साजगोठेरी सामुदायिक वनमा भ्रष्टाचार, तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध मुद्दा

२०८३ असार १

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले गरेको अनुसन्धानबाट सामुदायिक वनको काठ बिक्री, चिरानी खर्च, वनहेरालुको तलब, घरभाडा तथा अन्य शीर्षकमा झुट्टा विवरण तयार गरी कुल ७ लाख १५ हजार ९१६ रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्ष निकालेपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मुद्दा दायर गरिएका व्यक्तिमा तत्कालीन अध्यक्ष लोक बहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढा रहेका छन्। आयोगका अनुसार उनीहरूले आपसी मिलेमतोमा सामुदायिक वनको रकम भ्रष्टाचार गरेको खुलेको छ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७७/७८ मा कटान अनुमति लिई आर्थिक वर्ष २०७८/७९ मा चिरान गरिएको काठ बिक्रीबाट प्राप्त हुनुपर्ने रकमभन्दा ९५ हजार ११८ रुपैयाँ कम आम्दानी भएको देखाएर रकम हिनामिना गरिएको पाइएको छ। त्यसैगरी काठ चिरानी खर्च वास्तविकभन्दा धेरै देखाइएको खुलेको छ। लेखापरीक्षण प्रतिवेदनमा ४ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिए पनि वास्तविक खर्चको तुलनामा ३ लाख ६६ हजार ९१६ रुपैयाँ बढी रकम खर्च भएको देखाइएको आयोगको निष्कर्ष छ।

यस्तै दुई आर्थिक वर्षमा वनहेरालुलाई २ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको विवरण पेश गरिएको थियो। तर अनुसन्धानका क्रममा वनहेरालुले वास्तविक रूपमा १ लाख ३० हजार रुपैयाँ मात्र पाएको भेटिएपछि ९० हजार रुपैयाँ बराबरको झुट्टा भरपाई बनाइएको पुष्टि भएको छ। आयोगका अनुसार सामुदायिक वनको विधान संशोधनका लागि काठमाडौं जाँदा तत्कालीन अध्यक्ष लोक बहादुर महताराले १ लाख २० हजार रुपैयाँ लिएको देखिए पनि उक्त रकम कहाँ र कुन शीर्षकमा खर्च गरियो भन्ने कुनै आधार वा विवरण समेत प्रस्तुत गर्न सकेका छैनन्।

यसैगरी लेखापरीक्षण प्रतिवेदनमा घरभाडा वापत ५२ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएकोमा घरधनीले हालसम्म ८ हजार रुपैयाँ मात्र प्राप्त गरेको बयान दिएका छन्। बाँकी ४४ हजार रुपैयाँका लागि झुट्टा बिल तथा भरपाई तयार गरिएको आयोगको दाबी छ। आयोगले तीनै जना पदाधिकारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गर्दै हिनामिना भएको रकम बराबरको बिगो असुल गर्न, सोही बराबर जरिवाना गर्न तथा कैद सजायको माग सहित आज सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्: