काठमाडौं । नेपाल सरकार, चीन सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को साझेदारीमा ‘स्ट्रेन्थेनिङ एग्रिफुड सिस्टम्स इन नेपाल’ परियोजना औपचारिक रूपमा आरम्भ गरिएको छ। २४ महिनासम्म सञ्चालन हुने यस परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि प्रवद्र्धन, ग्रामीण जीविकोपार्जन सुधार तथा खाद्य र पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य लिएको छ।
चीनको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेसन फन्डको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु–स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने जनाइएको छ।
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङ, एफएओका नेपाल प्रतिनिधि केन शिमिजु, एफएओ पिएसटीकी निर्देशिका हुआ याङलगायत उच्च अधिकारी, संघीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, किसान संगठन र सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा मन्त्री चौधरीले परियोजनाले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। चिनियाँ राजदूत झाङले कृषि आधुनिकीकरण तथा दिगो विकास लक्ष्य हासिल गर्न चीनको सहयोग निरन्तर रहने बताए। एफएओ पिएसटीकी निर्देशिका हुआ याङले यो परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण–दक्षिण सहकार्यको सफल नमुना बन्ने विश्वास व्यक्त गरे।
परियोजना काभ्रेपलाञ्चोक र इलाम जिल्लामा कार्यान्वयन गरिनेछ। यसअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसमसम्बन्धी सूचना, वित्तीय सेवा, कृषि बीमा तथा बजार जानकारी उपलब्ध गराइनेछ। साथै महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता अभिवृद्धि, स्थानीय संस्थाको क्षमता विकास तथा जलवायु अनुकूलन क्षमता सुदृढ पार्ने कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्: