा ९–ओभर १ सय ५३ सहित नेपालका रुबेन थापा चौथों स्थानमा रहे। भारतका पिएस निलोफर तथा नेपालका डयानियल बाँनियाँ, सोहम अग्रवाल, दीपसन लामा र अभानी राईले कट बनाएका छन्।
तीन दिने ५४–होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागीता रहेको छ। यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ ¥याकिङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले ¥याकिङ अंक समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्: