मतदाता नामावलीमा नाम नभएका युवालाई पनि समेटिने

२०८२ आश्विन २

काठमाडौं असोज २, मतदाता नामावलीमा नाम नभएका युवालाई पनि समेटिने सो निर्वाचनमा उमेर पुगिसकेका तर मतदाता नामावलीमा नाम समावेश नभएका युवाहरूलाई सहभागी गराउन पनि कानुनमा सुधार गर्ने गृहमन्त्री अर्यालले बताए ।

‘अध्यादेशबाट कानुन संशोधन गरेर भए पनि सबैलाई अवसर प्रदान गर्नुपर्छ,’ उनले भने, ‘जुन नयाँ पुस्ताका साथीहरू हुनुहुन्छ, जसको नाम मतदाता नामावलीमा समावेश भएको छैन, उमेर पुगेर पनि नाम समावेश हुनबाट बञ्चित हुनुहुन्छ, उहाँहरूको लागि कानुनमा सुधार गरेर फेरि मतदाता नामावली अध्यावधिक गर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने एउटा त्यो निष्कर्ष रह्यो ।’
यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गराउन सम्भव भएको तर कानुनमा केही संशोधन आवश्यक रहेको जानकारी गराएका थिए ।
गृहमन्त्री अर्यालसँगको छलफलपछि निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचनको तयारी आयोगले सुरु गरिसकेको बताए । विभिन्न चरणमा तयारी गर्नुपर्ने भएकाले अहिले आवश्यक स्रोत साधन र जनशक्ति कति छ भनेर लेखाजोखा गर्ने काम गरिरहेको उनले बताए ।
अहिलेसम्मको तयारी मौजुदा कानुन अनुसार नै भएको भन्दै उनले यदि सरकारले आयोगसँगको सल्लाहमा सम्भाव्य विकल्प ल्याएमा त्यसलाई आयोगले कार्यान्वयन गर्ने बताए । ‘अहिले हुन लागेको निर्वाचन मुलतः मौजुदा कानुन अन्तर्गत हो,’ प्रवक्ता भट्टराईले भने, ‘नेपाल सरकारले सरसल्लाह गरेर सम्भाव्य केही विकल्पहरू निकाल्यो भने त्यो चाहिँ निर्वाचन आयोगले कार्यान्वयन गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्: