काठमाडौं । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता दिलाएको आरोपमा दुई जना कर्मचारीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं तहका संजय कुमार पाण्डेय, अपाङ्ग शाखाका तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट र सेवाग्राही महेन्द्र राउत कुर्मीको मिलेमतोमा सरकारी अभिलेख सच्याई गैरकानुनी रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको थियो।
अनुसन्धानबाट महेन्द्र राउत कुर्मीको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा पोखरिया नगरपालिकाको अपाङ्गता समन्वय समितिले २०७८ असोज ११ गतेको निर्णयअनुसार उनलाई ‘वाई (ग)’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरेको पुष्टि भएको छ। यो वर्गका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छैन।
तर उक्त परिचयपत्रको अभिलेखमा रहेको ‘वाई (ग)’ वर्गलाई जानीजानी सच्याएर ‘रेड (क)’ वर्ग बनाइएको अख्तियारले जनाएको छ। ‘रेड (क)’ वर्ग सामाजिक सुरक्षा भत्ता पाउने श्रेणी भएकाले सोही आधारमा महेन्द्र राउत कुर्मीले १ लाख ९१ हजार ५२० रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा अनुसार सरकारी अभिलेख किर्ते गरी गलत परिचयपत्र तयार गर्ने, प्रमाणित गर्ने तथा त्यसकै आधारमा सरकारी रकम भुक्तानी गराउने कार्यमा कर्मचारी र सेवाग्राहीको मिलेमतो रहेको खुलेको छ।
यस प्रकरणमा अख्तियारले तत्कालीन अधिकृत संजय कुमार पाण्डेय र अपाङ्ग शाखाका कर्मचारी अम्बिका महतो खुलवट विरुद्ध सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको, सरकारी कागजात किर्ते गरेको तथा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
त्यस्तै सेवाग्राही महेन्द्र राउत कुर्मीलाई भ्रष्टाचारजन्य कार्यमा मतियार भई गैरकानुनी लाभ लिएको अभियोगमा मुख्य कसुरदारसरह सजायको माग गरिएको छ। आयोगले तीनै जनाविरुद्ध १ लाख ९१ हजार ५२० रुपैयाँ बिगो कायम गरी बिगो असुलउपर, जरिवाना तथा कैद सजायको माग गर्दै मुद्दा चलाएको हो।

प्रतिक्रिया दिनुहोस्: