गणेश पण्डितः समर्पित देशभक्त

२०८१ आश्विन २२

दमननाथ ढुङ्गाना
गणेश पण्डितको नाम एक जना भयंकर कम्युनिष्टका रूपमा मैले ०२० को दशकको प्रारम्भतिरै सुनेको थिएँ । त्यतिवेला देश ०१७ साल पुस १ गतेको शाही कदमको मारमा त्रस्त र छिन्नभिन्न थियो । त्यस कदमको विरोधमा रहनेहरू जेलमा, निर्वासनमा अथवा घर घर मै गुपचुप थिए । हामी केही युवा भने त्रिभुवन विश्वविद्यालयमा भर्ना भएर, त्यसैलाई विरोधको मञ्च बनाएर, ‘स्वतन्त्र विद्यार्थी युनियन’को आन्दोलन अघि बढाउँदै, स्वतन्त्र विद्यार्थी युनियन हासिल तथा त्यसको नेतृत्व गर्दै, विद्रोहको ज्वाला फैलाउने सोच तथा तयारीमा जुटेका थियौं । त्यति बेला पनि विद्यार्थीहरूको परिचय प्रजातन्त्रवादी (काँग्रेस) वा वामपन्थी (कम्युनिष्ट), खेमा खेमामा हुने गर्दथ्यो । विरोध आयोजनाहरू भने जिनतिन संगठित रूपमा धान्न सकिएथ्यो । तिनको ऐतिहासिक प्रमाणका रूपमा २०२०–२०२२ सालको उपत्यकाव्यापी तथा राष्ट्रव्यापी विद्यार्थी सम्मेलन छँदैछन् । तात्कालिक मालेका संस्थापक वरिष्ठतम् नेता श्री मोहनचन्द्र अधिकारी उल्लिखित राष्ट्रव्यापी । विद्यार्थी सम्मेलनको सिलसिलामा हामीसँगै पक्राउ पर्नु भएको म राम्रै सम्झन्छु ।
यिनै कुनै सम्मेलन ताका होला, गणेश पण्डितजीसँग मेरो पहिलो । परिचय भएथ्यो । साधारण पहिरन, सरल व्यक्तित्व, मधुर बोली, भद्र व्यवहार, अरूको कुरा सुन्ने, आफ्नो मात्र जिद्दी नगर्ने, यस्तो मान्छे पनि कहीँ कम्युनिष्ट होला, किन वृथा “भयंकर कम्युनिष्ट’ भनिएको होला भन्ने छाप (इम्प्रेसन) ममा त्यस पहिलो भेटमै परेको थियो । जुन पछि सँगै काम गर्न थाल्दा तथा संगत बढ्दै जाँदा झन् झन् पुष्टि हुँदै गएथ्यो । उहाँका बोली वचन व्यवहारमा कम्युनिष्ट राग, दम्भ, क्रान्तिकारिता, माध्यम–प्रधान मानसिकता, असम्भव सपनाको झल्को इत्यादि कतै किञ्चित् पाइँदैनथे ।
पेशाले शिक्षक भएकोले पनि होला उहाँमा आफ्ना कुरा सुस्तरी राख्ने र अरूलाई प्रभाव पारी पारी आफ्नो नजिक ल्याउने वा समर्थक तुल्याउने सिप वा कला भने बेजोड नै थियो । शायद यही विशेषताको कारण पनि होला कम्युनिष्ट संगठनले जनसम्पर्कको काम उहाँलाई निकै नै पत्याएको र कालान्तरमा एमालेले टिकट समेत दिएर नुवाकोटबाट प्रतिनिधि सभासम्म पु¥याएको छ । के कारण हो कुन्नि, मलाई थाहा भएन, उहाँ पछि त्यस दलमा संलग्नता बढाउन र नेतृत्वमा उक्लन चाहनु भएन ।
श्री गणेश पण्डितजीसँग मेरो निकट सम्पर्कको, विशेष उल्लेखनीय रूपमा, दुईटा आधार छन् । एक, ०४८ सालको प्रतिनिधि सभामा हामीसँगै थियौं । दोस्रो, सांसदहरूलाई प्रशिक्षण दिनु आवश्यकदेखि सभामुख नरहे पछि ०५४ सालमा मैले स्थापना गरेको “संसदीय अध्ययन तथा विकास स्थापना“ को माध्यमबाट यस संस्थामा ०५० दशकको अन्तिम कालतिर होला, केही वर्ष वडो समर्पित भएर उहाँले महामन्त्रीको जिम्मेवारी पुरा गर्नु भएको थियो । तिनताक त्यस संस्थाले युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने दिशामा पटक पटक ठुल–ठुला अन्तरक्रिया आयोजना गर्ने गर्दथ्यो । तिनमा उहाँको पहल तथा प्रस्तुति प्रभावकारी हुन्थ्यो । शान्ति–प्रवर्धन सहायतास्वरूप वरिष्ठ उद्योगपति स्व. श्री नरबहादुर सिंहले दिनु भएको उहाँको घरको ठूलो हलमा हामी कार्यक्रम तथा छलफल चलाउँदथ्यौं । ती आयोजनाले शान्ति प्रक्रिया र जन आन्दोलनको तयारीमा हदैसम्म मद्दत पु¥याएका थिए । श्री गणेश पण्डितजी र श्री नरबहादुर कर्मचार्यको योगदान आजको राजनैतिक परिवर्तनका पक्षमा चिर स्मरणीय छन् । त्यसबखत पनि त्यस संस्थाको त्यस घरमा बास बाहेक कुनै आयस्रोत थिएन । कहीं कतैबाट सहायता खोजिएको थिएन । संस्था त्यही घरमा अहिले पनि यदाकदा भेट छलफल हुने फोरम (मञ्च)का रूपमा अस्तित्व धानी रहेछ ।
त्यस संस्थाको निरन्तरता पनि पण्डितजीको स्मृति र योगदानको एक कडीका रूपमा लिन सकिन्छ । उहाँको अनुपस्थिति खटकी रहेछ ।
जेहोस् श्री गणेश पण्डितलाई एक समर्पित शिक्षक, एक कुशल सांसद, एक समर्पित जनसेवी र देशभक्तका रूपमा भविष्यले सदा सम्झिरहने छ उहाँको असामयिक निधन राष्ट्रिय क्षति हो ।

प्रतिक्रिया दिनुहोस्: