
मस्कोको रेड स्क्वायरमा रहेको लेनिनको समाधिस्थलले १०० औं वर्षगाँठ मनाएको छ
सन् २०२४ को अगस्ट १ तारिखमा मस्कोको रेड स्क्वायरमा रहेको लेनिनको समाधिस्थलले १०० औं वर्षगाँठ मनाएको छ ।
समाधिस्थल स्थापना गरिएयता यो क्षेत्रमा थुप्रै उत्सवहरू र सैन्य परेडहरू भएका छन् ।
लेनिनको मृत्युपछि उनको मृत शरीर नबिग्रियोस् भनेर रसायनहरू प्रयोग गरेर जोगाइएको उनको शव त्यहाँबाट झिकेर फेरि त्यहीँ राखियो । केही समयका लागि त्यहाँ जोसेफ स्टालिनको शरीर पनि राखिएको थियो तर पछि हटाइयो ।
सन् १९७० को दशकमा लेनिनको शरीर राखिएको ढुङ्गाको कवचमा कसैले तोडफोडको प्रयास गर्न नसकोस् भनेर गोली नछिर्ने सिसाभित्र राखिएको थियो । सन् १९९० को दशकमा लेनिनको शव जमिनमुनि समाधिस्थ गर्नका लागि उल्लेख्य मागहरू भएका थिए ।
लेनिनको समाधिस्थलबारे तपाईंलाई थाहा नभएका हुन सक्ने पाँच कुरा यहाँ छन् ।
१. यो उपाय कसको थियो ?
लेनिनको शव जोगाएर राख्ने उपाय शुरुमा सन् १९२३ को ग्रीष्म याममा जोसेफ स्टालिनले अघि सारेको विषयमा इतिहासकारहरू पनि सहमत छन् ।
त्यो समयमा, (केजीबी र एफएसबी सुरक्षा निकायको पूर्वस्वरूप) ‘सोभियत चिका’का नेता खार्किभमा खटिएका बेला उनको ज्यान गएको थियो । त्यसपछि भ्लादिमिर भोरोब्योभ नाम गरेका युवा वैज्ञानिकले उनको शव नबिग्रियोस् भनेर रसायनहरूको लेप लगाएका थिए ।
मस्कोमा उनको शव देखेका कम्युनिस्टहरू शव संरक्षण गर्ने तरिका देखेर प्रभावित भएका थिए ।
त्यही वर्षको नोभेम्बरमा स्टालिनले लेनिनको नजिकिएको मृत्युबारे छलफल गर्न बैठक राखेका थिए । त्यति बेला लेनिन जीवितै थिए तर मरणासन्न अवस्थाका बिरामी ।
तीस वर्षअघि सोभियत संघ ढल्नुको पाँच कारण
स्टालिनको तर्क लेनिनको शरीर जोगाउनुपर्छ र त्यसका लागि रसायनहरूको लेप लगाएर राख्नुपर्छ भन्ने थियो । पछि सन् १९३० को दशकमा मारिएका उनका विपक्षीहरू भने स्टालिनको उपायको विरुद्धमा उत्रिए ।
लियोन त्रोत्स्कीले माक्र्सवादमा अवशेषका लागि ठाउँ नभएको बताए भने निकोलाइ बुखारिनले क्रान्तिका नेताको शरीरलाई ‘ममी’ बनाएर राख्दा उनको स्मृतिको अपमान हुने बताए ।
लेनिनकी श्रीमती नदिज्दा क्रुप्स्कायाले पनि लेनिनको शरीरलाई अति सम्मानको वस्तु नबनाउन भनिन् ।
तथापि पूर्णाधिकारसहित शक्तिमा जान लागेका स्टालिन आफ्नो धारणामा अडिग थिए ।
उनले श्रमिकहरूका पत्रका आधारमा त्यो निर्णय गरिएको बताए । यद्यपि ती पत्रहरू साँच्चै भुइँमान्छेको स्तरबाट आएका थिए वा स्टालिनकै घेराभित्रका मानिसको थियो भन्ने पत्ता लगाउन चाहिँ अब सम्भव छैन ।
यी पत्रहरूमा व्यक्त भएका मुख्य कुरा भनेको लेनिन सँधै उनीहरूसँगै हुनुपर्छ भन्ने थियो ।
२. यो कसले बनाएको हो ?
लेनिनको समाधिस्थल रुसको चर्चित पर्यटकीय आकर्षणमा पर्छ
लेनिनको मृत्युपछि जम्मा तीन मिटर लामो समाधिस्थलको पहिलो संस्करण तीन दिनभन्दा कम समयका लागि राखिएको थियो ।
त्यो भवनका परिकल्पनाकार अलेक्सी स्चुसेफ थिए र उनले नै पछिका समाधिस्थलका संस्करणहरूको पनि नमुना बनाएका थिए ।
सन् १९२४ को जनअरी २१ मा लेनिनको मृत्यु भएपछि ‘बिदाइ’ कार्यक्रम मार्चको अन्त्यसम्म भएका थिए । पहिलो समाधिस्थलमा लाखौं मानिसहरूले भ्रमण गरेको विश्वास गरिन्छ ।
सन् १९२४ को ग्रीष्मयामसम्म लेनिनको शव जोगाएर राख्ने र सर्वसाधारणका लागि प्रदर्शन गर्ने भन्ने धारणा जोडतोडका साथ आएका थिए ।
अन्तरिक्षमा पहिलो पटक चलचित्र छायाङ्कन गरेर रुसी टोली पृथ्वी फिर्ता ।
मोनालिसा कहाँ बनाइएको थियो ? ५०० वर्षपछि रहस्य खुलेको दाबी ।
स्चुसेफले नयाँ भवनको नमुना कोर्न थाले र वैज्ञानिक अलेक्सी भोरोव्योभ तथा बोरिस बार्कस्कीले शव जोगाउने रसायन बनाउन लागे ।
सन् १९२४ को अगस्ट १ मा समाधिस्थल सर्वसाधारणका लागि खुला गरियो । त्यो समाधिस्थलको संरचना काठको बनाइए पनि आकार र आकृति भने अहिलेकै संस्करणको झल्को दिने खालको थियो ।
ग्रेनाइटको समाधिस्थल भने सन् १९३० को शरद् ऋतुमा मात्रै बनाइसकियो ।
देवालयजस्तो देखिने यसको आकार स्टालिनको दृष्टिकोणसँग निकट थियो । त्यसमा सोभियत संघको महान्ता र फरकपनलाई जोड दिइएको थियो ।
विश्वका सर्वहारा नेताको शव हेर्नकै लागि मानिसहरू लामो लाइनमा उभिने गर्छन् ।
३. स्टालिन पनि लेनिनको समाधिस्थलमै
सन् १९५३ मा स्टालिनको मृत्युपछि उनको शवलाई पनि लेनिनकै समाथिस्थलमा राख्ने निर्णय गरियो ।
तर त्यसमा सुरुदेखि नै समस्या थियो। स्टालिनको विशेषतः अनुहारको छाला निकै खराब अवस्थामा भएका कारण शवमा रसायनको लेप लगाउने प्रक्रिया जटिल बनेको थियो ।
“लेनिन’’ लेखिएको पूरानो अभिलेखमाथि “लेनिन स्टालिन“ लेखिएको नयाँ अभिलेख त्यति बेला राखियो ।
सोभियत नेतृत्वमाथिको नियन्त्रण र स्टालिनको व्यक्तित्व अनि उनको कालमा भएका दमनका कारण सन् १९६१ मा उक्त समाधिस्थलबाट स्टालिनको शव हटाइयो र ‘क्रेम्लिन वाल’नजिकै समाधिस्थ गरियो ।
४. वैचारिक आस्था र हमलाको केन्द्र
युद्धपछि र यूएसएसआर ढल्दासम्म समाधिस्थल तीर्थस्थल बनिसकेको थियो । त्यहाँ विदेशी प्रतिनिधि र सोभियत स्कुले विद्यार्थीहरू भ्रमणका लागि जाने गर्थे ।
सन् १९४५ को मे महिनामा ‘भिक्ट्री परेड’का बेला जर्मन सेनाका नाजी झण्डाहरू समाधिस्थलको अगाडि चौरमा फालिएका थिए ।
दोस्रो विश्वयुद्धमा यूएसएसआरको जितको संकेतस्वरूप त्यसो गरिएको थियो ।
विश्वकै पहिलो अन्तरिक्षयात्री युरी गागारिनलाई त्यति बेलाकी सोभियत नेत्री निकिता क्रुस्चोफले समाधिस्थलको मञ्चमै अभिनन्दन गरेकी थिइन् ।
तर, सन् १९५० को दशकदेखि सन् १९७० को दशकको अन्त्यसम्म लेनिनको शवमाथि दर्जनौं पटक हमला भएका थिए ।
कहिले ढुङ्गाले त कहिले हथौडाले अनि कहिले मोलोटोभ ककटेल भनिने बोतलमा हुने ज्वलनशील पदार्थले लेनिनको शवमा हमला गरिएको थियो ।
प्रायः त्यस्तो कार्य गर्ने दोषीहरूलाई पक्राउ गरेर अनिवार्य रूपमा मनोरोग उपचारका लागि पठाउने गरिन्थ्यो ।
सन् १९७३ मा एउटा विस्फोटक हतियारले कैयौं आगन्तुकको ज्यान गयो । त्यसपछि मात्र लेनिनको ढुङ्गाको कवचमाथि राखिएको सिसा हटाएर त्यसपछि गोली नछिर्ने सिसा राखिएको हो ।
५. लेनिनको अवशेष
केही रुसीहरू भने लेनिनको शरीरलाई जमिनमुनि समाधिस्थ गरिनुपर्ने बताउँछन् ।
सोभियत संघ ढलेपछि कम्युनिस्ट विचारलाई मन नपराउने राष्ट्रपति बोरिस एल्टसिनले आफ्नो भाषण दिन रेड स्क्वायरस्थित लेनिनको समाधिस्थल नभई नजिकै अर्को ठाउँको व्यवस्था गरेका थिए ।
सन् १९९० को दशकको सुरुमा लेनिनको शव व्यवस्थापन गर्ने जिम्मा पाएको प्रयोगशालाले आफूले पाउँदै आएको विशेष सहयोग रकम गुमायो ।
त्यसयता समाधिस्थल र लेनिनको शव जोगाएर राखिएको विषयमा कैयौं वृत्तचित्र बने र त्यसलाई रुसी टेलिभिजन च्यानलहरूमा प्रसारण गरियो । केही वृत्तचित्रहरूमा लेनिनको शवको वास्तविक हिस्साको २३ प्रतिशत मात्रै बाँकी रहेको र बाँकी भने कृत्रिम कुरा थपिएको दाबी गरिएको छ ।
पाँचलाख वर्ष पुरानो काठको सामान भेटिँदा
प्राचीन मानवबारे खुलेको रहस्य
मानव पुर्खा र लोप भएका नीयाण्डर्टाल मानवबीच यौन सम्बन्धः थाहा भएका र नभएका कुरा
यद्यपि लेनिनको समाधिस्थल रुसको चर्चित पर्यटकीय आकर्षण स्थल रहँदै आएको छ ।
गूगलम्याप र पर्यटनसम्बन्धी वेबसाइट ‘ट्रिपएड्भाइजर’मा यसको पाँचमध्ये औसतमा चार स्टारको रेटिङ पाइन्छ । त्यहाँ राखिएका टिप्पणीहरूमा “उनको पहेँलो अनुहार देखेर मेरो बच्चा डरायो’’ देखि “सोभियत कालबारे आफू स्वयंले वा हजुरआमा–हजुरबुवाबाट सुनेका जोकोहीले एक पटक हेर्नै पर्ने ठाउँ’’ लगायतका छन् ।
नेताहरूको शव जोगाएर त्यसरी समाधिस्थलमा राख्ने चलन एशियाका पूर्वी र दक्षिणपूर्वी कम्युनिस्ट देशमा मात्रै छ । त्यस्ता नेतामा चीनका कम्युनिस्ट नेता माओत्सेतुङ र भियतनामका हो ची मिन पर्छन् ।
उत्तर कोरियामा पनि दिवंङ्गत नेताहरू किम इल संघ र उनका उत्तराधिकारी किम जङ्ग इल को शव त्यसै गरी जोगाएर समाधिस्थलमा राखिएको छ ।
साभार ः बीबीसी नेपाली सेवा
प्रतिक्रिया दिनुहोस्: