पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध झण्डै २ करोड घुस र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

२०८३ श्रावण ५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरुद्ध घुस लिएको र त्यसबाट आर्जित रकम सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार अधिकारीले प्राधिकरणअन्तर्गतका ठेक्काको स्वीकृति, रेखदेख, भुक्तानी तथा सहजीकरणका क्रममा आफ्नो पदको दुरुपयोग गर्दै ठेकेदार कम्पनीबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

उक्त रकम लुकाउन अधिकारीले आफ्नी श्रीमतीको नाममा ललितपुर महानगरपालिका–५ स्थित १३ आना जग्गा खरिद गरेका थिए । जग्गाको राजीनामा लिखतमा ९१ लाख रुपैयाँ मात्रै देखाएर वास्तविक कारोबारको स्रोत लुकाउने प्रयास गरिएको तथा बाँकी रकम ठेकेदार कम्पनी र त्यससँग सम्बन्धित व्यक्तिहरूको खाताबाट विक्रेतालाई भुक्तानी गरिएको आयोगको आरोप छ ।

यस प्रकरणमा गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल लाई पनि घुस दिएको र सम्पत्ति शुद्धीकरणमा सहयोग तथा सहजीकरण गरेको अभियोग लगाइएको छ ।

अख्तियारले प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गर्दै १ करोड ७१ लाख रुपैयाँ बिगो, सोही बराबर जरिबाना, कैद तथा ललितपुरस्थित जग्गा जफत गर्न माग गरेको छ ।

त्यस्तै प्रेम प्रकाश ढकाल र गायत्री निर्माण सेवाविरुद्ध पनि समान बिगो कायम गरी भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार कैद, जरिबाना र सम्बन्धित सम्पत्ति जफतको मागदाबी गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: