फेसबुक–टिकटक मोनिटाइजेसनको नाममा ठगी बढ्दो, सचेत रहन साइबर ब्यूरोको आग्रह

२०८३ जेष्ठ १५

काठमाडौं । साइबर ब्यूरोले फेसबुक र टिकटक मोनिटाइजेसन गरिदिने भन्दै सामाजिक सञ्जालमा फैलिएका विज्ञापन तथा प्रस्तावप्रति सावधान रहन आग्रह गरेको छ। पछिल्लो समय कम शुल्कमा मोनिटाइजेसन गराइदिने नाममा ठगी बढ्न थालेपछि ब्यूरोले चेतावनी दिएको हो।

ब्यूरोका अनुसार ह्याकर तथा अनधिकृत व्यक्तिहरूले फेसबुक भेरिफिकेसन, सपोर्ट वा मोनिटाइजेसन सहयोगको बहाना बनाएर प्रयोगकर्तालाई फिसिङ लिङ्क पठाउने गरेका छन्। त्यसपछि ओटीपी, पासवर्ड तथा अन्य गोप्य विवरण मागेर सामाजिक सञ्जालका पेज र च्यानल कब्जा गर्ने घटना बढ्दै गएको छ।

यस्ता घटनाबाट धेरै प्रयोगकर्ताले आर्थिक र व्यक्तिगत दुवै प्रकारको क्षति बेहोर्नुपरेको साइबर ब्यूरोले जनाएको छ। ब्यूरोले मोनिटाइजेसनसम्बन्धी सबै प्रक्रिया आधिकारिक माध्यमबाट मात्रै गर्नुपर्ने स्पष्ट पारेको छ। फेसबुकका लागि मेटा बिजनेस र युट्युबका लागि युट्युब स्टुडियोजस्ता आधिकारिक प्लेटफर्म प्रयोग गर्न सुझाव दिइएको छ।

साथै कुनै पनि आधिकारिक कम्पनीले म्यासेज, फोन वा लिंकमार्फत पासवर्ड, ओटीपी वा रिकभरी कोड नमाग्ने भएकाले यस्ता विवरण माग्ने व्यक्ति वा विज्ञापनलाई शंकास्पद मान्नुपर्ने ब्यूरोको भनाइ छ। साइबर ब्यूरोले अपरिचित व्यक्ति वा आकर्षक विज्ञापनको भरमा आफ्नो ओटीपी, पासवर्ड वा अन्य संवेदनशील जानकारी कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्: