जलवायु सङ्कटविरुद्ध नेपाल र भानुआटु मिलेर अघि बढ्ने

२०८३ मंसिर ५

काठमाडौं । नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर कम गर्न तथा हिमाल र समुद्री क्षेत्रको संरक्षणका लागि आपसी सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन्। दुवै देशले जलवायु परिवर्तनबाट हुने क्षति र नोक्सानीको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त रूपमा उठाउने विषयमा पनि छलफल गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा नेपालका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र भानुआटुका जलवायु परिवर्तनमन्त्री राल्फ रेगेनभानुबीच भएको भेटवार्तामा यस्तो सहमति र छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री चौधरीले नेपाल र भानुआटु दुवै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देश भएको उल्लेख गर्दै हिमाल र महासागरको संरक्षणका लागि साझा आवाज उठाउनुपर्ने बताइन्। उनले ‘सगरमाथादेखि समुद्रसम्म’ भन्ने अवधारणामार्फत हिमाली देश र टापु राष्ट्रले भोगिरहेका जलवायु सङ्कटका विषयलाई एउटै साझा एजेन्डाका रूपमा अघि बढाउन प्रस्ताव गरिन्।

हिमालमा हिउँ तथा हिमनदी पग्लिने र समुद्रको सतह बढ्ने समस्या एकअर्कासँग जोडिएको उल्लेख गर्दै उहाँले यी विषयलाई जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। साथै, नेपालमा हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिबारे जानकारी गराउँदै विपद्पछि भानुआटुले देखाएको ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरिन्।

नेपालले कोप–३१ का मुख्य निर्णयमा हिमालसम्बन्धी विषय समेट्न भानुआटुको समर्थनसमेत मागेको छ। दुवै देशले जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानीको उचित सम्बोधन, जलवायु अनुकूलन र जलवायु न्यायका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य बढाउनेबारे छलफल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: