पुनरावृति एक विवेचना अनेक

२०८१ पुष २६

रामप्रसाद पन्त : वरिष्ठ साहित्यकार
पहिले घुमियो, देखियो मात्र, लेखिएन । लेखिएन अनि देखेको कुरा बिर्सियो । लेखेको भए अहिले पढ्न पाइन्थ्यो, एउटा इतिहास बन्थ्यो । लेख्नुपर्दो रहेछ तर लेख्नुपर्छ भन्ने मस्तिष्कमा सोच पलाएन । त्यस बेला पढ्ने धून थियो, लेख्ने धून थिएन । अलिअलि कविता लेख्ने रहर थियो, लेखियो र ‘नेपाल पुकार’मा छापियो । छापियो मात्र, त्यसको संकलन गरिएन । पहिलो रचना भनेर आफ्नो ‘लेखक परिचय’मा ती कविताहरू राख्न पाइएन । पाएको भए मेरो लेखनको शुरुआत दश वर्षअघिको हुन्थ्यो । वि.सं. २०३९ को ‘आफ्नो मान्छे’लाई पहिलो रचना भन्नुपर्ने थिएन ।
बितेका कुरा अहिले सोचेर केही फाइदा छैन । वर्तमानमा के गर्ने ? यो कुरा सोच्ने हो । त्यसैले मेरो सोच वर्तमान राम्रो बनाउनेमा नै लागेको छ । कति बन्न सकेको छ, कति बनाउन सकेको छु, थाहा छैन तर बन्ने र बनाउने कोशिसमा अवश्य छु । मेरो आत्मा यही भन्छ– सक्छस् राम्रो गर, सक्तैनस् नराम्रो नगर् । नराम्रो गरिनस् भने अहिले जति गरेको छस्, जति जोगाएर राखेको छस्, त्यति भएमात्र पनि तैंले जीवन बाँच्नुको औचित्य कायम राख्नेछस् । यही आवाजलाई हृदयङ्गगम गरिरहेको छु र कर्ममा लागिरहेको छु ।
यात्रा गर्नुअघि मेरो सोच बनेको थियो, पचास वर्षअघि गरेको गल्ती अब दोहो¥याउने छैन, तर यात्राका अरू व्यवस्था मिलाउँदा मिलाउँदै नोटबुक राख्न भुलेंछु । जनकपुरदेखि नै नोटबुकको अभाव खड्किरह्यो । भाइ केशवसँग नोटबुकका पाना माग्दै अत्यावश्यक कुरा टिपोट गर्दै गएँ । नोटबुक च्यातेर लिएका र लेखिएका अलग अलग पाना हराउलान् भन्ने पीर ! हराए भने समस्या समाधानका उपाय अरू निस्कने थिएनन् । यसै कारण मैले प्रत्येक वासको निकटस्थ बजारमा नोटबुकको खोजी गरिरहें तर संयोग नै कस्तो ! कहीं पनि भेट्न सकिनँ नोटबुक । एक दिन, दुई दिन वा तीन दिनको कुरा होइन, यात्राको अन्तिम गन्तव्य नपुग्दासम्म भेट्न सकिनँ । नैनीतालको तटमा विभक्त भएको दुई समूहमध्ये म पर्खिने परेको बेला नोटबुक खोज्ने मौका पाएँ । भेट्न त भेटे तर भनेजस्तो पाइनँ । मात्र बाह्रपाने, रेखाविहीन सादा नोटबुक । वास्तवमा अब मलाई जरुरी पनि थिएन, तैपनि पाँच रुपियाँ खर्च गरेँ । त्यसमा मैले विगत यात्राका छिटफुट नोट गर्न लाग्यो । बाँकी मैले संकलन गरेका नोटबुकका अमूल्य पानाहरू नत्थी गरेर सुरक्षित राखेँ । ती मेरा लागि यति महत्वपूर्ण थिए– रूपैयाँका नोटभन्दा पनि महत्वपूर्ण । त्यसैको प्रतिफल हो, यो कृति ।
यात्राको क्रममा ठगिँदा, लुटिँदा र तरहतरहका यातना र पीडाहरू भोग्दा यस्तो पनि लाग्थ्यो, मानव सृष्टिको प्रथम स्रोत, ऋषिभूमि र देवभूमिको महत्व नबुझेर हजारौं तीर्थस्थलहरू छाडेर के पाउन आएको हुँला ! कुनै बेला लाग्थ्यो, सुनेर बसिरहनुभन्दा यात्रा गरेर प्रत्यक्ष अनुभव र अनुभूतिहरू सँगाल्नु राम्रो । यसै भएर मैले मित्र खगेन्द्र खोल्साघरेको प्रस्ताव स्वीकार गरेँ र हरेक पल हरेक क्षण मलाई साथ सहयोग दिने भाइ केशवलाई साथमा लिएर यात्रामा निस्केँ ।
यात्राले मलाई सोचेभन्दा बढी ज्ञान र अनुभव दियो । मैले खगेन्द्र दम्पतीसँगको मैत्री त पहिले नै कमाएको थिएँ, अहिले केशव पौडेलदम्पती, सुवास ढकालदम्पती, अधिकारीदम्पती लगायत चौध जोडीसँगै मेरो आत्मीय सम्बन्ध स्थापित हुन पुग्यो । यस अर्थमा पनि मैले यस यात्रालाई अत्यन्त सुखद यात्रा भनी स्वीकारेको हुँ ।
भ्रमण गर्ने उद्देश्यले जो कोही पनि घरबाट बाहिर निस्कन सक्छ र देशविदेश घुमेर विविध अनुभव र अनुभूति सँगाल्न सक्तछ तर तीर्थयात्राकै उद्देश्य राखेर यात्रमा निस्कने व्यक्तिका आचरणहरू फरक हुनुपर्छ भन्ने सैद्धान्तिक मत छ केही विद्वान्हरूको । तीर्थयात्री अध्यात्मप्रेमी हुनुपर्छ र उसभित्र शारीरिक शुद्धता, मानसिक पवित्रता र भोजनप्रति सात्त्विकता तीर्थयात्रीका गुण हुन् । यसबाहेक स्वास्थ्य सन्तुलन पादसंयम आधारभूत शिक्षा, ध्यानशील, कार्यशील, यथालाभमा सन्तोष, अहङ्कारशून्य, दम्भहीनता, क्रोधहीनता, लघुआहार जितेन्द्रिय, निर्मलमति, सत्यवादी, दृढव्रत र अप्रमादी हुनुपर्छ भन्ने पनि आमबुझाइ छ ।
विद्वान्हरूले खासगरी तीर्थलाई तीन प्रकारले वर्गीकरण गरेका छन् । भ्रमणशील ऋषिमुनिहरूले स्पर्श गरेका तीर्थहरू–जङ्गमतीर्थ, मानिसहरूले आफ्नो मनबाट निर्देशित भएर स्थापना गरेका तीर्थहरू– मानसतीर्थ र देवताहरूलाई मनपरेका वासस्थानहरू–स्थावरतीर्थ । उनीहरूले तीर्थका उपभेद पनि बताएका छन्– भक्ततीर्थ, गुरुतीर्थ, मातातीर्थ, पितातीर्थ, पतितीर्थ र पत्नीतीर्थ, अर्थात एकले.

अर्काको अस्तित्वलाई स्वीकार गरियो वा सम्मान गरियो भने त्यसलाई तीर्थको रूप दिन सकिन्छ, तर कतिपय व्यक्तिबाट प्रश्न आउँछ–हिमवत्खण्डका अनन्त तीर्थस्थल छाडेर अनि नेपालतर्फबाटै बग्दै गएका गङ्गाहरूमा नुहाउन र पछि विकसित हुँदै गएका देवधामहरूको दर्शन गर्न किन मरिहत्ते गरेका मानिसहरू ?
नेपाल–भारतबीचका सनातनधर्मीहरूको संस्कार, परम्परा र रहनसहन सबै मिल्ने भएकाले कालान्तरदेखि वैवाहिक सम्बन्ध पनि स्थापित हुँदै गयो । राजनीतिक वृत्तमा पनि अप्ठ्यारो परेको वेला यताका नेता उता र उताका नेता यता आश्रय लिने प्रवृत्तिले पनि निरन्तरता पाउँदै गयो । व्यापारिक सम्बन्धमा पनि नेपाल भारतबीच अकाट्य सम्बन्ध कायम हुँदै गयो र विद्या आर्जनको हकमा पनि नेपालीका लागि खासगरी बनारस, कलकत्ता र पटना प्रमुख केन्द्रस्थल हुँदै गए । सबैभन्दा ठूलो कुरा काठमाडौं उपत्यका छिर्न राहदानी आवश्यक पर्ने तर भारत छिर्न आवश्यक नपर्ने र नेपालका दुर्गम र विकट स्थानहरूमा देवीदेवताका स्थानहरू भएका कारण पनि यातायातको दृष्टिले भारतीय तीर्थस्थलहरू सुगम बन्न पुगे ।
तर अबको स्थिति धेरै बदलिइसक्यो । नेपालका कुनाकाप्चा पुग्ने बाटाहरू बने । हवाइजहाजबाट पनि सेवा लिन सकिने भयो । चारधाम नेपालमै छन्, पवित्र गङ्गाहरू नेपालमै छन्, पितृतर्पणका लागि वराहक्षेत्र, उत्तरगया (गोकर्ण) वेत्रावती र कागवेणीहरू छँदाछँदै भारतको गया नै किन पुग्नुपर्ने ? भन्ने प्रश्नहरू पनि तेर्सिंदै गए । हामी भारत गएर नेपालीको फोहोरमा भारतीयको पनि फोहर मिसिएर बाक्लो भएको जल बोकेर किन आउने ? ’सौ मे असी बेइमान, फिर भी भारत महान्’ भनी कुर्लने र ठग्नेहरूको शरणमा किन परिरहने ?
यति भन्ने चेतना अहिले हामीमा खुलेको छ । मैले यसअघि भोगेका दुःख र पीडाहरू अरूलाई सुनाउँदै पनि आएको छु–हामीले भोगेको पीडा मेरा बाजेबज्यैले पनि भोगे र मेरा बाबुआमाले पनि भोगे । म स्वयंले पनि भोगें । मैले जानु जरुरी छैन पनि भन्दै छु र आफै तानिइरहेको पनि छु । किन तानिरहेको छ मलाई भारतले ? म आफै बुझ्न सकेको छैन ।
यसको उत्तर म यसरी दिन सक्छु–म गयाश्राद्धका लागि मात्र गइनँ, ड्ड विभिन्न यात्रासन्दर्भको क्रममा गएँ। अर्को कुरा, मेरो उद्देश्य तीर्थयात्राभन्दा पनि अवलोकन यात्रा बढी हो । यसकारण पनि म भिन्न अनुभव सँगाल्न र सँग्लिएका अनुभूतिहरूलाई लिपिवद्ध गर्न यस यात्रामा सरिक भएँ । पाठकहरूले मलाई यसै रूपमा बुझिदिनुहोला भन्ने कामना गर्दछु ।

सामूहिक यात्रामा आफूले भनेजस्तो र सोचेजस्तो नहुँदो रहेछ, किनकि अयोध्या पुगेको वेला ६० किमि टाढा कुशीनगर जान सकिनँ । प्रयाग पुगेको वेला १०५ कि.मि. टाढा चित्रकुट जान सकिनँ । कुरुक्षेत्रबाट देहरादून जादा अमृतसर जान सकिनँ । नैनीतालबाट महेन्द्रनगर फर्कदा अल्मोडा र पूर्णागिरि जाने आकांक्षा पूर्ण गर्न सकिनँ । अन्ततः महाकाली तर्दै गर्दा मैले पूर्णागिरितर्फ फर्केर मातालाई सम्झैं र मेरो अभिलाषा पूरा गरिदिन आग्रह गरें ।
यात्रा गर्छु भन्दैमा गर्न पाइन्न तर कहिले भने अनायासै यात्रा गर्ने अवसर मिल्छ । यस्तै अवसर जुट्यो र यात्रा गरियो। यात्रा गरेपछि यात्रावर्णन लेखियो । विशेष कुरा लेख्न नसके पनि समय परिस्थितिले जुराएको एउटा इतिहास बनाउन सकियो भन्नुपर्दछ ।
अन्त्यमा कृतिको भूमिका लेखिदिनुहुने वरिष्ठ समालोचक एवम् मेरा अभिन्न मित्र गोपी मैनालीप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु र भाषाप्रति दृष्टि दौडाइदिने अर्का कवि एवम् समालोचक श्री ठाकुर शर्मा भण्डारीप्रति विनयभाव प्रकट गर्दछु । यसैगरी मलाई उत्प्रेरणा दिइरहने दायित्व वाङ्मय प्रतिष्ठानका मित्रहरू र प्रकाशनमा सहयोग गर्ने प्रेस परिवारलाई हार्दिक धन्यवाद दिन्छु ।

 

प्रतिक्रिया दिनुहोस्: