विचार : मेरो सम्झनामा गणेश पण्डित : देवी प्रसाद ओझा

२०८१ भाद्र २४

कुमार पण्डितजीले मलाई चार पाँचपल्ट फोन गर्नुभयो । फोनमा वार वार उही कुरा भयो । पछिल्लो फोनले मलाई निकै दुःखित बनायो । मैले उहाँसँग क्षमा मागें । उहाँको फोनमा म प्रतिको आत्मीयता र हार्दिकता थियो । प्रेम र सद्भाव थियो । तर त्यसलाई मैले जुन रूपमा लिनु पथ्र्यो, लिन नसक्नु मेरो कमजोरी थियो । यसैले मैले क्षमा मागेको हुँ ।
मलाई लाग्छ, जीवन अन्त्यहीन यात्रा होइन । जीवनको अन्त्य शाश्वत र अनिवार्य छ । संसारमा जीवन एक मञ्चन हो । जीवन अन्त्य हुन्छ तर, मञ्चन बाँच्दछ । यो कसरी कतिसम्म बाँच्दछ, यसको चरित्र र प्रवृत्ति तथा समाजको समझदारी र विवेकमा भरपर्छ । कुमार पण्डितको आग्रह थियो । उहाँका दाइ मेरा अन्तरङ्ग मित्र गणेश पण्डितका सन्दर्भमा केही लेखिदिने ।
उहाँले गरेको मञ्चन बाँकी छ । हाम्रो स्मरण र श्रद्धा त्यसैबाट अभिव्यक्त हुन्छ । गणेशजीसँग आज भन्दा ४० वर्ष पहिले २०३६ सालमा शिक्षक सङ्गठन र आन्दोलनको प्रसङ्गमा चिनजान भएको थियो । हामी दुबै शिक्षक संगठन र आन्दोलनका अगुवा थियौं । उहाँ नुवाकोट र म झापामा पढाउँथ्यौं । हाम्रो । घर गृहस्थी पनि तत्तत् जिल्लामै थियो । यद्यपि मेरा पुर्खाहरू वि.सं. १८५६ मा नुवाकोटबाट काठमाडौं हुँदै खोटाङ्ग गएका थिए । पुर्खाले लिएर गएका कुल देवता अझै पनि हाम्रो परिवारमा स्थापित छन् र प्रत्येक तीन वर्षमा हामी निष्ठा र श्रद्धाका साथ कुलपूजा गर्छौं । यी कारणले पनि नुवाकोटसँग मेरो भावनात्मक सम्बन्ध विशेष रूपमा थियो, छ र रहिरहने छ । तर गणेशजीसँग यस सम्बन्धमा मेरो कहिल्यै कुरा हुन पाएन । हाम्रो बिचमा जहिले पनि राजनीतिक कुरा मात्रै भयो । जो स्वाभाविक नै हो । उहाँ र मेरोबिचमा सँधै मैत्रीपूर्ण सम्बन्ध रह्यो । यसलाई अरू गाढा बनाउने माध्यम उहाँका भाञ्जाहरू पूर्व मन्त्री तथा ने.का.का नेता अर्जुन नरसिंह के.सी., डा.केदार नरसिंह के.सी. र इन्जिनियर महेश्वर नरसिंह के.सी.सँग मेरो विभिन्न कालखण्डको चिनजान र एक अर्कामा रहेको हार्दिकता त्यसमा पनि एक राजनैतिक व्यक्ति भएको नाताले अर्जुनजीसँग राजनैतिक भान्सा अलग भए पनि संसद् र सडकमा उत्पन्न प्रतिकूलतालाई समाधान गर्ने हामी दुईको इमानदार पहल र प्रयत्नले सहयोग पु¥यायो ।
गणेशजीसँगको मेरो सम्बन्धलाई मैले चार चरणमा अनुभव गरेको छु । पहिलो शिक्षक आन्दोलन र नेकपा (चौ.म) सँग आवद्ध व्यक्तिका रूपमा, दोस्रो नेकपा (एमाले) र प्रतिनिधि सभा सदस्यका रूपमा, तेस्रो राष्ट्रियताको आन्दोलन र नेकपा (माले) निर्माणको नेताका रूपमा चौथौं स्वतन्त्र नागरिक र
सामाजिक सेवामा क्रियाशील व्यक्तिका रूपमा थियो ।
आन्दोलनको दुई विन्दुमा उभिएका थियौं । शिक्षक आन्दोलन, कम्युनिष्ट हाम्रो परिचय शिक्षक आन्दोलनको क्रममा भएपनि हामी एउटै आन्दोलन हाम्रो साझा आन्दोलन थियो । तर म नेकपा (माले) उहाँ नेकपा (चौ.म.) मा आवद्ध अनि म देशको पूर्वी सीमा झापा, उहाँ राजधानीसँग जोडिएको नुवाकोटमा कार्यरत अवस्था थियो । उहाँ थरले मात्र पण्डित हैन ज्ञान गुन, शिक्षा दीक्षाले पनि पण्डित हुनुहुन्थ्यो । अर्थात् जान्ने बुझ्ने नम्र सरल तर म अर्रो खस्रो थिएँ । अहिले पनि छु ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापना २०३६ मङ्सिरमा भयो । यसको नेतृत्वमा ०३६, ०३८, ०४२ मा विभिन्न प्रकारका शान्तिपूर्ण शिक्षक हक हित र शैक्षिक सुधारकालागि प्रभावकारी आन्दोलन भए । केही शिक्षक साथीहरूले शहादत प्राप्त गर्नु भयो । हामी धेरैले जेल जीवन भोग्यौं– धेरैको जागिर गयो । पछि धेरै समस्या समाधान भए । शिक्षकहरूले हक सुविधा प्राप्त गरे । मैले सङ्गठनको स्थापना कालदेखि बहुदलीय प्रजातन्त्र, संसदीय शासन व्यवस्था पुनर्स्थापना नहुँदासम्म २०४८ जेष्ठसम्म बाह्र केन्द्रीय सदस्य, महासचिव र अध्यक्ष भएर काम गरें । तीन वर्ष भन्दा बढी जेल जीवन बिताएँ । गणेशजी २०३७ देखि २०४० सम्म केन्द्रीय उपाध्यक्ष रहनु भयो । २०३८ को शिक्षक आन्दोलनमा प्रायः हामी जेल परेको हुँदा प्रमुख रूपमा उहाँले नै नेतृत्व गर्नु भयो । रेडियो नेपालबाट सस्वर उहाँले आह्वान गरेपछि मात्र त्यो आन्दोलन स्थगन भयो । संगठनको केन्द्रीय पदाधिकारी नभए पनि बाँकी अवधिमा उहाँको शिक्षक आन्दोलनमा केन्द्रीय भूमिका रह्यो । यसबिच उहाँ र मेराबिच केही मतान्तर भएपनि मित्रतामा तिक्तता कहिल्यै आएन । उहाँ मेरो बुझाइ र अनुभवमा योग्य विषय शिक्षक र प्रधानाध्यापक हुनुहुन्थ्यो । नुवाकोटको शैक्षिक आन्दोलन र विकासको अग्रणी हुनुहुन्थ्यो । वाम आन्दोलनको मूर्धन्य व्यक्तित्व र धरोहर हुनुहुन्थ्यो ।
उहाँ आफ्ना विचार व्यक्त गर्दा ओजपूर्ण ढंगवाट गर्नुहुन्थ्यो । उहाँमा तर्कशक्ति गजबको थियो । उहाँको भाषा परिमार्जित र शिष्ट हुन्थ्यो । सार्वजनिक वक्ताको रूपमा भन्दा आन्तरिक छलफल, वहस र वादविवादमा उहाँ बढी प्रभावकारी हुनुहुन्थ्यो । उहाँमा एउटा अजीवको शैली थियो । उहाँ समूहबाट केही एक साथीलाई चट्ट बोलाउनु हुन्थ्यो र अलिक पर लगेर सबैले देख्ने गरी कुरा गर्नुहुन्थ्यो । वास्तवमा उहाँले गरेको कुरो त्यसरी अलग्गै गर्नु पर्ने अवस्थाको हुन्नथ्यो । सबैका बिचमा गर्न सकिने प्रकृतिको हुन्थ्यो तर उहाँ त्यसो गर्नु हुन्थ्यो । यसले साथीहरूका बिच गजबको अन्यौल सिर्जना गथ्र्यो । उहाँको यो शैलीलाई मैले खास गरी केन्द्रीय कारागार काठमाडौँमा बन्दी जीवन बिताउँदा त्यहाँका भाइ चौकिदार, नाइके, भाइ नाइकेहरूका बिचमा र पछि सांसद भएपछि अन्य पार्टीका सांसदबिच प्रयोग गरे । यसले गजबको कमाल देखिएको सम्झना मलाई अहिले पनि छ । वास्तवमा गणेशजीको यो
शैली मौलिक थियो । उहाँ यसलाई ठीक ठाउँमा कलात्मक ढङ्गले प्रयोग हुन्थ्यो । जो सामान्यतया थाहा हुँदैनथ्यो तर बाण लागि सकेको हुन्थ्यो ।
दोस्रो, २०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) एकीकरण नेकपा (एमाले) बन्यो । म त त्यो पार्टीमा छँदै थिएँ । गणेशजी पनि यसैमा संलग्न हुनुभयो । उहाँ नुवाकोटबाट म झापाबाट प्रतिनिधि सभा सदस्यमा चुनावमा उम्मेदवार भयौं । दुबैले विजय प्राप्त ग¥यो । हामी दुबै एउटै पार्टी, एउटै मञ्च, एउटै आन्दोलनका सहभागी भयौं । प्रतिनिधि सभामा उहाँ तयारीका साथ प्रस्तुत हुनुहुन्थ्यो । मुद्दाहरूलाई गहिरÞाई र गम्भीरताका साथ उठाउनु हुन्थ्यो । हाटहुट, डाङ्गडुङ्ग र सतही प्रवृत्ति उहाँमा थिएन । हामी कतिमा त्यो प्रवृत्ति थियो । संसद्मा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेर सरकार बनाएको थियो । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । सरकार विपक्षप्रति सहिष्णु थिएन । सरकारमा बहुमतको दम्भ अहिलेको ओली सरकार भन्दा चर्को थियो । यसैले संसद् गरम भइरहन्थ्यो । संसद्मा भनाभन चर्का चर्की मात्र हैन बेलाबखत तोडफोड पनि हुने गथ्र्यो । गणेशजीमा हामी जस्तो आवेग र उत्तेजना देखिंदैनथ्यो । उहाँमा संयम र दृढता सदासर्वदा प्रवाहित भइरहन्थ्यो ।
यो बेला पार्टी पाँचौ महाअधिवेशनको तयारीमा लागेको थियो । बैचारिक बहस छलफल पार्टीमा शुरू भएको थियो । जनताको बहुदलीय जनवाद, परिमार्जित नौलो जनवाद र नौलो जनवाद –३ धुरीमा नेता कार्यकर्ता विभाजित भइरहेका थिए । महासचिव क.मदन भण्डारीले बहुदलीय जनवादको नेतृत्व गर्नु भएको थियो भने क.सि.पी. मैनालीले परिमार्जित नौलो जनवाद र क. मोहन चन्द्र अधिकारीले नौलो जनवादको नेतृत्व गरिरहनु भएको थियो । गणेशजी परिमार्जित नौलो जनवादको पक्षमा उभिनु भयो । यो बहस पार्टी भित्र मात्र हैन बाहिर पनि हप्तौं चल्यो तर यो बहसमा गणेशजी प्रखर रूपले प्रस्तुत हुनु भएन । नेकपा एमालेको पाँचौ महाधिवेशनले “नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद” भन्ने महासचिव क. भण्डारीद्वारा प्रस्तुत कार्यक्रमलाई अत्यधिक मतले पारित गर्यो । जसलाई गणेशजीले सहजरूपमा आत्मसात् गर्नु भयो ।
न्याय प्रेमी, देशभक्त, जनताका लागि कम्युनिष्ट आन्दोलनलाई जडसूत्रवादी एवम् कर्मकाण्डवादी प्रवृत्तिबाट मुक्त गरेर प्रतिस्पर्धात्मक ढंगले जनताकै मतद्वारा जनताको लागि विजयको शिखरमा पु¥याउनु पर्छ भन्ने महा अभियानका पक्षपातीका लागि आफ्ना मुख्य वैचारिक जनप्रिय नेता नेकपा (एमाले)का महासचिव कमरेड मदन भण्डारीको २०५० जेष्ठ ४ गते दाशढुङ्गा –दुर्घटनामा रहस्यमय निधन भयो । जो आज उहाँकी धर्मपत्नी विद्या भण्डारी राष्ट्रपति हुँदा अनि आफूलाई कमरेड मदन भण्डारीको वास्तविक उत्तराधिकारी भन्न पछि नपर्ने के.पी. ओलीजी शक्तिशाली प्रधानमन्त्री भइरहँदासम्म रहस्यको रहस्यै छ । क. मदनको रहस्यमय निधनको निष्पक्ष छानविनको माग गर्दै पार्टीले संसद् र सडकमा ठुलो आन्दोलन ग¥यो । यसमा गणेशजीको भूमिका प्रभावशाली र महत्वपूर्ण रह्यो ।
नेपालको राजनीतिमा मात्र होइन, नदी, नाला, जल सम्पदामा पनि भारत सरकारको वक्रदृष्टि पहिलेदेखि रहँदै आएको छ । नेपाल सरकार पटक–पटक भारत सरकारका अगाडि झुक्दै आएको छ । जुन क्रम अहिलेसम्म जारी छ । जबसम्म हामी यसका विरूद्ध दृढतापूर्वक उभिँदैनौं तबसम्म हाम्रो उन्नति र समृद्धि पनि सम्भव छैन । यो कुरा पहिलेका र अहिलेका शासकहरूलाई राम्ररी हेक्का छ । यसैले आफ्नो आयु लम्ब्याउन भारत सरकारसँग प्रतिवाद हैन आशिर्वाद लिन हाम्रा शासकहरू दौडधूप चलाउँछन् । नत्र राजा वीरेन्द्र र राजा ज्ञानेन्द्र जस्तै भइन्छ भन्ने उनीहरूलाई राम्रो व्यावहारिक ज्ञान छ । यही ज्ञानको प्रकाश पुञ्जमा नेपाली काँग्रेसको सरकारले भारत सरकारसँग महाकाली नदी सम्बन्धी कहिले समझदारीका नाममा कहिले सम्झौताका नाममा सन्धि ग¥यो । अनि यही प्रकाश पुञ्जबाट सत्तासीन पार्टी नेपाली काँग्रेसमा ठुलो ज्ञानगुनको वादविवाद उत्पन्न भयो र मुलुक २०५१ मंसिरमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन संघारमा पुग्यो । चुनावमा नेपाली काँग्रेसले मार खायो । नेकपा (एमाले) प्रतिनिधिसभामा सबभन्दा ठुलो पार्टी भएर आयो । यो निर्वाचनमा गणेशजीले पार्टीको तर्फबाट उम्मेदवारी पाउनु भएन । जे कारण देखाएर जसरी उहाँको उमेदवारी रोकियो त्यो न्यायोचित थिएन । तर पार्टी, पार्टी हो, निर्णय निर्णय हो, गणेशजीले यसलाई स्वाभाविक रूपमा लिनु भयो । जिम्मेवारी अनुरूप आफ्नो काममा लाग्नु भयो ।
२०५१ को मध्यावधि निर्वाचन देखि २०५४ सम्म उहाँ र मेरो सम्बन्ध अलिक पातलो भयो । म संसदमा फेरि निर्वाचित भएँ । संसदीय दल नेकपा एमालेको प्रमुख सचेतक र शिक्षा मन्त्री भएँ । उहाँ संसद्भन्दा बाहिर भयो । यसैले कामको चरित्र फरक भयो अनि भेटघाट पनि पातलियो । जति भयो हार्दिकता र मित्रतापूर्ण नै रह्यो ।
२०५१को मध्यावधि निर्वाचनले नेकपा (एमाले) लाई सरकार बनाउने अवसर दियो । पार्टी अध्यक्ष क. मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्यो । यो सरकार मात्र नौं (९) महिना चल्यो । सरकारले छोटो अवधिमा–अल्पमतको स्थितिमा अपेक्षाकृत राम्रो काम ग¥यो । तर नेताहरूमा अहम् र दम्भ बढन थाल्यो । यसैबिच “महाकाली नदीको एकीकृत विकाससँग सम्बन्धी सम्झौता शेरबहादुर सरकार (ने.का + राप्रपा)ले प्रतिनिधिसभामा अनुमोदनका लागि पेश ग¥यो । यो सम्झौताको चरित्र अनुरूप प्रतिनिधि सभाको दुई तिहाईले मात्र यो अनुमोदन हुन सक्थ्यो जुन संख्या काँग्रेस, राप्रपा र सद्भावनासँग थिएन । अनुमोदन गर्न नेकपा (एमाले) को साथ समर्थन अनिवार्य थियो । यसले नेकपा एमाले भित्र ठुलो विवाद खडा गयो । यो सम्झौताको प्रस्थान विन्दुबाटनै ठुलो विरोध र आपत्ति भएको थियो । यो राष्ट्रिय हित र स्वार्थ विपरीत छ भन्ने निष्कर्षका साथ क. मदन भण्डारीको नेतृत्वमा पार्टीले संसद् र सडकमा ठुलो आन्दोलन चलाएको थियो । कमरेड मदनको रहस्यमय निधन यसैसँग जोडिएको हो भन्ने दमदार भनाइ त्यसबेलादेखि अहिलेसम्म व्यक्त अव्यक्त जुन रूपमा भएपनि जबरजस्त ढंगले रहँदै आएको छ ।
तेस्रो, नेकपा एमालेको नेपालगञ्जमा भएको छैटौं महाधिवेशनले महाकाली सम्झौतामा नै मुख्य रूपमा केन्द्रित रह्यो । प्रतिनिधि सभाबाट सम्झौता अनुमोदन हुँदा एमाले सांसद भित्र तीन अवस्था देखा प¥यो । एक पार्टी केन्द्रीय कमिटीको प्राविधिक निर्णयलाई असहमति भएपनि स्वीकार गरेर पक्षमा उभिने, अर्को विपक्षमा उभिने, अर्को पक्ष विपक्ष कतै नलाग्ने वा नो भोटमा उभिने, संसद्बाट अनेक तिकडम् र प्रपञ्चका साथ प्र.म. शेरबहादुरजी र नेकपा एमालेका ठुला नेता केपी ओलीको अत्यन्त ठुलो सक्रियता, श्रम, मिहिनेत र पराक्रमले अनुमोदन भयो । यही विषयका कारण प्रकारान्तरले नेकपा (माले) बन्यो, एमाले विभाजित भयो । माले देशभक्तिपूर्ण आन्दोलन–राष्ट्रियता र राष्ट्रिय हितको संरक्षणको जगमा गठन भएको थियो । स्व. क. साहना प्रधान अध्यक्ष र क. वामदेव गौतम महासचिव हुनुहुन्थ्यो । क. सि.पी. मैनाली, क. मोहन चन्द्र अधिकारी, क. आर के मैनाली र म लगायत धेरै साथीहरू यसको निर्माणमा दृढतापूर्वक लाग्यौं । गणेश पण्डितजी पनि बडो उदात्तभावले दृढताका साथ यो देशभक्तिपूर्ण अभियानमा लाग्नु भयो । सङ्गठन निर्माण, आन्दोलन सञ्चालन र ०५६ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सम्पूर्ण रूपमा सरिक हुनुभयो । तर २०५६ को प्रतिकूल परिणामले क. वामदेवका अग्ला र दर्बिला खुट्टा लग्लग् कमाइ दियो । परिणाम मालेले एमालेमा आत्मसमर्पण ग¥यो । म र गणेश पण्डितजी जस्ता थुप्रै मालेका क्रियाशील साथीहरू दलविहीन स्वतन्त्र नागरिक बन्न पुग्यौं । आ–आफ्ना गच्छे अनुसार स्वतन्त्र व्यक्तिको हैसियतले राजनैतिक र सामाजिक कार्यमा सरिक भयौं । बेलाबखत भेटघाट गर्दै रह्यौं । चौथो र अन्तिम चरणमा हो गणेशजी २०७५ फाल्गुण २१ का दिन ब्रह्मक्षेत्रको पुराणको कार्यक्रममा सहभागी हुन नुवाकोट पुराण स्थलमै पुग्दापुग्दै दिवंगत हुनुभयो । एक होनहार देशभक्त व्यक्तित्व पुराण मण्डपको अगाडि अस्तायो । मेरो एक पूरानो र प्रिय साथी अस्तायो । तर हैन, ऊ मात्र भौतिक रूपमा अस्ताएको छ । बाँकी बाँचिरहेको छ, बाँचिरहने छ, दिल दिमाग र भावनामा ।
साभार ः गणेश पण्डित स्मृति ग्रन्थ २०८१

प्रतिक्रिया दिनुहोस्: