
अनन्त वाग्ले
वसन्तपुर घाइते छ । हनुमानढोकाका आङभरि घाउचोट छन् । अप्रिय अप्रिलको भूकम्पले थिलथिलो छ यो सम्पदा क्षेत्र । साततले दरबार भत्किएको छ । काष्ठमण्डप छैन । देवलका सिँढीमा लाग्ने पारिलो घाम अनि प्रेमिल भलाकुसारी बन्द छ । देखिन्छन् त केवल ढल्केका गजुर, झरेका इँटा र बाङ्गिएका खम्बा । बँचेखुचेकालाई जोगाउन दिइएका टेका, खट र बारले भद्दा छ सहरको रूप । धूमिल छ नगरको
रङ्ग ।
यही वसन्तपुरको आडैमा छ झोँछे । कुनै बेला गोरा हिप्पीहरूको अतिप्रिय यस प्राचीन गल्लीको पनि कन्तबिजोग छ । टेकैटेकाले थामिएका छन् पुराना घर । लाग्छ ती घरका आत्मा भड्किइरहेछन् र रुमल्लिइरहेछन् सहरभरि । सग्ला उभिएकाहरू कोमामा रहेको बिरामीजस्ता कान्तिहीन देखिन्छन् । टेकोमा थामिएको यस्तै एउटा जीर्ण घर । त्यस माटेघरभित्र बाक्ला काठे दलिनमुन्तिर छ एउटा कोठा । लम्बेतान सुरुङजस्तो । त्यही कोठामा कागज, कलम, कुची र ल्यापटपसँग खेलिरहेछ एउटा लु सुन । एक सानो छापाखानाको छपाइ नियालिरहेछ एउटा हान्स क्रिस्चियन एन्डरसन । अर्थात् शान्तदास मानन्धर । गोरो र चम्किलो अनुहार । उत्साह र जाँगर भर्ने कुराकानी । हरेक प्रसङ्गमा हँसाउने सेन्स अफ ह्युमर । सधैंभरि आशावादी । हरेक कुराको बटम लाइनमा देश र बालबालिका ।
चीनमा राजनीतिक शिखरपुरुष माओजत्तिकै श्रद्धेय छन् साहित्य संस्कृतिका धरोहर लु सुन । अनि डेनमार्कमा गर्वले सम्बोधन गरिन्छन् हान्स क्रिस्चियन एन्डरसन । कथा, कविता र निबन्धमार्फत सांस्कृतिक रूपान्तरणका अगुवा बने चिनिया लु सुन । अनि परीकथा र बालसाहित्यमार्फत सबैका आँखाका नानीमा स्थान जमाए डेनमार्कमा एन्डरसनले । विश्व साहित्यका यी दुवै मनिषीलाई नेपालीमा अनुवादमात्र होइन, नेपाली पाठकलाई चिनाउने कामसमेत गरेका छन् शान्तदास मानन्धरले । जीवनमा उनले निकै काम गरे । कहिले अनुवाद, कहिले स्वलेखन तर थाकेनन् कहिल्यै ।
अहिले पनि आफ्नो ८३ वर्षीय वृद्ध कायालाई नवजवान उत्साहका साथ झोंछे गल्लीमा मगमगाइरहेछन् । त्यही लम्बेतान सुरुङजस्तो कोठामा । हिलोको कमलजस्तै । उनको घर, अफिस, कार्यकक्ष सबै यही कोठा थियो त्यो वैशाख १२ सम्म । त्यसपछि भने यो कोठा अफिसमात्र बनेको छ । दिनभर यहीँ काम गर्छन् । सम्पादन, लेखन, सिर्जनात्मक कक्षा, बहस चौतारी, भेटघाट, छापाखाना सञ्चालन र छपाइ कार्य । सबैसबै काम फत्ते गर्छन् यहीँबाट । अनि साँझ लाग्छन् छाउनीस्थित छोरीको घरमा ।
कहिले त्यही लम्बे कोठामा शिक्षकलाई भेला गर्छन् । कहिले स्कुले बालबालिकालाई । कहिले उदीयमान लेखकहरूलाई । अनि चलाउँछन् सिर्जनात्मक लेखन कक्षा । कथा कसरी लेख्ने ? विषय कसरी टिप्ने ? कथाको विकास कसरी गर्ने ? पात्र के हो ? कसरी उतार्ने परिवेश ? केका लागि लेख्ने कथा ? कहाँ छन् कथाका विषय ? हाम्रा कथा कसका लागि ? यी जटिल विषयलाई सजिलो गरी बताइदिन्छन् । व्यावहारिक उदाहरण दिन्छन् । मनग्गे छलफल चलाउँछन् । अनि प्रस्ट पारिदिन्छन् सिद्धान्तलाई प्रयोगमा ।
उनको यो स्कुलिङ अहिलेको होइन, उहिलेदेखिको हो । कुनै बेला युद्धप्रसाद मिश्र र दुर्गालाल श्रेष्ठहरूलाई समेत उनले बालकविता लेखाए । खगेन्द्र संग्रौला र नारायण ढकालहरूलाई बालकथा लेख्न लगाए । श्यामप्रसाद, जनक हुमागाईं, शारदारमण नेपाल, रामबाबु सुवेदी, मुकेश चालिसे, कुलमानसिंह भण्डारी, गोपालराज मैनाली र केके कर्माचार्यहरूसँग त लामो सहकार्य गरे उनले । बालसाहित्यका निम्ति धेरै गुमाए । अनि बालसाहित्यलाई नै प्रमुख विधा बनाएर काम गर्ने पुरानो पुस्ताका एकमात्र लेखकका रूपमा प्रशस्त ख्याति, आदर र सम्मान पनि कमाए ।
लेख्न त महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधव घिमिरेदेखि देवकुमारी थापा, रमेश विकल र कृष्णप्रसाद पराजुलीहरूले पनि पुरानो पुस्तामा बालसाहित्य हाँकेकै हुन् । यद्यपि देशको आधाभन्दा बढी संख्यामा । भएर पनि उपेक्षामा परेका बालबालिकाका लागि साहित्यको खुराक पस्कन यसैलाई मूलबाटो स्वीकार्ने स्रष्टा हुन् शान्तदास । भन्छन्, बालसाहित्य निःस्वार्थ, निःशर्त र निःशुल्क गर्नुपर्ने काम हो । मैले जिम्मेवारीबोधका साथ यसलाई अपनाएँ । पहाडी पुकारले बनायो विद्रोही
शान्तदासले लेखनलाई नाम र दाम कमाउने माध्यमका रूपमा कहिल्यै लिएनन् । बरु देश, बालबालिका र जनताप्रतिको जिम्मेवारीकै रूपमा स्वीकारे । बालककालबाटै समाज परिवर्तनको सपनामा जो डोरिएका थिए । कलिलो बाल्यकालमा यिनले राणाकालीन सामन्ती व्यवहार देखे । सिगार तान्दै घोडामा आउने राणासाहेबको रवाफ नियाले । सामान्य जनताको जीवनसँग बसउठ भयो । उनी पढ्ने स्कुलको नाम नै जुद्धशमबेरको उदयको अर्थमा जुद्धोदय रहेको बुझे । उनका बालसखा थिए सत्य । शान्त र सत्यको जोडी खुब जम्थ्यो ।
उस्तै विचार, विद्रोही स्वभाव र हरेक नयाँप्रति तीव्र जिज्ञासा । समाजप्रतिको उनीहरूको तीव्र जिज्ञासालाई संचेतनाको बाटोमा डोरÞ्याउने काम गर्यो देवकोटाको “पहाडी पुकार” कविताले । समाजमा व्याप्त वर्गीय विभेद र गरिब जनताको जीवनशैली झल्काउने यस विद्रोही कविताले उनीहरूलाई झक्झक्यायो । जाग्दो चेतनाले किशोर वयका यी दुई भाइलाई कांग्रेसको मुक्ति सेना खोज्दै वीरगन्ज, रक्सौलसम्म पुरÞ्यायो । सम्पर्क र संगठनबारे जानकारीबिना नै उत्साही यो किशोर जोडीले त्यहाँ कांग्रेसको मुक्ति सेनालाई भेट्न सकेन । बरु काठमाडौँमा हराएका ठिटाहरूबारे हल्लीखल्ली भयो । आफन्त गएर बैरगनियाँबाट फर्काएर ल्याए । । शान्तदासलाई स्कुलमा कोर्सका पाठ पढन उतिसारो मन लाग्दैनथ्यो । कोर्समा लेखिएका कतिपय कुरा चित्त नबुझ्दा उनी शिक्षक र ठूला मानिससँग प्रश्न र तर्क वितर्क गर्न अघि तम्सन्थे । यही स्वभावका कारण युवा विद्यार्थीको तत्कालीन संगठन विद्यार्थी फेडरेसनमा आबद्ध हुन पुगे यिनी । उ बेला असनमा एक्लो किताब पसल थियो, मानदास सुगतदास । त्यहाँ रुसी साहित्यका किताब खुब पाइन्थ्यो । शान्तदासले पनि त्यहीँबाट किताब लिंदै पढ्न थाले रुसी साहित्य ।
रुसी साहित्यले उनलाई दुईवटा फाइदा भयो । एउटा त आफूमा विकसित हुँदै गरेको विद्रोही चेत र परिवर्तनको सपनामा वैचारिक परिपक्वता प्राप्त भयो । समाज बुझ्न र विश्लेषण गर्नसक्ने भए । अर्को साहित्यिक हृदय उर्वर बनाइदियो । भाषाशैली, कथालेखन कला र प्रस्तुतिबारे प्रशस्तै टिप्स पाए ।
यत्तिकैमा २०१५ साल आयो । ०१५ साल दुई कुराले शान्तदासका लागि निकै महत्त्वपूर्ण भइदियो । त्यस वर्ष उनले सत्यसँग मिलेर सम एस्सेजु नामक अंग्रेजी निबन्ध संग्रह प्रकाशनमा ल्याए । विभिन्न सामाजिक सांस्कृतिक विषयको उठान गरिएका निबन्धको पुस्तक विद्यार्थीमाझ निकै लोकप्रिय भयो । यतिसम्म भयो, केही शिक्षकहरूले नै उनीहरूको त्यो किताब पढ्न सबै विद्यार्थीलाई सुझावमात्र दिएनन्, किताब बेचेरै पनि सहयोग र हौसला प्रदान गरे । यसैबाट शान्तदासमा पुस्तक लेखनको रस बसेको हो ।
यही जगमा अहिले उनी दुई सयभन्दा बढी पुस्तकका सम्पादक तथा पचासभन्दा बढी पुस्तकका लेखककारूपमा नेपाली समाजमा चुलिएका छन् । विद्यार्थी फेडरेसनमार्फत नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलालसँग भेट भयो । पुष्पलालमार्फत बलराम श्रमजीवी र श्यामप्रसादको सान्निध्य पाएपछि शान्तदासको लेखन संसार अझै फराकिलो बन्दै आएको हो ।
२०१५ सालमै नेपालमा पहिलो आमनिर्वाचन पनि सम्पन्न भयो । उक्त निर्वाचनमा संविधानसभा कि संसद् भन्ने चर्को बहस थियो । काठमाडौँमा गणेशमान सिंह र पुष्पलाल प्रतिस्पर्धामा थिए। ऋषिकेश शाह, सूर्यप्रसाद उपाध्यायहरू संसद्को पक्षमा थिए । त्यस चुनावमा काठमाडौं नजिकै फेदीमा खटाइयो शान्तदासलाई, जहाँ शम्भुराम श्रेष्ठ कम्युनिस्ट उम्मेदवार थिए । शम्भुरामका प्रतिनिधिका रूपमा उनलाई संगठनले खटाएको थियो । कांग्रेसको रूख र डा. केआई सिंहको पार्टीको धानको बाला तथा कम्युनिस्टको तीन घोगा मकै र हँसिया चिन्ह थियो । तीन घोगा मकै र हँसियामा भोट माग्न खटिए उनी ।
यसरी कम्युनिस्ट बनेका लेखक शान्तदास प्रत्यक्ष अप्रत्यक्ष पछिसम्मै राजनीतिमा पनि सामेल भइरहे । सबै वाम पार्टीका नेता तथा प्रगतिशील लेखक कलाकारबीच उनी शान्तदाइ, शान्तकाका र शान्तदासजीकारूपमा लोकप्रिय छन् । सांगठनिकभन्दा पनि लेखन तथा प्रकाशनका माध्यमबाट यिनले सामाजिक, सांस्कृतिक रूपान्तरणमा योगदान पुरÞ्याइरहेछन् ।
निरन्तर क्रियाशील दैनिकी स्वाभिमान शान्तदासको परिचय हो । बरु एक्लै परियोस् । आफ्नो विचार र मान्यतामा डग्मगाउँदैनन् । लोभ, लालचभन्दा पर छन् यी । एमालेको पहिलो नौ महिने सरकारको कार्यकालको बेला थियो । शान्तदास हृदयाघातको बिरामी थिए । मनमोहन अधिकारी नेतृत्वको सरकारले यिनलाई उपचारमा सहयोग गर्ने इच्छा देखायो । तर, निश्चित आधार र क्राइटेरियाबिना राज्यकोषको सहयोग नलिने भन्दै यिनले सरकारका प्रतिनिधिलाई फर्काइदिए ।
यही स्वाभिमान र आत्मसम्मानका कारण हुनुपर्छ दुईदुई पटक हृदयाघात भइसके पनि अझै ऊर्जाशील, कान्तिमय र हँसमुखा यी ८३ वर्षेको काममा कुनै कमी आएको छैन । भर्खरै योग, प्राणायम तथा शिक्षकबारे दुई पुस्तिका सार्वजनिक गरेका शान्तदासको दैनिकी पनि बेग्लै छ । जाडो होस् कि गर्मी, हरेक बिहान ४ बजे यिनले ओछ्यान छाडिसकेका हुन्छन् । नित्यकर्मपछि डेढ घन्टाजति यिनी योग र प्राणायाममा बिताउँछन् ।
हल्का व्यायाम र विधिपूर्वक भास्त्रिका, कपालभाँती, अनुलोम विलोम, भ्रामरी, उज्जाइ, मन्डुकासनलगायत दर्जन योगासन र प्राणायमपछि हल्का बाहिरी भ्रमण पनि गर्छन् । पहिले त सातामा एक दिन स्वयम्भू चढ्थे । केही समययता भने स्वयम्भू चढेका छैनन् । यिनले स्वयम्भू चढ्नुका दुई कारण हुन्थे । पहिलो आफू कत्तिको बलियो छ भनेर परीक्षण गर्नु । दोस्रो– सहर नियाल्नु र आनन्द लिनु । अनि चियानास्तापछि दैनिक लेखन, सम्पादन, प्रकाशन र छापाखानको काम छँदैछ ।
राणा शासन, पञ्चायती व्यवस्था, संसदीय बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म आइपुग्दा शान्तदासले थुप्रै शासक बेहोरे । अधिकांश नेतृत्वमा उनले राष्ट्रियता, स्वाभिमान र आत्मसम्मानको अभाव देखे ।
अलिक स्वाभिमानी र देशका लागि केही गर्न खोज्नेलाई पनि खट्टा तान्ने र घेराबन्दीमा पार्ने हाम्रो प्रवृत्रि बाधक देख्छन् उनी । कहिले वडाअध्यक्ष, कहिले शिक्षक, कहिले स्कुल अध्यक्ष लगायतका सामाजिक जिम्मेवारी रहे । यस्ता जिम्मेवारीमा रहने हरेकले निष्ठा र इमानदारीपूर्वक काम गरेमात्र देश बन्ने उनको विचार छ । जस्तो कि उनी आफ्नै टोलको विद्योदय निमाविका व्यवस्थापन अध्यक्ष छन् । उनी हरेक दिनजसो स्कुल पुग्छन् । प्र.अ र शिक्षकसँग संवाद गर्छन् । अझ बालबालिकासँग लामो समय बिताउँछन् ।
’आमा बन्ने बाटोमा साना बालबालिकालाई पनि आदर गर्दै उनी तपाईं सम्बोधन गर्छन् । पछिल्लो समय बालसाहित्यमा मात्र समर्पित उनी बालकोसेली, बालपत्रिकाको सम्पादन, प्रकाशन गर्छन् । बालसाहित्यमा काम गर्नु भनेको आजका बालबालिका, भोलिका युवा र पर्सिका वृद्धहरूका लागि पनि काम गर्नु हो भन्ने उनको मान्यता छ ।
साभार ः नौलो कोशेली २०८१ कार्तिक २८
प्रतिक्रिया दिनुहोस्: