भारतीय कडाइका कारण इलामका ५३ चिया उद्योग बन्द हुने अवस्थामा

२०८३ जेष्ठ ३१

काठमाडौं । भारतले नेपाली चिया आयातमा नयाँ नियम लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगहरू समस्यामा परेका छन्। चिया निर्यातमा अवरोध आएपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनमा आबद्ध ५३ वटा उद्योगले असार १ गतेदेखि उत्पादन बन्द गर्ने निर्णय गरेका छन्।

उद्योगीहरूका अनुसार भारतमा तीन लाख किलोभन्दा बढी नेपाली चिया परीक्षण प्रक्रियामा रोकिएको छ भने उद्योगहरूमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। गोदाम भरिएपछि नयाँ उत्पादन राख्ने ठाउँ नभएकाले नियमित प्रशोधन रोक्नुपर्ने अवस्था सिर्जना भएको हो।

किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन नसक्दा उद्योगहरू आर्थिक दबाबमा परेका छन्। उत्पादन बिक्री नभए पनि किसानको भुक्तानी गर्नुपर्ने भएकाले उद्योग सञ्चालन गर्न कठिन भएको व्यवसायीहरूको भनाइ छ।

भारतले मे १, २०२६ देखि लागू गरेको नयाँ व्यवस्थाअनुसार प्रत्येक चियाको ढुवानी अलग–अलग परीक्षण गर्नुपर्छ। परीक्षणको प्रतिवेदन आउन लामो समय लाग्ने र प्रतिवेदन नआएसम्म बिक्री गर्न नपाइने नियमले निर्यात प्रक्रिया सुस्त बनेको उद्योगीहरूले बताएका छन्।

हाल भारतीय बजारका विभिन्न गोदाममा पुगेका नेपाली चियाका खेपहरू परीक्षणको प्रतीक्षामा रोकिएका छन्। लामो समयसम्म चिया गोदाममै थन्किँदा यसको गुणस्तरमा असर पर्ने चिन्ता पनि बढेको छ।

सूर्योदय क्षेत्रमा मात्रै करिब तीन हजार किसान चिया खेतीमा निर्भर छन्। उद्योग बन्द भएमा हजारौँ किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने र उनीहरूको जीविकोपार्जन संकटमा पर्ने सम्भावना देखिएको छ।

स्थानीय तहले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न संघीय सरकारमार्फत भारतसँग कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औँल्याएको छ। समस्या लामो समयसम्म कायम रहे ठूलो आर्थिक क्षति हुने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्: