जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल

२०८२ आश्विन ६

काठमाडौं असोज ६, सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘खरानी र धुलो टकटक्याउँदै अब हामी जनतालाई अनुभूत हुनेगरी केही पक्कै गर्छौं । यो सरकारमा रहेका हामी जति पनि मन्त्रीहरू छौं, हामीले देश पहिला, जनता पहिला अनिमात्रै अरु कुरा आउँछ । देश र जनता बनाउने कुरामा अघि बढ्छौं,’ खरेलले भने ।
कर्मचारीतन्त्र स्वतन्त्र भएको खण्डमा धेरै काम गर्न सकिने उनको भनाई थियो ।
‘स्वतन्त्र बनियो भने, कुनै नेताको गोटी बन्न परेन भने, नेपालको ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक कर्मचारी दख्खल राख्छन् । लोकसेवा त्यतिकै पास गरेको हुँदैन,’ उनले भने ।
एउटा मन्त्री मात्रै भएर काम गर्न नसकिने भन्दै उनले कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।
‘सचिवज्यू तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ । काम अघि बढाउनुस् । मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन । म तपाईंबाट सिक्छु,’ उनले भने, ‘म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु । मलाई विश्वास छ होइन, विश्वास गर्न चाहन्छु । म हस्तक्षेप गर्दिनँ यो मेरो प्रतिवद्धता हो ।’
सञ्चारमन्त्री खरेलले उनको पहिलो निर्णय ः ५ महिना भित्र १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरको छ ।
पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।
निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्: