ललितपुरका तीनजना नासु र दुई लेखापढी व्यवसायी घुस सहित रंगेहात पक्राउ

२०८३ श्रावण १७

काठमाडौं । भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका तीन जना नायब सुब्बा र दुई जना लेखापढी व्यवसायी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई सेवाग्राहीबाट घुसबापत तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट साउन १५ गते नियन्त्रणमा लिइएको हो ।

अख्तियारको टोलीले उनीहरूको साथबाट घुसबापत लिएको तीन लाख रुपैयाँसहित स्रोत नखुलेको थप २४ हजार ८९० रुपैयाँ समेत बरामद गरेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: