भारतबाट ४५३ नेपालीको उद्धार, गैरकानूनी काममा प्रयोग गरिएको आशंका

२०८३ जेष्ठ १७

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा ४५३ जना नेपाली नागरिकको उद्धार गरी नेपाल ल्याएर अनुसन्धान अघि बढाइएको छ।

उनीहरूलाई शनिबार बेलहिया नाका हुँदै नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखेर अनुसन्धान शुरू गरिएको हो। अनुसन्धानपछि वास्तविक पीडित र अवैध नेटवर्क सञ्चालनमा संलग्न पहिचान गरी कारवाही अघि बढाइने तयारी प्रहरीले गरेको छ।

उनीहरूलाई भारतस्थित नेपाली दूतावास र उत्तर प्रदेश प्रहरी, कुशीनगर प्रहरी र लुम्बिनी प्रदेश प्रहरीसँग समन्वय गरी उद्धार गरिएको हो। अनुसन्धानमा पीडित र सञ्चालनकर्तामध्ये अधिकांश नेपाली रहेको खुलेको छ। उनीहरूलाई एउटै कोठामा १५ देखि १६ जनासम्म राखिएको र न्यूनतम मानवीय सुविधा समेत नदिइएको पाइएको छ।

प्रारम्भिक अनुसन्धानमा पीडितलाई आकर्षक रोजगारी र तलबको प्रलोभन पारेर कुशीनगर पुर्याएर विभिन्न यातना दिएर गैरकानूनी काममा लगाइएको खुलेको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्: