काठमाडौं । महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिमा आर्थिक वर्ष २०६८/०६९ को बाल संरक्षण भत्ता वितरणका क्रममा ३ लाख ७ हजार २०० रुपैयाँ घोटाला गरेको आरोपमा तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ताका लागि निकासा भएको ३ लाख ७ हजार २०० रुपैयाँ वास्तविक लाभग्राहीलाई वितरण नगरी नक्कली भरपाई तयार गरेर हिनामिना गरिएको अनुसन्धानबाट खुलेको हो ।
अनुसन्धानका क्रममा भत्ता वितरण गरेको देखाउन भरपाईको सहीछाप महलमा प्रतिवादीहरूले आफैंले तथा लाभग्राही बाहेकका अन्य व्यक्तिबाट औँठाछाप गराई नक्कली कागजात तयार गरेको प्रयोगशाला परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार तत्कालीन भरतपुर गाविसका कार्यालय सहायक उमाकान्त महतोले तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय महोत्तरीका सहायक लेखापाल सुरुज साहसँग मिलेमतो गरी सरकारी रकम हिनामिना गरेका हुन् । उनीहरूले भत्ता सम्बन्धित लाभग्राहीलाई वितरण नगरी वितरण गरेको देखिने नक्कली भरपाई तयार गरी पेश्की फछ्र्यौट गराएर ३ लाख ७ हजार २०० रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।
यस प्रकरणमा तत्कालीन भरतपुर गाविसका सचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक हाल गौशाला नगरपालिका–४ का वडा सचिव उमाकान्त महतो तथा तत्कालीन जिल्ला विकास समितिको कार्यालय महोत्तरीका सहायक लेखापाल हाल भंगाहा नगरपालिकामा अधिकृत (छैटौँ) पदमा कार्यरत सुरुज साहलाई प्रतिवादी बनाइएको छ ।
आयोगले उनीहरूमाथि जनही ३ लाख ७ हजार २०० रुपैयाँ बिगो कायम गर्न, सोही बराबर जरिवाना, बिगो असुलउपर तथा कानुनबमोजिम कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: