काठमाडौं । बेंगलुरुदेखि दिल्लीका लागि उडेको एयर इन्डियाको एआई–२८०२ नम्बरको विमानमा अवतरणको अन्तिम चरणमा इन्जिनमा आगो लागेको चेतावनी प्राप्त भएपछि बिहीबार राति नयाँ दिल्ली विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ ।
एयरबस ए–३२० जहाज स्थानीय समयअनुसार राति ९ः३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको रनवे २९आरमा सुरक्षित रूपमा अवतरण गरिएको थियो । विमानमा रहेका करिब १८० जना यात्रु तथा चालक दलका सदस्यलाई सबैलाई सकुशल बाहिर निकालिएको छ ।
अवतरणको अन्तिम तयारी भइरहेका बेला ककपिटमा इन्जिनमा आगलागी भएको संकेत देखिएपछि पाइलटहरूले तुरुन्तै पूर्ण आपतकालीन अवस्था घोषणा गरेका थिए । प्रारम्भिक विवरणअनुसार उक्त चेतावनी सामान्य प्राविधिक त्रुटिभन्दा गम्भीर प्रकृतिको हुनसक्ने अनुमान गरिएको थियो ।
पाइलटहरूले आपतकालीन अवस्थासम्बन्धी सबै सुरक्षा प्रक्रिया पालना गर्दै विमानलाई सुरक्षित अवतरण गराएका थिए । अवतरणलगत्तै उद्धार तथा दमकल टोली रनवेमा परिचालन गरिएको थियो भने विमानस्थलको सञ्चालन केही समय प्रभावित बनेको थियो ।
घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले औपचारिक अनुसन्धान सुरु गरेको छ । एयर इन्डियाले पनि नियामक निकायसँग समन्वय गरेर आन्तरिक छानबिन अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: