‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने मूल नाराका साथ बीमा क्षेत्रमा केन्द्रीत भई समग्र आर्थिक क्षेत्र समेटेर शुरु गरिएको बीमापोष्ट डटकम आजबाट तीन वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको छ । स्थापनाको यति छोटो अवधीमा आम पाठकहरुको विश्वसनीय सञ्चार माध्यमको रुपमा नेपाली मिडिया जगतमा आफ्नो उपस्थिति दर्शाउन पाउँदा अत्यन्तै खुशी लागेको छ । साथै नेपाली बीमा जगतको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यम भई बीमित, बीमाकर्मी, बीमा कम्पनी र नियामक तथा सरकारको बीचमा सूचना सम्प्रेषण गर्ने पुल बनेको हामीले अनुभूति गरेका छौं ।
चौथो बार्षिकोत्सवको अवसरमा आम पाठक, बीमित तथा बीमा अभिकर्ता, बीमाकर्मी, नेपाल सरकार तथा नियामक निकाय अनि बीमा कम्पनीहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौं । यस अवधीमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरले सञ्चालन गरेको बीमापोष्ट डटकम स्थापनाको तीन वर्षको अवधीमा नेपालसहित विश्वभरबाट मासिक १५ लाख हाराहारी पाठक पुर्याउन सफल हुनु हाम्रो लागि गौरवको कुरा हो । बीमापोष्टमा प्रकाशित समाचारहरु पढिदिनुहुने, पढेर कमेन्ट गरिदिनुहुने तमाम पाठकहरुलाई नमन गर्न चाहन्छौं । यस अवधीमा बीमापोष्टलाई सञ्चालनमा सहज हुने गरी विज्ञापन दिई व्यापार प्रवद्र्धनमार्फत सहयोग गर्नुहुने सबै निकाय तथा कम्पनीहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
यस अवधीमा हामीले राष्ट्रिय अर्थतन्त्रको हितमा काम गर्ने र बीमाको दीगो विकास लक्ष्यका लागि संघर्षरत निर्भीक कलमको रुपमा आफ्नो परिचय गराउन सफल भएका छौं । बीमापोष्टले बीमा क्षेत्रको मात्रै नभएर नेपालको अर्थतन्त्रका कुना–कुनामा पुगेर सत्यतथ्य उजागर गर्न सफल भएको छ । देशका ठूला–ठूला भ्रष्टाचार काण्डहरुको उजागर गर्नेदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको पहरेदारको रुपमा आफूलाई उभ्याउन सफल भएको ठानेका छौं ।
नेपाली जनसाधारण र बीमितलाई बीमा अभिकर्ता, बीमा कम्पनी र नियामक निकाय नेपाल बीमा प्राधिकरण तथा नेपाल सरकारको बीचमा जोड्ने पुलको भूमिका खेल्नुपर्ने दायित्व बीमापोष्टले दृढतापूर्वक बहन गर्ने प्रतिवद्धता आजको दिनमा व्यक्त गर्न चाहन्छौं । देशमा बीमा व्यवसायको प्रवद्र्धन, सम्वद्र्धन, उत्थान, बीमाको दीगो विकास र पुनर्संरचनाका लागि राज्यको चौंथो अंगको रुपमा बीमापोष्टले सदैव बीमित र बीमा क्षेत्रको हितमा कलम चलाउने प्रतिवद्धता जाहेर गर्दछौं । साथै नेपालका गरीब वस्तीहरुमा बीमाको पहुँच पुर्याउन, बीमा साक्षरता फैलाउन र सिंहदरवारदेखि गाउँसम्म बीमाको पहुँच समन्यायिक रुपमा विकास र विस्तारमा हाम्रो प्रतिवद्धता रहनेछ ।
बीमाको दीगो विकास रणनीतिका लागि बीमापोष्टले सबैसँग मिलेर सहकार्य, आपसी सहअस्तित्वको सिद्धान्तको आधारमा काम गर्नेछ । आर्थिक तथा वित्तीय क्षेत्रमा सुशासन, भ्रष्टाचारको अन्त्य, विधिको शासन र संविधानमा उल्लेख भएको समाजवादी अर्थव्यवस्था निर्माणका लागि हामी कुनै न कुनै रुपबाट निरन्तर योगदान दिइरहने आजको यस ऐतिहासिक दिनमा प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।
चौंथो वार्षिकोत्सवको शुभ अवसरमा हाम्रा आदरणीय पाठकवृन्द, विज्ञापनदाता तथा रचनात्मक सुझाव दिनुहुने शुभेच्छुकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछौं । नेपाली बीमा जगतको प्रतिनिधिमूलक सञ्चार माध्यम हुनुको नाताले बीमा क्षेत्रको समृद्धिका लागि पाठक, बीमा विज्ञ, विश्लेषक तथा कम्पनी अनि नियामकका रचनात्मक सुझाव हाम्रा प्रेरणाका रुपमा सदैव ग्रहण गर्दै अघि बढ्ने प्रण गर्दछौं ।
धन्यवाद ।।
प्रतिक्रिया दिनुहोस्: