काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको भन्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा भएको बताएका छन्। १९औं गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ। यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ’ उनले भने, ‘यसले देशवासीलाई जोडेको छ र साझा राष्ट्र निर्माणको सङ्कल्पका लागि अभिप्रेरित गरेको छ।’
राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा जोगाउँदै यसलाई थप समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्य–मान्यता र आचरणमा सुधार आवश्यक रहेको बताए। उनले राजनीति, राज्य र राजकाजलाई नैतिकता तथा मूल्यमान्यताको सीमाभित्र राख्नुपर्नेमा जोड दिए।
उनले मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बलियो जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेको बताए।
राष्ट्रपति पौडेलले शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयनमार्फत सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारका लागि संरचनागत तथा कानुनी सुधार गरिने विश्वास व्यक्त गरे। उनले राजनीतिक व्यवस्था र शासकीय संरचनामा मात्र परिवर्तन भएर युगको अपेक्षा पूरा नहुने उल्लेख गर्दै राज्यसत्ता, राजनीतिक निष्ठा र आचरणमा समेत परिवर्तन आवश्यक रहेको बताए।
‘आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरू कोही होइन, ढिलासुस्ती, अनियमितता र बेथिति हो’ राष्ट्रपति पौडेलले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई यिनै बेथितिले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्छ।’
उनले प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्न नसकेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा नहुने धारणा राखे। नागरिकले सुशासनसहितको समृद्धि खोजेकाले उपलब्ध स्रोतको उच्चतम उपयोग आवश्यक रहेको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले राजनीतिक उपलब्धिले मात्र नागरिकको जीवनमा परिवर्तन ल्याउन नसक्ने भन्दै शासकीय चरित्र, राजनीतिक दल र नेतृत्वको व्यवहारमा सुधार आवश्यक रहेको बताए। ‘गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थालाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिला गर्न हुँदैन’ उनले भने।
उनले अब प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनम्रतासहित प्रयत्न गर्नुपर्नेमा जोड दिए। राजनीतिक दल, सरकार र नेतृत्व सृजनशील, जनउत्तरदायी, चरित्रवान तथा आचरणशील हुनुपर्ने उनको भनाइ थियो। राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रतासहित सामाजिक न्याय र विपन्न वर्गको उत्थानलाई केन्द्रमा राखेको बताए।
उनले लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था उल्लेख गर्दै नेपालको संविधानले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले यसलाई थप उन्नत बनाएको बताए। स्थानीय र प्रदेश सरकारले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए।
‘नागरिकको गुनासो शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार र उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ’ राष्ट्रपति पौडेलले भने, ‘यसले लोकतन्त्रको जरा बलियो बनाउँछ र लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित गरेको छ।’

प्रतिक्रिया दिनुहोस्: