ग्लोबल आईएमई बैंकको १८ वर्षको यात्रा, बैंकिङ्क क्षेत्रमा खडा भयो विशाल साम्राज्य

२०८१ पुष १८

काठमाडौं पुस १८, ग्लोबल आईएमई बैंकले आज आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदै छ । नेपालमा बैंकिङ क्षेत्रको इतिहास पल्टाउने हो भने, ग्लोबल आईएमई बैंकको यात्रा अद्वितीय छ । बैंकले २०६३ सालमा आफ्नो सुरुवात गरेको थियो । यस अवधिमा आइपुग्दा ग्लोबलले विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर र प्राप्ति प्रक्रियाबाट मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने सफलताको कथा लेखेको छ ।
२०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रूपमा स्थापना भएको ग्लोबल बैंकको यात्रा २०६५ सालमा आईपीओ निष्काशनको अनुमति पाएपछि नयाँ उचाइमा पुग्यो । ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ जारी गरेपछि बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको थियो ।
२०६५÷६६ मा २ः१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी डेढ अर्ब पुगेको थियो । २०६६÷६७ देखि बैंकले निरन्तर लाभांश वितरण गर्दै आएको छ । अधिकतम् २५.५ प्रतिशतसम्म लाभांश प्रदान गरेको यस बैंकले ३ वटा आर्थिक वर्षबाहेक हरेक वर्ष दोहोरो अङ्कको लाभांश वितरण गरेको छ ।

मर्जरको इतिहास
ग्लोबल आईएमई बैंकको मर्जरलाई देशकै उदाहरणीय मानिन्छ । आजको ग्लोबल आईएमई बैंकको विशाल साम्राज्यभित्र नेपालका २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा (क) वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।
वि.सं. २०६३ सालमा १८ औं वाणिज्य बैंकको रूपमा स्थापित ग्लोबल आइएमई बैंक १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको ग्लोबल आईएमई अहिले देशकै ठूूलो बैंक हो ।
तत्कालीन ग्लोबल बैंकले आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई २०६८ माघ २० गते मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभिएको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको हो ।
त्यसपछि बैंकमा सोसल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, कमर्स एन्ड ट्रस्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंक पनि गाभिए । रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए । त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकमा गाभियो । त्यसपछि अर्को वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई पहिलो बिग मर्जर भनिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मङ्सिर २० बाट एकीकृत कारोबार शुरु गरेका थिए । त्यसपछि बैंक अफ काठमाडौंलाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको छ ।

शेयरधनीको लाभ
ग्लोबल आईएमई बैंकले आईपीओ निष्काशनदेखि अहिलेसम्म निरन्तर लाभांश वितरण गर्दै आएको छ । यदि कुनै लगानीकर्ताले बैंकको आईपीओमा १०,००० रुपैयाँ लगानी गरेको भए, हालसम्म उक्त लगानीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । बैंकले १५ वर्षदेखि लगातार लाभांश वितरण गर्दै आएको छ ।

व्यवसायिक विस्तार
ग्लोबल आईएमई बैंक हाल मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल रहेको पहिलो निजी वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,१०० भन्दा बढी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई लगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्: