काठमाडौं असोज २, भदौ २४, को आगजनीपछि सर्वोच्च अदालतले ९ दिनपछि त्रिपालमा इजलास राखेर न्यायिक कामकारबाही सुरु गरेको छ ।
सर्वोच्च अदालतले आगजनीले क्षति पुगेपछि अहिले बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक मुद्दाको सुनुवाइ मात्र गर्न सक्ने जनाएको छ ।
आगजनीले गर्दा अदालतका सबैजसो फाइलहरू जलेका छन् ।
२ असोज, काठमाडौं । बिहान साढे ११ बजे, घाम चर्किंदै थियो । गएरातिको झरीले भुईंमा पानीको आहाल बनेको थियो । आगजनीपछिको धुलो र पानी मिसिँदा कालो हिलोको नराम्रो गन्ध पालभित्र फैलियो ।
ण्अदालतका कर्मचारीहरूले अगाडी एउटा कुर्सी र टेबल, छेवैमा अर्को सानो कुर्सी र टेबुल अनि ठिक सामुन्ने एउटा कुर्सी र टेबुल राखेका थिए । पछाडीपट्टि लहरै तीनवटा बेञ्च मिलाएर राखिएको थियो ।
२४ भदौको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही शुरु भएको हो । आगजनीबाट बचेका केही कुर्सी र टेबुलहरू र एउटा त्रिपालको जोहो गरेर सर्वोच्च अदालतले खुला आकाशमा खडा गरिएको पालभित्र इजलास चलाएको हो ।
सामग्रीहरू जसरी जोरजाम गरिएको थियो कि त्यही बेला बेसरी पानी परेको भए इजलासमा रहेका न्यायाधीश र कागजात नै झरी र बाछिटाले भिज्ने अवस्था थियो । आधाजस्तो ह्वाङ्ग बनेको इजलासमा दुईतिरबाट खटिएका सुरक्षाकर्मीहरूले जसोतसो सुरक्षा दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्: