काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्। उनी भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म भारतमा रहने कार्यक्रम रहेको छ।
रास्वपाले जारी गरेको जानकारीअनुसार भ्रमणका क्रममा लामिछानेले भारतको नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्। भाजपा नेतृत्वसँग पनि उनको भेटघाट तथा छलफल हुने बताइएको छ।
भारत भ्रमणका अवसरमा लामिछानेले त्यहाँ रहेका नेपाली समुदायका सदस्य तथा पार्टीका शुभेच्छुकहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम छ। साथै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्या क्षेत्रको भ्रमण पनि उनको कार्यतालिकामा समावेश गरिएको छ।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि सहभागी हुनेछन्।
पार्टीका अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका विभिन्न भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हिजो दिएको सीमासम्बन्धी अभिव्यक्ति चर्काे विवादमा परिरहेको बेला लामिछाने भारत भ्रमणमा जान लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्: