काठमाडौं । नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा आफ्ना थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा समावेश गराउन अन्तर्राष्ट्रियस्तरमा पहल थालेको छ। प्रस्तावले मान्यता पाए विश्वमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभामार्फत नेपालले यो प्रस्ताव अघि बढाएको हो। नेपाल पर्वतारोहण संघमार्फत प्रस्तुत प्रस्तावमाथि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न पहल भइरहेको छ।
नेपालले छुट्टै हिमालका रूपमा सूचीकृत गर्न प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) छन्।
यी हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ पुग्नेछ। यसले नेपालको हिमाली क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै नयाँ पर्वतारोहण गन्तव्यको विकास र साहसिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौंमा सुरु भएको महासंघको साधारणसभामा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ र अन्य सरोकारवालाको सहभागिता छ। नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि महासंघको साधारणसभा आयोजना गरेको थियो। यसपटकको सभा नेपालमा आयोजना भएको तेस्रो हो।

प्रतिक्रिया दिनुहोस्: