काठमाडौं, असार ३०,
केदारमान थाइल्यान्ड जाने
विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपको १२ औं संस्करणमा सहभागी हुन केदारमान स्थापित मंगलबार थाइल्यान्डको पटाया प्रस्थान गर्ने भएका छन् ।
असार ३२ देखि साउन ३ गतेसम्म हुने प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा दोश्रो काठमाडौं जेभियर पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा छन् ।
दुवै समूहको विजेताले ७ हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने काठमाडौं जेभियरका इसीए इन्चार्ज खड्ग केसीले जनाएका छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने काठमाडौं जेभियरका बास्केटबल प्रशिक्षक विकास बोटेले बताए । हाल जापानमा रहेका काठमाडौं जेभियरकै पूर्व विद्यार्थी सन्जिव मगरले पनि प्रायोजन गर्ने संस्थापक प्रिन्सिपल अधिकारीले बताए ।
प्रतियोगिताका खेलहरु नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजककै कोर्टमा खेलाइने छ । फाइनल बिहीबार हुनेछ ।
राजकुमारलाई स्वर्ण
नेपाली तेक्वान्दो खेलाडी राजकुमार दराईले युएनए वल्र्ड पिस तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । दक्षिण कोरियाको सिओलस्थित तेक्वान्दो मुख्यलय, कुकिवनमा भएको प्रतियोगितामा उनले पुरुष एकल पुम्सको ३०–३९ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन् ।
उपाध्यक्षमा चुनिए सिवाकोटी
राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका कोषाध्यक्ष तथा राष्ट्रिय पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटी दक्षिण एसियाली पारा खेलकुद महासंघको उपाध्यक्षमा चुनिएका छन् । भारतको बैंगलुरुमा असार २८ गते भएको सभाबाट सिवाकोटी उपाध्यक्षमा चुनिएका हुन् ।
काजल अमेरिका जाँदै
तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ मंगलबार अमेरिकाको क्यालिफोर्निया जाने भएकी छन् । जुलाइ १७ देखि १९ तारिखसम्म हुने वल्र्ड तेक्वान्दो हान्मादाङमा निर्णायकका रुपमा सहभागी हुन काजल अमेरिका जान लागेकी हुन् ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।
काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । २०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन् ।
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने
असार ३० गते सोमबार
काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिबार हुने भएको छ, जहाँ २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ ९फिडे० स्थापनाको शतबार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो, जहाँ १ सय खेलाडी सहभागि थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत् गिनिज वल्र्ड रेकर्ड्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रुपमा सञ्चालन गर्न लागिएको हो ।
हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार एकदिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा ६७ हजार रुपिया पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उनी भन्छिन्, ‘पहिलो संस्करणमा १ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि २ सय खेलाडी खेल्दैछन् । र, यो संख्याले नेपालमा सबभन्दा बढी खेलाडी सहभागि हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।’
नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र केसी भोटेबहाल युवा क्लबका पूर्वअध्यक्ष पनि हुन् । उनको ४४ वर्षको उमेरमा २०७७ जेठ २५ गते देहान्त भएको थियो । उनकी धर्मपत्नी वन्दना खड्काले भनिन्, ‘उहाँ बालबालिकालाई एकदमै माया गर्नुहुन्थ्यो । त्यसैले उहाँको स्मृतिमा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताले बालबालिकालाई अनुशासित बन्नेसँगै बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरेकी छु ।’
त्रिपुरेश्वरस्थित वोगनभिल्लामा हुने खुलातर्फका विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् । खुलातर्फ उत्कृष्ट १०, यू १५ मा शीर्ष ७ सहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा खुला, यू १५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७०० मुनि, १५०० मुनि, अनरेटेड, यू १३, यू ११, यू ९, यू ७ र बेस्ट एचसीए स्पर्धासमावेश गरिएको छ । उमेर समूह र बेस्ट एचसीएमा गल्र्स र ब्वाइजका दुवै स्पर्धामा राखिएको छ ।
२०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेमेडीले आयोजना गर्न लागेको आठौं वटा प्रतियोगिता हो राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको थियो ।
चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक वुधबार महिलालाई निशुल्क प्रशिक्षण दिइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
एकेडेमीले कमनवेल्थ च्याम्पियन रहेका भारतीय इन्टरनेसनल मास्टर ९आईएम० अतनु लहिरी ल्याएर खेलाडी र प्रशिक्षकलाई विशेष प्रशिक्षण पनि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: