
काठमाडौं बैशाख १६, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवर्तनमा जनयुद्धका शहीदको सबैभन्दा ठूलो बलिदान रहेको भन्दै शहीदका सपना र शहीद परिवारका पीडा नभुलेको बताएका छन् ।
जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी डिपोबजारमा शहीद परिवारजनहरूसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।
राजनीतिक परिवर्तनमा जनयुद्धका शहीदको सबैभन्दा ठूलो बलिदान रहेको बताएका प्रचण्डले उनीहरूले देखेका सपना पूरा गर्न प्रयास गरिरहने बताए ।
‘जनयुद्धमा समर्पित परिवारको योगदानको मलाई सँधै स्मरण हुने गर्छ । तपाईंहरूका पीडा बिर्सेका छैनौं, बिर्सने पनि छैनौं,’ ‘बीचमा हामी केही बिग्रियौं कि भन्ने आत्मसमीक्षा पनि त्यसको प्रमाण हो,’ उनले भने ।
त्यसक्रममा शहीद परिवारको तर्फबाट प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको थियो । त्यसलाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै प्रचण्डले भने, ‘समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौं, नसके केन्द्रमा पु¥याएर अगाडि बढाउनेछौं ।’
केन्द्रीय समितिको पछिल्लो पूर्ण बैठकको निर्णयअनुसार देशभर शहीद तथा बेपत्ता परिवारहरूसँग पार्टीले संवाद गरिरहेको भन्दै उनले आफू प्रधानमन्त्री भएका बेला शहीद र शहीद परिवारको पक्षमा काम गरेको चर्चा पनि गरे ।
‘प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरिएको थियो, जुन शहीद, वेपत्ता र योगदान दिने सबैको सम्मानको विषय हो,’ उनले भने, ‘अदालतको आदेशका कारण त्यो प्रक्रिया रोकिए पनि पार्टीले त्यसलाई राष्ट्रिय दिवसकै रूपमा मनाउने गरेको छ ।’
प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, सिफारिस समिति बनेको र त्यसको आधारमा आयोग बन्ने प्रक्रियाले गति लिएको जानकारी दिए ।
‘आयोग बनेपछि राज्यले शहीद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, स्मृति पार्क निर्माण गर्ने, प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिनेछ । साथै, परिवारका कम्तीमा एक जना सदस्यलाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्: