काठमाडौं । सरकारले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार सार्वजनिक यातायातको अव्यवस्थित सञ्चालनका कारण सडकमा सवारी चाप अत्यधिक बढेको, ट्राफिक जाम जटिल बन्दै गएको तथा वायु प्रदूषणमा वृद्धि भएको निष्कर्ष सहित दर्ता राक्का गरिएको हो।
मन्त्रालयले पछिल्लो समय इन्धनको मूल्य निरन्तर बढिरहेकाले सार्वजनिक यातायात क्षेत्र थप दबाबमा परेको उल्लेख गर्दै यातायात प्रणालीलाई वैज्ञानिक र सन्तुलित ढंगले व्यवस्थापन गर्न हाललाई नयाँ सार्वजनिक सवारीको दर्ता रोक्का गरिएको बताएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले सार्वजनिक हितका लागि आवश्यक परे सवारी साधनको दर्ता रोक्न सक्ने अधिकार दिएको भन्दै सोही कानुनी व्यवस्था अनुसार निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
सरकारले अर्को सूचना जारी नभएसम्म मन्त्रालय मातहतका कार्यालय तथा स्थानीय तहबाट सार्वजनिक सवारी साधनको नयाँ दर्ता नगर्न निर्देशन दिएको छ। मन्त्रालयले यो व्यवस्था विद्युतीय सार्वजनिक सवारी साधनमा समेत समान रूपमा लागू हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: