काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्रोत नखुलेको नगद रकम तथा करिब तीन करोड रुपैयाँ बराबरका सुनचाँदीका गरगहना सहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्दै आएका अन्दाजी ६३ वर्षीय श्याम सुन्दर अग्रवाल ९बालाजी० रहेका छन्।
प्रहरीका अनुसार जेठ १८ गते अपराह्न वीरेन्द्रनगर–६ स्थित तल्लो बजारमा रहेको ‘शिव इम्पोरियम’ नामक कपडा पसलमा भारतीय रुपैयाँ तथा गरगहना धितो राखी ब्याजमा नगद ऋण दिने गरेको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले छापा मारी अग्रवाललाई नियन्त्रणमा लिएको हो।
पसलमा गरिएको खानतलासीका क्रममा विभिन्न दरका २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ, ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ तथा विभिन्न किसिमका सुन र चाँदीका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ। बट्टा, पोका र डिब्बामा राखिएका १८५ थान गरगहनाको अनुमानित मूल्य करिब तीन करोड रुपैयाँ रहेको बताइएको छ।
त्यसैगरी, घटनास्थलबाट पैसा गन्ने मेसिन समेत बरामद गरिएको छ। बरामद नगद तथा गरगहनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: