एकजना शासकको अहंकारले शून्यमा पुग्यो देश

२०८२ भाद्र २६

काठमाडौं भाद्र २६, शासन सम्हाल्ने एक जना व्यक्तिको अहंका कारण कुनै देश कसरी बर्बाद हुन्छ भन्ने अब अहिलेको पुस्ताले इतिहास पढ्नु परेन । संसारका अन्य कुनै मुलुकका खबर अब हेर्नु देख्नु परेन । आँखै अगाडी हिजो भदौ २३ र आज २४ दुई दिनमा नेपालका सबै शासकीय संरचना ढलेर शून्यमा पुगेका छन् । खरानी भएका छन् ।
राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचना जलेर नस्ट भएका छन् । नेपालका इतिहासदेखिका शासकीय संरचनाका सबै अभिलेखहरु धुँवा बनेर उडेका छन् ।
नेपाली समाजले आजसम्म नभोगेको नदेखेको विभत्स घटना भएको छ । जसका कारण सर्वत्र स्तब्ध छ ।
प्रदर्शनकारीहरूबाट मुख्य रुपमा सरकारी भवन, पार्टीका कार्यालय, नेताका निवास, विवादित व्यापारीका सम्पत्तिदेखि मिडियाका कार्यालयहरुमा समेत आगजनी भएको छ । नेताहरुमाथि भौतिक आक्रमण भएको छ । जुन यसअघि कहिल्यै देखिएको थिएन ।
सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिएका युवाहरुले सँगसँगै भ्रष्टाचार र अव्यवस्थाबारे पनि चर्को प्रश्न उठाएका थिए । त्यसको वेवास्ता गर्दै सरकारले दमन गर्दा सोमबार एकै दिन १९ जनाको मृत्यु भएको थियो । अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु भइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए दम्भ र अहंकार पोख्दै बसिराखेपछि मंगलबार बिहानैबाट स्थिति नियन्त्रण बाहिर गएको थियो । आन्दोलनकारीहरुले नेताका घर र व्यक्ति लक्षित आक्रमण गरेका थिए । जसका कारण राष्ट्रले अपूरणीय क्षति ब्योहोर्नु परेको छ ।
देशभर सडक र सबै सरकारी निकाय आन्दोनकारीको कब्जामा पुगेको छ । त्यसक्रममा सुरक्षाकर्मीहरुले जोगाउन सक्ने कुनै अवस्था नरहेपछि उनीहरुले आन्दोलनकारी लाई नै छोडिदिएका थिए ।

नेपाली सेना समेत सुरक्षामा खटिए पनि उसले आन्दोलनकारी रोकेन ।
स्थिति यति भयावह बनेको छ कि आगो लाग्दा निभाउनका लागि कुनै पनि दमकलहरु जान सकेका छैनन् । घाइतेहरु उठाएर लैजाने एम्बुलेन्सहरु उपलब्ध छैनन् ।
राजधानीमा मुख्य सरकारी अस्पतालहरुमा विरामी र घाइतेहरु भरिएका छन् । मानवीय र चिकित्सकीय प्रयोजनका लागि अत्यावश्यक सेवा दिन पनि समस्या हुने भन्दै सोमबार नै निजामती अस्पतालले अन्य अस्पतालहरुलाई आह्वान गरेको थियोे ।
राजधानी काठमाडौं बाहिर पनि सबैखालका सरकारी संरचना र नेता तथा पार्टीका कार्यालयहरुमा निशाना बनाए । यसले सबै तहका शासकीय संरचनाहरु आक्रमणको निशानमा परेको देखिएको छ ।
शासन सञ्चालन गर्ने मुलुकको कार्यकारीको मुख्य कार्यालय सिंहदरबार ध्वस्त भएको छ । यो नेपालको एउटा ऐतिहासिक धरोहर पनि थियो । प्रधानमन्त्रीको बालुवाटारस्थित निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । सुरक्षाका लागि प्रधानमन्त्रीलाई सुरक्षित स्थानमा सेनाले लगेको छ ।
राष्ट्र प्रमुख र नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल समेत भाग्नु पर्यो । राष्ट्रपति कार्यालय शीतल निवास आन्दोलनकारीको कब्जामा पुगेको छ । उक्त भवन ध्वस्त भएको छ । नेपाली सेनाले उनलाई पनि सुरक्षित स्थानमा राखेको छ ।
शासकीय संरचनामा वर्षौदेखि हाली मुहाली गर्ने नेताहरुलाई आन्दोलनकारीले मुख्य निशाना बनाएर आक्रमण गरेका थिए । यसका कारण धेरै नेताहरु घाइते भएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु देउवालाई उनकै निवास बुढानिलकण्ठमा आन्दोनकारीले भौतिक आक्रमण गरेका छन् । रगतपच्छे हुने गरी आक्रमणमा परेका दुवै जनलाई सुरक्षाकर्मीले घरको पर्खालमा भ¥याङ लगाएर बाहिर निकालेका थिए । उनीहरुमाथि शासन सञ्चालन गर्दा भएका भनिएका भ्रष्टाचार लगायतका विषयमा आन्‍दोलनकारीले प्रश्न उठाएका छन् ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटार निवासमा तोडफोड भएको छ । उनको चितवन निवासमा आगजनी भएको छ ।
को नेता, को सुरक्षाकर्मी र को आन्दोनलकारीमाथि कहाँ कसरी कस्तो–कस्तो आक्रमण भएको छ ? त्यसको एकिकृत अभिलेख समेत पाउने अवस्था छैन ।
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी चारवटा दलका नेता मुख्‍य निशानामा परेका देखिन्छन् । एमालेका सबै नेताहरु निशानमा छन् । कांग्रेसका महामन्त्री गगन थापादेखि मोहन बस्नेतसम्मका घरमा आगजनी र व्यक्तिगत रुपमा आक्रमण गरेका छन् ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित निवासमा आगजनी हुँदा उनीकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन् ।
आन्दोलनकारीको निशाना भौतिक संरचना केन्द्रित हुँदा विमानस्थलदेखि धार्मिक संरचनाहरु समेत सुरक्षित रहेका छैनन् । भैरहवा विमानस्थलमा आगजनी भएको छ । त्रिभूवन विमानस्थल बन्द छ ।

प्रतिक्रिया दिनुहोस्: