काठमाडौं असोज १३, केही शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरसहित केही स्थानमा छापा मारेको छ ।
आइतबार दिउँसो उपत्यकाका विभिन्न ४/५ वटा ठाउँमा सीआईबीले छापामा मारेको हो । सीआईबीका एआईजी मनोज केसीका अनुसार, अनुसन्धानका केही सूचनाहरू पाइएपछि केही घरमा खानतलासी गरिएको हो ।
सो क्रममा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइसमेत रहेका राणाको घरमा पनि छापा मारेको हो ।
‘हिजो हामीले ४–५ वटा ठाउँमा छापा मारेका थियौं । केही भेटिने सूचना पाएपछि छापा मारिएको हो,’ केसीले भने । कुन कुन ठाउँमा छापा मारेको भन्ने सबै प्रहरीले खुलाएको छैन ।
तर, अनुसन्धानकै विषय रहेकाले के के बरामद भएको भन्ने खुलाउन नमिल्ने एक प्रहरी अधिकारी बताउँछन् ।
निवर्तमान परराष्ट्रमन्त्री राणाले गर्ने धेरैजसो डिलमा भाइ भूषणले डिल गर्ने गरेका थिए । उनी प्रतिनिधिका रुपमा खटिने गरेको सूचना प्रहरीले पाएको थियो ।
यसअघि पनि भूषण विभिन्न ठेक्कापट्टाका विषयमा विवादमा तानिँदै आएका थिए ।
गत २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देउवा निवास बुढानीलकण्ठमा आगजनी भएको थियो । आगजनीका क्रममा देउवाको घरबाट जलेका नोटहरू फेला परेकोबारे सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहात राखेको यो विभाग वर्तमान सरकारले मन्त्रालयमै फर्काइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्: