काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण प्रक्रियामा त्रुटि र लापरवाही भएको आशंका उठ्न थालेको छ। नतिजा अपेक्षाअनुसार नआएको भन्दै ठूलो संख्यामा विद्यार्थीहरूले पुनर्योगका लागि आवेदन दिएपछि यस विषयमा प्रश्न उठेको हो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजामा असन्तुष्टि जनाउँदै ३३ हजार ८५१ विद्यार्थीले पुनर्योगको निवेदन दिएका छन्। यति ठूलो संख्यामा निवेदन पर्नुले परीक्षाफल मूल्यांकन प्रक्रियामाथि शंका उत्पन्न गराएको छ।
बोर्डले विद्यार्थीहरूको निवेदनका आधारमा सम्बन्धित उत्तरपुस्तिकाहरू खोज्ने प्रक्रिया अघि बढाएको जनाएको छ। साथै पुनर्योगपछि परिणाम सार्वजनिक गर्न केही समय लाग्ने पनि उल्लेख गरिएको छ।
आवश्यक परे विद्यार्थीलाई उत्तरपुस्तिका अवलोकन गर्ने व्यवस्था समेत मिलाइने जनाइएको छ। गत वैशाख २८ गते राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: